काठमाडौं, ३० साउन । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले शक्रबार धम्कीको आरोपमा पक्राउ गरेको व्यक्ति पत्रकार नभएको पाइएको छ ।
विहिबार सिआइबीले पक्राउ गरेका शंकर अधिकारीसँग आलोचना साप्ताहिकको परिचय पत्र भएपनि उनी पत्रकारीतामा भने क्रियाशिल नभएको पाइएको हो । यद्धपी आलोचना साप्ताहिक पत्रिकाको सम्पादकिय नेतृत्वमा भने संवाददाताको रुपमा अधिकारीको नाम उल्लेख छ । उनको नाम उल्लेख भएपनि उनी व्यावसायीक पत्रकार नभई कार्डधारी पत्रकार मात्रै भएको पाइएको छ ।
अधिकारीले आफूले काम गरेको बखतको तलब माग्दा उक्त कम्पनिका मालिकले योजनाबद्ध रुपमा फसाएको समेत अधिकारीको आफन्तको आरोप छ ।
राजधानीको बसुन्धारामा कार्यालय रहेको मेडिअक्सी नामक कम्पनीमा केही वर्षअघि देखि काम गर्ने अधिकारीलाई सोही कम्पनिका मालिक ठाकुर भण्डारीको उजुरीको आधारमा सिआइबीले पक्राउ गरेको हो ।
स्रोतका अनुसार ठाकुरसँग अधिकारीले २०६९ सालदेखि काम गरेको तलब मागेका थिए । शुरुमा उनीहरुबीच साझेदारीमा कम्पनि सञ्चालनको सहमति समेत भएको शंकरकी श्रीमति ईश्वरी अधिकारीले दियोपोस्टलाई बताइन् ।
‘विहिबार छलफलका लागि भनेर सिआइबीमा बोलाइएको हो । उहाँ छलफलमा जाँदा हिरासतमा राखियो,’ उनले भनिन् ।
सिआइबीले भने उनलाई बसुन्धाराबाट पक्राउ गरेको जानकारी दिएको छ । सिआइबीका प्रवक्ता बेल बहादुर पाण्डेले ठाकुर भण्डारीकै उजुरीका आधारमा शंकर अधिकारीलाई पक्राउ गरिएको स्विकार गरे ।
अधिकारीले सिआइबी र अख्तियारलाई मिलाउन भन्दै ५ लाख रुपैयाँ मागेको अभियोग लगाइएको छ ।
‘यो मान्छे सुटेडबुटेड ठग हो,’ सिआइबीका प्रवक्ता पाण्डे भन्छन्,‘उसलाई हामी अभद्र व्यावहारमा मुद्दा चलाउँछौँ ।’
ठगी अभियोगका पक्राउ गरेका व्यक्तिलाई कसरी अभद्र व्यावहारमा मुद्दा चलाउन मिल्छ ? सिआइबीले यो प्रश्नको उत्तर दिनुपर्ने आफन्तको भनाई छ ।
उजुरीकर्ता ठाकुर भण्डारीलाई सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन चाहेनन् । ‘यतिबेला तपाईंलाई के भन्ने’ भन्दै उनले फोन राखिदिए ।
स्रोतका अनुसार भण्डारीले सिआइबीलाई दुरुपयोग गर्दै आफूले दिनुपर्ने तलब बापतको रकमबाट पञ्छिन उनलाई पक्राउ गराएका थिए ।
सिआइबीका प्रमुख डिआइजी सहकुल थापाको पावर लगाएर उनलाई पक्राउ गरिएको स्रोत बताउँछ ।