काठमाडौं, ६ भदौ । गैरआवाशिय नेपाली संघ मलेशियाका अध्यक्ष हरि भट्टराई दियोपोष्टको नाम दुरुपयोग गर्दै केही व्यक्तिहरुलाई झूटो आरोपमा फसाउने गरेको पाइएको छ ।
दियोपोस्ट डटकममा प्रकाशित समाचारलाई लिएर यस सञ्चार माध्यम र प्रकाशित समाचारसँग कुनै पनि सम्बन्ध र सम्पर्क नभएका व्यक्तिहरुलाई झूटो मुद्दा लगाएर प्रहरी हिरासतम समेत पुर्याएका छन् ।
गैरआवाशिय नेपाली संघ मलेशियाका पूर्व महासचिव समेत रहेका सुनिल चालिसेलाई मलेशियन प्रहरीले पक्राउ गरेपछि उनी रिहा भइसकेका छन ।
५ दिन हिरासतमा बसेर आएका उनलाई दियोपोस्ट डटकम मार्फत समाचार सार्वजनिक गरेको लगायत विभिन्न आरोप लगाइएको छ । प्रकाशित समाचारसँग कुनै सम्बन्ध र सम्पर्क नभएका चालिसे मात्रै होइन एनआरएनकै उपाध्यक्ष सुन्दर आले मगर सबैभन्दा ठूलो मानसिक विचलनमा छन् ।
भट्टराईको फर्जी उजुरीको आधारमा प्रहरीको खोजी सुचिमा रहेका उपाध्यक्ष आलेले विज्ञप्ति नै निकालेर आफूमाथि दियोपोस्ट डटकममा प्रकाशित समाचारको कारण मुद्दा हालिएको बताएका छन् ।
गैरआवाशिय नेपाली संघ मलेशियालाई केन्द्री संघले पठाएको रकम हिसाबन देखाएको र संघको खातामा जम्मा हुनुपर्ने रकम मिटर ब्याजमा लगाइएको स्रोतको सुचनाको आधारमा दियोपोस्टले समाचार प्रकाशन गरेको थियो ।
उक्त समाचारमा सुन्दर आले र सुनिल चालिसेको नाम वा आधिकारीक स्रोतको उल्लेख नभएपनि भट्टराईले उनीहरुसँग प्रतिशोध लिएको पाइएको छ ।
‘म आफैं क्रियाशिल रहेको संस्था गैर आवासीय नेपाली संघ (एनआरएन) मलेसियाका अध्यक्ष हरिप्रसाद भट्टराई ज्यूले केही दिनअघि मलेसियाको एक प्रहरी चौकीमा म विरुद्ध विभिन्न विषय उल्लेख गरेर उजुरी दिएको पाइएपछि मैले मेरो जीवन रक्षाको निमित्त सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नै सुरक्षाको लागि अपिल गरेको थिएँ, जुन विदित्तै छ । र, म अहिलेसम्म सकुशल नै रहेको यहाँहरू सबैमाझ जानकारी गराउँदछु ,’ उपाध्यक्ष आले मगरले विज्ञप्तिमा लेखेका छन्,‘हाल विकसित यस घटनाक्रमका बीच मेरो सुरक्षामा न्यायोचित चासो, चिन्ता र सरोकार राख्नुहुने एवं पहलकदमी लिनुहुने सबैजनाप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु ।’
प्रकाशित समाचारमा आफ्नो कुनै समलग्नता नरहेको समेत उनले बताएका छन् ।
‘मबाट संस्थालाई आँच आउने काम नभएको फेरि पनि जानकारी गराउँदछु । यस सम्बन्धमा कुनै पनि सञ्चारमाध्यमसँग औपचारिक रूपमा मैले कुनै कुरा नगरेको समेत स्पष्ट पार्न चाहन्छु । यसै समाचारको बिषयलाई लिएर अध्यक्ष हरिप्रसाद भट्टराईले मविरुद्ध स्थानीय प्रहरी चौकीमा उजुरी दिनुभएको थाहा पाएको छु,’ उनले आफ्नो विज्ञप्तिा लेखेका छन्,‘यसर्थ, संस्थाभित्रको समस्या संस्थाभित्रै छलफल गरेर सुल्झाउनका लागि मार्ग प्रशस्त गर्न एवं सफल नेतृत्वको भूमिका खेलेर हामी दुवै आवद्ध संस्थाको गरिमा जोगाउन उक्त उजुरी फिर्ता लिनुहुन विनम्र अनुरोध गर्दछु । किनकी, हाम्रा समस्या र असमझदारी सुल्झाउन हामी आफैं सक्षम छौँ ।’