सरकारले खटाएको ठाउँमा हाजिरी नगरि देउवा सरकारको विरोधमा डा. जागेश्वर गौतमको ट्वीट !

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र ०२, २०७८ | ११:३०:५५

काठमाडौं, २ भदौ । शेरबहादुर देउवा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशबारे मिश्रित प्रतिक्रिया आइरहेको छ ।

नेकपा एमाले अध्यक्ष केपी ओली समुहले यसको चर्को विरोध गरेको छ । यता एमालेकै माधव नेपाल समुहले भने अध्यादेशपछि राहत महशुस गरेको छ ।


सरकारले ल्याएको अध्यादेशबारे राजनीतिक बृतमा चर्चा परिचर्चा हुनु त स्वभाविक हो । तर सरकारकै मातहतमा रहेका एक कर्मचारीले देउवा सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् ।

वीर अस्पतालमा स्वास्थ्य सामग्री खरिदमा १५ करोडभन्दा बढी अनियमितताको आरोप लागेपछि कोभिड १९ केन्द्रीय अस्पतालबाट हटाइएका डा. जागेश्वर गौतमले सरकारले ल्याएको अध्यादेशलाई व्यंग्य गरेका छन् ।

हाल थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालको प्रमुख नियुक्त भएका उनी सरकारको विरोधमा खरो उत्रिएका छन् ।

‘आजको अध्यादेश शत प्रतिशत अग्रमन भएछ, केही महिना पहिले त लास्टै पश्चगमन थियो । यसको मुल्यांकन भविष्यलाई छाडिदिउँ,’ गौतमले राजनीतिक भाषामा लेखेका छन् ।


उनी यतिबेला प्रसूती रोग अस्पतालमा भन्दा पनि राजनीतिमा बढि क्रियाशिल भएको अस्पताल स्रोतले बतायो । डा. गौतमलाई तत्कालिन प्रधानमन्त्री केपी ओलीले कोभिड १९ सम्बन्धी अध्यादेश नै ल्याएर वीर अस्पताल प्रमुखको रुपमा सरुवा गरेको थियो ।

उक्त अध्यादेशमा गौतमले गरेको भ्रष्टाचारको छानबीन समेत गर्न नमिल्ने विवादास्पद प्रावधान राखिएको थियो । यही प्रावधानलाई देखाउँदै उनले आफ्नै व्यावसायीक साझेदार सुन्दरलाल भुषाललाई १५ करोड बराबरको ठेक्का एकलौटी रुपमा दिएका थिए ।

यो प्रकरण आएपछि सतर्कता केन्द्र हुँदै प्रधानमन्त्री कार्यालय सम्म पुगेको थियो । तर, तत्कालिन प्रधानमन्त्री ओलीले उनले जति अनियमितता गरेपनि नजरअन्दाज गरिदिएका थिए । विवादकाबीच वीर अस्पतालको नवनिर्मित भवन उद्घाटनमा केपी ओली नै पुगेका थिए ।

तर, गत असार २८ गते सर्वोच्चको आदेशबाट ओली सत्ताच्युत भएपछि बनेको देउवा नेतृत्वको सरकारले २० दिनमै गौतमलाई त्यहाँबाट हटाएको थियोे ।

उनीमाथि राष्ट्रिय सतर्कता केन्द्रले भ्रष्टाचार आरोपमा छानबीन गरिरहेको छ । छानबीनमा परेपछि उनी यतिबेला सरकारले खटाएको ठाउँमा जानुको सट्टा सरकारको चर्को विरोध गरिरहेका छन् ।


गत साउन १९ गते सरकारले उनलाई कोभिड १९ केन्द्रीय अस्पतालबाट सरुवा गरेर परोपकार तथा स्त्री रोग अस्पताल थापाथलीमा पठाएको थियो । तर, प्रसूती गृहमा कार्यरत कर्मचारीका अनुसार गौतम हालसम्म पनि सरकारले खटाएको स्थानमा हाजिर भएका छैनन् ।

‘अहिले यहाँको कार्यालय प्रमुख डा. संगीता कौशल मिश्रा नै हुनुहुन्छ । डा. गौतमलाई यहाँ पठाइएको भन्ने त हामीले सुनेका मात्रै हौँ,’ एक कर्मचारीले दियोपोस्टसँग भनिन्,‘हामीले कार्यालय आएको देखेको छैन ।’


परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालको आधिकारिक वेभसाइटमा पनि कार्यालय प्रमुखको रुपमा उनै मिश्राको नाम छ । डा. गौतमको भने टेष्ट फोटो भन्दै एउटा तस्विर मात्रै छ । यस विषयमा प्रक्रिया लिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौड्याललाई सम्पर्क गर्दा आफूलाई केही थाहा नभएको बताए ।


पत्र आएको छ तर उहाँ आउनु भएको छैन : डा. मिश्रा


यता परोपकार, प्रसूती तथा स्त्री रोग अस्पतालकी कार्यालय प्रमुख डा. संगीता कौशल मिश्राले पनि डा. गौतम हालसम्म हाजिर हुन नआएको बताइन् ।

‘उहाँको पत्र आइसकेको छ । दाई हाजिर चाहीँ हुनुभएको छैन । अहिलेसम्म आउनु भएको छैन । अहिले कार्यालय प्रमुख म नै हो,’ डा. मिश्राले भनिन्,‘पत्रमा उहाँलाई कार्यालय प्रमुख बनाइएको भनेर केही लेखिएको छैन । काज फिर्ता मात्रै लेखिएको छ । दाई आउनुहुन्छ होला । सरुवा भएपछि बाटोको म्याद पनि हुँदो रहेछ । दाई आउनुहुन्छ होला ।’

सम्बन्धित खबर