भत्काइएको कविकुञ्जले उठाएका प्रश्नहरू !

दियो पोस्ट  

पूर्वकथन-१ :

एक महिला चौतारामा बसिरहेकी थिइन्। उनलाई बाटो हुँदो आउने एक व्यक्तिले सोधे, ‘कस्तो छ तपाईँलाई?’ उनले  ‘ठिक छ’ भनिन्। फेरी अर्को आयो र सोही प्रश्न गर्‍यो, ‘कस्तो छ तपाईँलाई?’ उनले फेरी पनि ‘ठिक छ’ भनिन्। यो सिलसिला अनवरत चलिरह्यो,..चलिरह्यो।

‘ठिक छ, ठिक छ’ भन्दा भन्दा हैरान-ए-परिसान भएर उनले ‘बन्चराले लोग्नेलाई हानेर आएकी, अब मलाई एकदम ठिक छ’ भनिन्। त्यसपछि आउने हरेक व्यक्तिहरू ‘ए, ल ल.., ठिक छ’ भन्दै अगाडी बढेछन्। निकै पछि एक व्यक्तिले अलि कान थापेर ‘ हँ, के अरे?’ भनेर जिज्ञासु आँखा सन्काएछ।  

प्रस्तुत कथ्य प्रचलित लोकोक्ति हो। जसलाई प्रा.डा. अभि सुवेदी बडो खुबसुरत अन्दाज-ए-बयाँका साथ  व्यक्त गरेको पङ्क्तिकारले कतै सुनेको थियो। 

यस लोकोक्तिमार्फत कुरा सुरु गर्नुको तात्पर्य के हो भन्दाखेर, समकालीन समयमा कसैलाई कसैको मतलब छैन। मतलब नै राखेता पनि औपचारिकता सिवाय अर्को थोक केही छैन। उही कुरा, ‘बन्चराले लोग्ने मारेर आएकी हुँ’ भन्दा पनि बोलीको अर्थ खोतल्न कोही अग्रसर नभएजस्तै। बस्, एक ख्यालख्याल। बस्, एक खेलाँची। यो प्रसङ्गलाई यही टुङ्गाएर कुरा अघि बढाऔँ। 

***

पूर्वकथन -२ :

घटनाक्रमहरू सरसर्ती हेरौँ;

देवकोटाले आफ्नो जीवनको पछिल्लो समय बिताएको मैतीदेवीस्थित घर भत्काइयो। कविकुञ्ज यतिखेर भुईमा तितरबितर अवस्थामा छ। उठाउने भनिएको छ। अत्याधुनिक संग्रालयको डिपीआर अगाडी सारिएको छ। 

इँटा र माटाको प्रयोगले निर्माण भएको कविकुञ्जलाई ०७२ को भूकम्पले थप क्षति पुर्याएको थियो। भूकम्प अघि मानिस भाडामा बस्दै आए पनि त्यसपछि प्रयोगमा आएन। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहा लले वि.सं. २०७५ मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले देवकोटाको घरलाई नेपाल प्रज्ञाप्रतिष्ठान मातहत लिएर सङ्ग्रहालय बनाउने निर्णय गरे। तात्कालिन प्रधानमन्त्री ओलीले बजेट निकासाको बाटो खोलिदिए। 

पशुपति महागुठीअन्तर्गत रहेको कविकुञ्ज रहेको जग्गाको रकम गुठी र देवकोटा परिवारलाई आधाआधाका दरले उपलब्ध गराइयो। महाकवि देवकोटाले आफ्नो नाममा रहेको घर छोरी मीरा देवकोटाका नाममा गरिदिएका थिए। मीरा दिवङ्गत भइसकेकाले जेठा छोरा प्रा.डा. पद्मप्रसादका नाममा नामसारी गरी संस्कृति मन्त्रालय मातहत ल्याइयो। संस्कृति मन्त्रालयबाट जग्गालाई प्रज्ञाप्रतिष्ठानका नाममा ल्याउने प्रक्रिया अघि बढाइयो।

