काठमाडौं, ३१ साउन । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । प्रमुख राजनीतिक दलका ट्रेड युनियन संगठन आवद्ध जेटियसिसीले सामाजिक सुरक्षा योजना सफल बनाउनका लागि सरकारलाई ज्ञापन पत्र बुझाउनेदेखि विरोध सभासम्मका ९ बुँदे आन्दोलनको कार्यक्रम सार्वजनिकगरेको हो ।
जेटियुसिसिका अध्यक्ष तथा वागमति प्रदेश सभा सदस्य जगत सिंखडाद्वारा हस्ताक्षेरित विज्ञप्तिमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन अनुसार स्थापित सामाजिक सुरक्षाकोष योजना कार्यान्वयनमा सबै पक्षले साथ दिनुपर्ने उल्लेख छ ।
‘ऐन बनिसकेपछि कसैले मान्दिनँ भन्न पाउँदैन । किन भने यो देशको संविधान अनुसार बनेको हो । बैंक तथा वित्तिय संस्थाले चाहीँ सामाजिक सुरक्षा ऐन मान्दिनँ भन्नु आफैमा लज्जास्पद छ,’ विज्ञप्ति सार्वजनिक गर्ने क्रममा सिंखडाले भने,‘बैंकका तल्लोस्तरका कर्मचारीलाई यो ऐन कार्यान्वयन भइदिए जीवन सुरक्षित हुनेथियो भन्ने छ । तर, लाखौँ तलब खानेहरुका लागि भने यो ऐन विझाएको छ । उनीहरु यो कार्यान्वयन भएको देख्न चाहाँदैनन् ।’
त्यस्तै नेपाली कांग्रेस निकट मजदुर संगठन ट्रेड युनियन कांग्रेसक अध्यक्ष पुस्कर आचार्यले दुई वटा बैंकले सुचिकरण गर्न अस्विकार गरेपछि यी सबै बबाल भएको बताए । ‘खासगरि २ वटा बैंक सुचिकरण नगरेको विषय बाहिर आएपछि बबाल भएको हो,’ आचार्यले भने ।
ग्लोबल आइएमई बैंकमा कार्यरत एक कर्मचारीको निधन भएपछि सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा कोषमा सुचिकरण नभएका कारण मृतकलाई एक करोडभन्दा बढी भुक्तानी दिनुपर्ने फैसला गरेको थियो । त्यस्तै सनराइज बैंकले पनि सुचिकरण नगरेपछि कारबाही भोग्नु परेको थियो ।
सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तिय संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा सुचिकरण हुन पत्राचार गरको विरोधमा सर्वोच्च अदालतमा परेको रिटमा तत्काल उक्त पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
कार्यक्रममा नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले आफूहरु जहिलेसुकै मजदुरको पक्षमा रहेको र सत्तामा जो सुकै आएपनि सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्नुपर्ने बताए ।