काठमाडौं, ३० साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अधिकारी हुँ भन्दै विभिन्न व्यावसायीलाई धम्काएको अभियोगमा एक पत्रकार पक्राउ परेका छन् ।
आफूलाई आलोचना साप्ताहिकको पत्रकार बताउने धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटका शंकर अधिकारीलाई सिआइबीले पक्राउ गरेको हो ।
३६ वर्षीय अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा परेको र सीआईबीलाई पक्राउ गर्न निर्देशन प्राप्त भएको र ५ लाख रुपैयाँ दिए मुद्दा ढुस पारिदिन्छु भन्दै धम्काएको पाइएको छ ।
उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत महाराजगञ्जमा बुझाइएको छ । धादिङको धुवाँकोट घर भएका अधिकारी एक सांसदको आफन्त समेत रहेको पाइएको छ । उनलाई पक्राउ गरेपछि उनीबाट अन्य व्यक्ति समेत ठगिएको अनुमान सिआइबीले गरेको छ ।
राजधानीको नेपालटारमा कोठा लिएर बस्दै आएका अधिकारीले एक व्यावसायीलाई अख्तियारमा मुद्दा परेको छ । उक्त मुद्दा सदर भई पक्राउको लागि सिआयबीमा पत्राचार भएको छ । मुद्दा हेर्ने सिआइबिका इन्सपेक्टरले रु ५ लाख रुपैयाँ दिएमा मुद्दा ढुस बनाउने नत्र कुनै पनि समयमा तपाईंलाई प्रहरीले पक्राउ गर्छ’ भन्दै धम्काएका थिए । उनलाई सिआइबीले बसुन्धाराबाट पक्राउ गरेको हो ।