सरसर्ती यति नै कुरा हो। 

पूर्वकथन- ३ 

वर्तमान समयमा गिद्ध-प्रेस नै त छैन तर सामाजिक  सन्जाल छ, जो बडो सुपरडुपर हिट छ।

पछिल्ला दिनहरूमा घोषित/अघोषित लेखक, कलाकार, साहित्य अनुरागी सज्जन, भलाद्मी एवं विद्वानहरूले भटाभट स्ट्याटसको वर्षा गरे। महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइरहेको प्रज्ञा प्रतिष्ठानप्रति आक्रोश व्यक्त गरे। 

‘देवकोटाको घर भत्कियो।  होइन, भत्काइयो।’  – एक।

‘अझ होइन,  पुनर्निर्माण गरिँदै छ।’  – दुई।

‘अझ पनि होइन, व्यापारिक संग्रालायको स्वरूप धारण गर्दै छ। – तीन। 

कुन कुरा सत्य हो ? भत्किएको कुरा ? भत्काइएको कुरा ? पुन:निर्माण गरिने कुरा ? र, संग्रालयको रूपमा ठडिने कुरा? सरसर्ती हेर्दा सबै कुरा साँचो देखिन्छ। तर यिनै कुराहरूबिच के-कति झुट छन्, के कति लोकोक्ति हुन्, के कति उपकथन हुन्; त्यो खोज्नु थियो/ बुझ्नु थियो।  

महाकवि देवकोटाको घर भत्काइयो

म यसपहिले कविकुञ्ज पुगेको थिइन्। कविकुञ्ज पुगेर आउनेहरूका अनुसार, धमिराले खान थालेका भित्ता, कम्जोर हुँदै गएका काठका रेलिङ सहित बाहिरी गेटको ताल्चामा झुन्ड्याइएको यस घर वर्षौंदेखि यसै बसीरहेको थियो।

यस्तो अवस्थामा संरक्षणका खातिर सरकारको सहयोगमा देवकोटा परिवारमा मोहियानी रहेको घर (१२ आना १ दाम जग्गा) नेपाल प्रज्ञा प्रतिष्ठानले हकभोगमा लिन सफल भयो। यहाँसम्म ठिकै थियो। महाकविको कविकुञ्जले नयाँ जीवन पाउने भयो भन्ने सबैलाई लागिरहेको थियो। तर प्रतिष्ठान एकाएक घर भत्काउन लागिपर्यो। साथमा, नयाँ बन्ने घर (संग्रालय)को स्केच–तस्बिर सार्वजनिक गर्दै घर भत्काउनु बाध्यात्मक अवस्था रहेको बताउन पुग्यो   । 

विश्वका अन्य चर्चित लेखक एवं साहित्यकारका घरलाई पनि त्यहाँको राज्य सरकारले संरक्षण गरेर पर्यटकीय एवं सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गरेर राखिएका छन्। सेक्सपियरको स्ट्र्याटफोर्डस्थित घर,  बेलायतको लन्डनमै रहेको चाल्र्स डिकेन्स म्युजियम, अमेरिकाको फ्लोरिडामा भएको लेखक इरनेस्ट हेमिङ्वेको घर, जर्मनीका महान् साहित्यकार गोथेको घर लगायात थुप्रा उदाहरणहरू हाम्रा सामू छन्। 

तर कविकुञ्जको यो कुरा लागू हुन् सकेन। कविकुञ्ज भुँइमा लड्यो। लडाउनुपूर्व भत्काउनु पर्थ्यो । भत्काइयो ।

जसरी भत्काइयो त्यो ठीक थियो ?

कारणहरू जे सुकै हुन्, देवकोटा निवास बचाउनुपर्थ्यो। बचाउन सकिएन । नसकिएको होइन, बचाउन खोजिएन। यसको कारण के हो ? यसो किन गरियो ? बचाउन सकिने सबै उपाय सकिएर भत्काउन तम्सिएको हो त, प्रज्ञा–प्रतिष्ठान? नवनिर्माण गरिरहेकाहरूको नियत के हो ? देवकोटाका कृतिहहरूको संरक्षण गर्न नसकिरहेको प्रतिष्ठानले घर ठड्याउने बताइरहेको छ, सक्ला ? नयाँ भवनमा बलिया इँटा र बुट्टेदार काठ राखेर मात्र जीवन्त सम्पदा तयार हुन्छ? 

