काठमाडौं, १० भदौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो विरोध गर्नेहरुलाई शाही शासनको दुष्ट मतियारको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा पोखरेलका सम्धी डा. उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्ती गरेको विषयमा विरोध भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् । म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु,’ पोखरेलले आफ्नो विज्ञप्तीमा भनेका छन् ।
पोखरेलले आफ्ना सम्धीको बचाउ समेत गरेका छन् ।
‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कÞानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्,’ उनले भनेका छन्,‘कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु । मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।’