सुरेन्द्र भण्डारीका कारण कांग्रेसको सहकारी विभाग विवादमा : निधिसँग आर्थिक साँठगाठको खुलाशा

दियो पोस्ट  

काठमाडौं, ७ भदौ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको कारण नेपाली कांग्रेसको एउटा विभाग नै विवादित बन्न पुगेको छ ।


पार्टीको क्रियाशिल सदस्य समेत नरहेका भण्डारीलाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले केहि दिनअघि गठन गरेको वित्तिय, तथा सहकारी समन्वय विभागको सचिवमा मनोनयन गरेपछि कांग्रेस भित्र तिब्र असन्तुष्टि देखिएको छ ।

गोरखा घर भएका भण्डारीलाई नेपाली कांग्रेसकै उप सभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिको सिफारिमा सहकारी विभागमा ल्याइएको भन्दै एउटा समुहले विरोध गरेको पाइएको छ ।
नेपाली कांग्रेसको विधानमा विभागको सदस्य हुन क्रियाशिल सदस्य हुनुपर्ने व्यवस्था छ । तर, भण्डारीले क्रियाशिल सदस्य नभई नेताहरुलाई आर्थिक प्रलोभनमा पारेर विभागको सचिव पद पड्काएको आरोप छ । कांग्रेस निकट एक अनलाइनले त भण्डारीले विभागका संयोजक आनन्द ढुंगानालाई गाडी समेत उपहार दिएको दाबी गरेको छ ।

सहकारीको ऋण अपचलन देखि ऋणीको सम्पति किर्ते मुल्यांकन गर्दै ठगी गर्दै आएका भण्डारीलाई उपसभापति निधिले एकलौटी रुपमा विभागमा ल्याएको उनीहरुको आरोप छ ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको पैसा मनोमानी रुपमा महेन्द्र नारायण निधि स्मृति अस्पतालमा लगानी गरेका कारण भण्डारीलाई कांग्रेस उपसभापति निधिले जबरजस्ती सचिव बनाएको समेत नेताहरुबीच चर्चा हुने गरेको छ ।

यो आरोपलाई पुष्टि गर्ने गरी दियोपोस्टले केही कागजात समेत फेला पारेको छ । श्री लालीगुराँस सहकारीको २०७४ सालको ऋणीहरुको सुचिमा महेन्द्र नारायण निधि अस्पताल समेत रहेको पाइएको छ । उक्त सचि अनुसार प्रतिष्ठानले शुन्य प्रतिशत ब्याजमा लाखौँ रुपैयाँ निकालेको छ भने मिलेमतोमा करोडौं ऋण निकालेको छ ।

महेन्द्र नारायण स्मृति अस्पतालका संरक्षक कांग्रेस उपसभापति विमलेन्द्र निधि हुन् ।
ऋणीहरुको सुचि अनुसार महेन्द्र नारायण निधि अस्पतालले शुन्य प्रतिशत ब्याजमा सन् २०१७ जुलाई ११ मा १७ लाख २८ हजार ७ सय १८ रुपैयाँ निकालेको देखिन्छ । यसरी शुन्य प्रतिशतमा ऋण दिनु बचत कर्ताहरुको रकममा मनोमानी गर्नु हो ।

त्यस्ते मिडियम टर्म हाउजिङ लोनको नाममा जुलाई ११ मै अर्को २ करोड रुपैयाँ निकालिएको प्रमाण दियोपोस्टले फेला पारेको छ ।

सामान्य ऋणीलाई २१ प्रतिशत ब्याज र त्यतिनै पेनाल्टी समेत लिँदै आएको यो सहकारीले निधि संरक्षक रहेको यो अस्पताललाई भने १६ प्रतिशत ब्याज लिने स्टेटमेन्टमा उल्लेख गरेको छ ।

सम्बन्धित खबर

ट्रेन्डिङ