थप प्रश्नहरू पनि उब्जिएका छन्, देवकोटाले लामो समय बिताएका धोबीधाराको घर छाडेर मैतीदेवीकै घर नै किन ? जसप्रकार घर भत्काइरहँदाका तस्बीरहरू सार्वजनिक भए, तिनले भग्न सम्पदा भत्काउने स्थापित मान्यता पालना गरेको छ ? जवाफ हो- छैन, पटक्कै छैन। 

एउटा उदाहरण हेरौँ, भूकम्पमा जीर्ण बनेपश्चात सिंहदरबारको पश्चिमी खण्ड भत्काउन खोजिएको थियो। परामर्शदाताहरूले प्राविधिक प्रतिवेदनको बोलवाला दिएर भत्काउनुपर्ने निचोड पनि निकालेका थिए। तर, प्रतिवेदनसँग सम्पदाकर्मीहरु सहमत भएनन्। व्यापक छलफल र अध्ययनपछि बचाउन सकिने निचोड निस्कियो। अन्ततः पुनर्निर्माण प्राधिकरण सो मोहोडा बचाउन सफल भयो।

देवकोटा निवासको पनि सोही प्रकारको अध्ययन हुनुपर्थ्यो। बचाउनै नसकिने निष्कर्ष निस्किए जतनसाथ कसरी भत्काउने, बचेका काठ, इँटा र हरेक निर्माण सामग्रीको राम्ररी प्रयोग कसरी गर्ने भन्ने निष्कर्ष निस्कन्थयो होला।  निस्किएन। निस्केन कि निकालिएन ? किन निकालिएन ? यि-यस्तै यावत-यावत प्रश्नहरूले न्याकीरहँदा देवकोटाको योगदानको सही संरक्षण हुन् सक्ने हो कि नसक्ने हो भन्ने दोसाँधमा म अल्झीरहे। 

अल्झाईबाट मुक्ति चाहन्थे तर यो सजिलो बात थिएन। सार्वजनिक व्यक्तिको बारेमा सार्वजनिक चासो हुनु स्वाभाविक हो। यहाँनेर पारदर्शिताको सवाल उठ्दछ। देवकोटाको घर देवकोटाको परिवारको मात्रै रहन्न। न, प्रतिष्ठानको मात्र। यो आम नागरिकको चासोको क्षेत्रफल भित्र पर्दछ। यसप्रकार, यस विषय मेरो पनि चासो विषय बन्न पुग्यो। महत्वपूर्ण संरचनाको पुनर्निर्माण गर्दा छलफलको दायरालाई फराकिलो बन्नुपर्थ्यो । बनेन। किन ? फेरी पनि प्रश्नहरू उब्जिरहे।

कनसुत्लो बनिहाल्ने सामर्थ्य ममा थिएन।  यसका लागि शास्त्री मार्ग पुग्नु र लगभग भुँइमा मिलिसकेको कविकुञ्जको खण्डहरमाथि उभिनुबाहेक अर्को विकल्प थिएन।  तर यतिले कुराको गुदी निस्कने वाला थिएन।  प्रज्ञा प्रतिष्ठान पुग्नु र देवकोटाको परिवारसँग भेट्नु पनि बरोबर आवश्यक थियो। यसपश्चात् मिडियामा सार्वजनिक भएका कुराहरूको निर्क्योल गर्नु र कवि एवम् लेखकसँग मिल्नु/भेट्नु नित्य आवश्यक कुरा थियो। यो सब सिलसिलाबद्धसँग हुँदै गयो। 

***

पृष्ठभूमि :

अलिकति पृष्ठभूमि बाध्यौं। यसो गर्दा कुरा फुस्किरहन्न। 

देवकोटाप्रति सम्मान यथावत् छँदै छ। लिजेण्ड भने पनि, महाकवि भने पनि, नोबेल पुरस्कार नै हात पार्थे भने पनि या जे-जे भने पनि देवकोटाको सम्पूर्ण रचना छिचोल्ने हिम्मत कमैले गरेका होलान्। म आफ्नै कुरा गर्छु, उनका फुटकर कविता, लक्ष्मी कथासङ्ग्रह, दाडिमको रुखनेर, लक्ष्मी निबन्धसङ्ग्रह, मुनामदन र केही गीत बाहेक मैले पढ्न सकेको छैन। 

