
धादिङ, १ भाद्र । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा रहेका पहिरोको उच्च जोखिमयुक्त क्षेत्र हिन्दुङ बस्तीमा प्रदेश सांसद जगत सिंखडा सहितको टिम राहत लिएर पुगेको छ ।
रुबी भ्याली गाउँपालिकाका उप प्रमुख विना लामा र रेडक्रस सभापति नारायण तिमल्सिना सहित हिन्दुङ पुगेका सांसद सिखडाले उच्च जोखिममा रहेका स्थानीयहरुलाई तत्काल सुरक्षित स्थानमा लैजाने बताए ।
०७२ सालको भुकम्पका कारण सरकारले रेड जोनमा राखेको उक्त हिन्दुङ गाउँका स्थानीयहरुलाई स्थानान्तरणको लागि २ लाख र घर बनाउनको लागि ३ लाख गरि ५ लाख दिएको थियो
।
गाउँपालिकाले प्रति परिवारको लागि बोराङमा ४ आना जग्गा उपलब्ध गराए पनि खेती किसानीको लोभले अधिकांश हिन्दुङबासीहरुले गाउँ छाडेका छैनन्, अहिले फेरि गाउँको तलबाट पहिरो बग्न सुरु भएकोले पहिरोको उच्च जोखिममा परेको सांसद सिंखडाले बताए ।
‘मैले स्थलगत अवलोकन नै गरेर आएँ, ९४ घर अहिले तत्काल सुरक्षित स्थानमा नगई सुखै छैन कति खेर बग्ने हो ठेगान छैन गाउँपालिकासँग समन्वय गरेर तत्काल उनीहरुलाई सुरक्षित स्थानमा लैजान अनुरोध गरेको छु । अहिले रेडक्रको सहयोगमा ४५ थान त्रिपाल प्रदान गरिएको छ,’ उनले भने ।
यस्तै रुबीभ्याली गाउँपालिकाको ६ सय घरधुरि रहेको सेर्तुङ गाउँ पनि पहिरोको जोखिममा परेको छ ।
त्यसैगरी लापाको नजिकै रहेको कपुरगाउँमा पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएको र पहिरोको जोखिममा रहेको समेत सांसद सिंखडाले बताउनु भयो । यस्तै रूवीभ्याली २ सिम्पले र दक्दुङ बस्तीका केहि घरहरु समेत पहिरोको जोखिममा छन् ।