काठमाडौं, २० साउन । सामाजिक सञ्जालमा निकै सक्रिय रहेका पूर्वसचिव भिम उपाध्यायका लाखौँ फलोअर छन् । पूर्वसचिव भएका कारण उपाध्यायले लेखेका सुचनालाई मानिसहरुले विश्वास पनि गर्छन् ।
तर, पूर्वसचिव उपाध्यायले सामाजिक सञ्जालमा झूटो अफवाह फैलाउँदै आएको पाइएको छ । सामाजिक सञ्जालमा केपी ओलीका काका भन्दै एक व्यापारीको तस्विर राखेर उनले एउटा सुचना सार्वजनिक पाइएको छ ।
उपाध्यायले सामाजिक सञ्जालमा सोमबार लेखेका छन्,–‘ललिता निवास ११४ रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेमध्येका एक योजनाकार ब्यापारी सुहृदराज घिमिरेकी पत्नी रेखा घिमिरेलाई जाँदाजादै केपी ओलीको निर्देशनमा केपीकै काका नाता पर्ने राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डका अध्यक्ष डा केपी ओली (कृष्णप्रसाद ओली) ले उद्यमी र परोपकारी कार्य गर्नेको कोटामा सदस्यमा नियुक्त गराएर गएका रहेछन् । ललिता निवासको १३ रोपनी जग्गा सुहृद घिमिरेकी सासुआमा इन्दु शर्माको नाममा रहेको छ र उनीबिरूद्ध मुद्दा चलिरहेको छ । फोटोमा अध्यक्ष डा केपी र रेखा घिमिरे । ( नेपालफेसबाट) ।’
प्रकृति संरक्षण कोषमा घिमिरेकी पत्नी रेखा घिमिरे नियुक्त भएको साँचो हो । रेखाकी आमा तथा सुहृदराज घिमिरेकी सासु आमाको नाममा बालुवाटारको १३ रोपनी जग्गा पास भएको पनि हो ।
त्यो जग्गा किनबेच गर्न घिमिरेले आफ्नै साझेदार पुरुषोत्तम पौड्याललाई अघि सारेका पनि हुन् । तर, उपाध्यायले सामाजिक सञ्जालमा राखेको रेखासँगै रहेका तस्विरमा देखिएका व्यक्ति भने केपी ओलीका काका कृष्ण प्रसाद ओली होइनन् । उनी त रेखाका पति सुहृदराज घिमिरे नै हुन् ।
तस्विरको तथ्य समेत जाँच नगरी पूर्वसचिव समेत रहेका उपाध्यायले सामाजिक सञ्जालमा पोस्ट गरिदिएका छन् । पूर्वसचिव उपाध्यायले यसअघि पनि विभिन्न झूटो खबर फैलाएका थिए । उनलाई सामाजिक सञ्जालमा झूटो खबर लेखेकै आरोपमा पक्राउ समेत गरिएको थियो ।