उनले लेख्ने मामलामा बहुत लेखे। जति पढेँ, लाग्यो- बहुत खुब लेखे। 

निजात्मक निबन्धजगतको सुरुवात गर्ने श्रेय देवकोटालाई जान्छ। त्यसपछि शम्भुप्रसाद ढुङ्गेल, वेदनिधि शर्मा, प्रेमराज शर्मा, बोधविक्रम अधिकारीहरूको आगमन हुन्छ। आर्य संस्कृति, ऐतिहासिक गरिमा, कला-साहित्य-संस्कृतिको आत्मपरक समागमले देवकोटासँग मेरो ‘लव पर्‍यो’। हामी यद्यपि अझै पनि ‘लव इन रिलेसनसीप’मै छौँ। ‘दाडिमको रुखानेर, कवि हुने धुनमा, के नेपाल सानो छ’ जस्ता निबन्धहरू हाम्रो रिलेसनसीपको प्राणवायू हुन्। यी सदाकाल रहिरहनेमा म ढुक्क छु। 

देवकोटाले जीवनगतको टिप्पणी गरे, कृतिगतको टिप्पणी गरे, मानवीय स्वभावको टिप्पणी गरे, परम्परा-प्रकृति-सौन्दर्य-रहस्य जगतको पनि टिप्पणी गरे। ईश्वरवाद,अनीश्वरवाद, मानवतावाद, शून्यवाद; जताततै उनी वासरल्ल छरिन पनि पुगे। जे होस्, उनले मलाई आफ्नो मायाजालमा फसाई रहे। हाम्रो रिलेसनसीप चलिरह्यो/रहेको छ। 

यस्तोमा एकाएक उनको घर लड्दै गरेको देख्दा खङ्ग्रङ्ग नहुने कुरा थिएन। भएँ। तर भइरहिन्। उठे। तत्पश्चात् उक्त खण्डहरमाथि उभिने आकाङ्क्षाले तानिँदै म कविकुञ्ज पुगे। 

कविकुञ्जतर्फ :

वर्तमान सहरको नित्य अवस्था के छ भन्दाखेर, सामाजिक सञ्जालमा रोइलो गर्न पर्याप्त समय होइरहने कवि/लेखकहरूसँग ‘भेटौँ न त, चिया पिऔँ न त’ भन्दा समय अभाव रहीजान्छ। मलाई भत्किरहेको उर्फ भत्काइरहिएको कविकुञ्जलाई लिएर आफ्ना समवयस्की कवि/लेखकहरूको धारणा बुझ्न मन थियो। कारण- भर्चुअल माध्यम उही अघिकै लोकोक्ति (कोरा औपचारिकता) जस्तै भइसकेको छ, जहाँ बोलीको टुङ्गो हुँदैन।  तर, साथीहरूले समय दिएनन् (या मैले लिन जानिन)। 

तत्कालीन यस्तो मेलोमेसोमा सुवास जी, सङ्कल्प, मोहीतले समय दिए।  हामी पाँच भाइ डिल्लीबजार चोकमा भेट्ने पक्का भयो।  प्रभात दिउँसैदेखि मसँग थियो।  हामी सेतो, रातो र कालो दरबारको क्रमशः भग्नावशेष, विराटता एवं धरापपन अवलोकन गरेर निराश मानसिकतासहित डिल्लीबजार हुँदै कविकुञ्जतर्फ लम्किएका थियौं। हामीलाई डिल्लीबजार चोकबाट मोहितले पछ्यायो।  पिपलबोटबाट सुवास जी र भाइ सङ्कल्पले।  

हाम्रो विवशता यो थियो कि, हामीलाई देवकोटाको घर ठ्याक्कै कहाँ नेर थियो भन्ने थाहा थिएन। ‘कसैलाई थाहा छ ?’ मेरो प्रश्नको उत्तरमा सबले चुपी साँधे। 

आगो बाजे, जो देवकोटालाई चुरोट बेच्ने गर्दथे :

मसँग एक सम्झनाको त्यान्द्रा थियो, जसलाई तन्काउँदै हामी डिल्लीबजार पिपलबोटतर्फ लम्किएका थियौं। वर्ष/दुई वर्ष पहिले रसिक दाइ र म टहल्दै डिल्लीबजार पिपलबोट पुगेका थियौं।  पिपलबोटको हाराहारीमै एक बुढा बाजेको ठेला थियो (अहिले पनि छ)। बाजे बत्ताउँथे गर्दथे कि ‘देवकोटालाई मैले मेरै हातले थुप्रो पटक चुरोट दिएको छु।’ लाग्यो, उनैलाई सोधौँ। उनले देवकोटाको घर जाने बाटो देखाइदेलान्। 

No description available.

‘देवकोटाले चुरोट सल्काउने लाइटर यी यो हो’ भन्दै उनी आलु राख्ने जुटको बोरा बाटेर बनाइएको ‘आगो’ देखाउने गर्दथे। उनले यस औजारलाई ‘आगो’ नै भन्ने गर्दथे। पिङ हाल्ने लट्ठा बराबर मोटो जुटको बोराको मुखमा फलामको गोलो मुख जोडिएको थियो, जसमा सल्किरहेको आगो सित्तै निभ्दैन थियो। जुटको बोरा नित्य सल्किरहन्थ्यो।  

बाजे सामान्य चकलेटहरू र चुरोटका विभिन्न प्रकारहरू राखेर ६३ औँ वर्षदेखि त्यहाँ बस्दै आइरहेका थिए। उनको व्यापारको मूल स्रोत चुरोट नै थियो। चुरोट भन्दा बेसी लाइटर (उनको भनाइमा आगो) को लागि उनको ठेला प्रसिद्ध थियो। ग्राहकहरू लाइटर सुम्साउने, हेर्ने र त्यसको फोटो लिने गरिरहँदा रहेछन्। हामीले पनि हुबहु त्यसै गर्‍यौँ।

No description available.

दिनहुँ ७/८ सय कमाई गर्दै आफ्नो गुजारा चलाइरहेको उनी बताउँदथे। पटक-पटक नगरपालिकाले खेदिसक्दा पनि उनी टसको मस भएनन्। यद्यपि चोकमा ठेला गाडेर बसिरहेका छन्। बुढाको साहस एक विसङ्गति थियो। सहर यस्तै छ, यहाँ गन्धे झारहरू माडीरहँदा ज्याकरान्डाको डालो सिंहदरबारतर्फ ‘लहैलहै’ अन्दाजमा लच्किरहन्छ। 

करिबन ७५ वर्ष हाराहारीका राम श्रेष्ठसँग हामीलाई देवकोटाबारे थप जान्नु थियो। प्रभातले सोध्यो, ‘देवकोटा चुरोट खान पक्का यही आउँथे त बा ?’ यसपाला पनि श्रेष्ठले दुई वर्ष अघिको सोही भाष्य दोर्हाए, ‘आउँथ्यो।  यही आउँथ्यो, चुरोट खान्थ्यो।  बस्थ्यो।  गफ गर्थ्यो।’  

देवकोटाले के गफ गर्दथे, कति खेर आउँथे, लगायतका सङ्कल्पको प्रश्नको जवाफ श्रेष्ठले दिन सकेनन्।  बुढ्यौली कायाले उनलाई गाजीसकेको थियो। श्रेष्ठले देवकोटाको घर जाने बाटो बताउन सकेनन्। साथै उनले देवकोटाबारे बोलेको कुरामा पनि संशय बाँकी नै रह्यो।

‘मान्छे भए पो व्यापार हुन्छ, आजभोलि त व्यापार नै हुँदैन’- बाजे एकसुरे आफ्नो कुरा सुनाउन थाले।  हामीलाई देवकोटा निवासतर्फको बाटो सोध्नु थियो। उनको  व्यापारिक एवं व्यक्तिगत दुःखप्रति हामीसँग सहानुभूति सिवाय अर्को थोक केही थिएन। सोही टक्रायौँ।  र, हामी सामुन्ने किराना पसलहरू भित्र पस्दै/निस्कँदै देवकोटाको निवासतर्फको गोहो पछ्याईरह्यौँ।  

मैतीदेवीदेखि भित्र छिर्दै :

मैतीदेवी मन्दिर आसपास पुग्दा गजलकार राम अविरल हामीसँग ठोक्किए। हठात् उनलाई सोधे, “देवकोटाको घर कता हो बुढा ?’ उनी यतै डेरा जमाई बसेकाले प्रश्न गरेको थिएँ।  तर उनले ‘खै’ सूचक टाउको हल्लाएँ।  

मैले उनलाई झटारो हाने, ‘यार देवकोटाको घरसम्म थाहा छैन, के कवि भइखानु हुन्छ हो?’ उनी खिस्रिक्क परे।  उसो त, यो व्यङ्ग्य मैले म आफैँमाथि पनि हानेको थिएँ। र,  यो उनले बुझेका थिएँ- यसकारण उनी त्यसपश्चात् मेरो कुटिल मुस्कान मुस्कुराए।  

तर कुरा, एक-अर्काप्रतिको व्यङ्ग्यबारे थिएन। चोक-गल्ली र पसल-दोकानको ९९ प्रतिशत मानिस देवकोटालाई चिन्दैन थिए।  यो मलाई अत्यन्त स्वाभाविक लाग्यो।  हरेक व्यक्तिको निजी जीवन छ, निजी समस्याहरू छन्। निजी समस्याहरूबाट टाउको उठाउँदै उसले देशका महाकविलाई चिनिहाल्नु पर्ने भन्ने पनि केही छैन।  नचिन्न पाइन्छ, नजान्न पाइन्छ तर चिन्नुपर्ने/जान्नुपर्नेले देवकोटालाई चिनेका छैनन्, बुझेका छैनन्। देवकोटालाई पागल करार गर्नेदेखि गरिब-झुत्रे-झाम्टे बताउनेसम्म यही भूलोकको विचरण गरिरहेका छन्। उनीहरूलाई एक-एक थान ‘कठै’ टक्राएर देवकोटा निवासतर्फ प्रस्थान गरौँ। धेरै नअलमलिऔँ। 

तर एउटा कुरा चाहिँ पक्का छ, देवकोटाबारे तमाम राम्रा-नराम्रा विचारहरू प्रसारित होइरहनेछन्।  तीमध्ये कुन सत्य हुन् कुन कपोकल्पित हुन् ? को जानोस् ?  देवकोटाको हकहित लागि के कति कामहरू भएका छन्? (भइरहेका छन्?) को जानोस् ? यी ‘को’ को-को हुन्, को जानोस् ? औपचारिकताको निरन्तरता यहाँ पनि छ। ‘ठिक छ, ठिक छ’ यहाँ पनि छ। 

प्रतिष्ठानको विज्ञप्ति :

खैर, महाकविसँग जोडिएको धरोहरलाई संरक्षण गर्नका खातिर भनेर जे जति कामहरू भएता पनि देवकोटाको निजी निवासलाई संग्रालयमा पुननिर्माण गर्ने कामलाई चासोपूर्वक हेरिएको छ। प्रतिष्ठानले सबैभन्दा ठुलो  र गौरवशाली कामको रूपमा संग्रालय निर्माणलाई  व्याख्या गरेको उसको विज्ञप्तिबाट बुझ्न सकिन्छ।  

देवकोटा निवास 'कविकुञ्ज'लाई सङ्ग्रहालय बनाउने प्रक्रिया सुरु
प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रालयको स्केच

प्रतिष्ठानले विज्ञप्तिमा लेखेको छ, “ उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नासिकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रालय’ निर्माणको प्रक्रिया अगाडी बढाइएको हो। प्रस्तावित संग्रालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था हो।” प्रतिष्ठानले संग्रालयको प्राङ्गणमा देवकोटाको पूर्ण कदको प्रतिमा राखिने,  प्रतिमा आसपास हरियालीयुक्त सानो उद्यान निर्माण गर्ने, पश्चिमपट्टि पानीको फोहोर राख्ने, परिसरमा सामान्य पार्किङको व्यवस्था मिलाइने बताउँदै स्वागत कक्ष, प्रतीक्षा कक्ष, सभाकक्षसहित लिफ्टको व्यवस्था गरिनेबारे उल्लेख गरेको छ। साथै, काठमाडौँको धोबीधारास्थित देवकोटाको मूल घरलाई साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्ने गरी लाग्न सम्पदा संरक्षण अभियन्ता, बुद्धिजीवी एवं लेखक/साहित्यकारहरूलाई खुला चुनौती पनि दिएको छ। 

यसप्रकार बडो हासौं-हासौं लगाउने, कुत्कुताउने किसिमको विज्ञप्ति सार्वजनिक भएको छ।

ओलीको घोषणा :

अघिल्लो सालै (०७५), लक्ष्मी पूजाको दिन पारेर तत्कालीन ओली सरकारले महाकविले नेपाली साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने घोषणा गरेका थिए। ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उनको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिन संग्रहालयको आवश्यकता रहेको बताएका थिए।

देवकोटाको जन्मघरलाई सङ्ग्रहालय बनाउने प्रधानमन्त्री ओलीको घोषणा

आफू जन्मनुभन्दा ४२ वर्षअघि जन्मिएका महाकविलाई ओलीले देवकोटा बितेको भोलिपल्टदेखि मात्र राम्रोसँग चिन्न थालेको अनुभव सुनाएका थिए। ओलीले आफू बाल्यकालमा विद्यालय पढ्दा देवकोटाको निधनमा शिक्षकहरु रोएको देखेपछि उनीप्रति जिज्ञाशा बढेको र पछि ‘मुनामदन’ खण्डकाव्य पढ्दा आफू पनि रोएको स्मरण गरेका थिए।

ओलीले भनेका थिए, ‘महाकवि देवकोटाको घर जे–जस्तो अवस्थामा छ, त्यही अवस्थामा रेक्ट्रोफिटिङ (सबलिकरण) गरी स्रष्टाहरूको तीर्थस्थलका रूपमा विकास गर्छौं। देवकोटा कसरी पलेँटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउने संग्रहालय बनाउँछौँ।’

मुना-मदनको अङ्ग्रेजीमा अनुवाद गरेका एवं ‘वि आर फाइन इन काठमान्डु’, ‘डा. फस्टस’ लगायतका कविताहरू रचना गरेका देवकोटाको छोरा प्रा.डा. पद्म देवकोटाले प्रधानमन्त्रीको उक्त घोषणालाई  स्वागत गरेका थिए।

छोरा पद्म देवकोटाको भावुक स्ट्याटस :

‘०६६ मा कवि कुञ्ज संरक्षणको निमित्त मैले अभियान नै चलाएको थिएँ, अर्थ मन्त्रालयबाट पनि घर जग्गाको निमित्त ६० लाख प्रस्तावित भएको थियो।’ छोरा देवकोटाले भनेका थिएँ। उनले उक्त रकम पर्यटन मन्त्रालयबाट लिनु पर्ने भएकोले त्यहाँ जाँदा आफूहरूलाई मन्त्रालयका सचिवले ‘व्यक्तिगत घर जग्गा सरकारले किन किन्ने?’ भन्ने प्रश्न राखेपछि त्यो कुरा मिल्न नसकेको बताएका थिए। 

खैर, यसपटक बजेट निकासा अघि बढ्यो। परिवारलाई २ करोड ५० लाख रुपैंया तिरेर १२ आना १ दाम क्षेत्रफलको जग्गासहित घरलाई सरकारी स्वामित्वमा ल्याइयो। देउवा सरकारले ओली सरकारको उक्त कार्यक्रमलाई पछ्यायो। र, अन्ततः घर भत्कियो।

घर भत्किरहँदा छोरा देवकोटाले स्ट्याटस राखे, ‘आफू जन्मेको, हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौँ तरङ्ग उत्पन्न हुँदा रहेछन्। दुख्दो पनि रहेछ। कोठा–कोठाको याद वैरिएर आएका छन्, यसपालि।’

छोरी अम्बिकादेवी रिमालको विश्वास :

यता, देवकोटाको छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास गरेकी छन्। ‘एकेडेमीमा सबै बुद्धिजीवी व्यक्तिहरू बस्नुहुन्छ। सबै पढेलेखेको बुद्धिजीवी व्यक्तिहरू बस्नुहुन्छ। उहाँहरूको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु। उहाँहरू जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ’, उनले भनिसकेकी छन्। 

किन भत्काइयो महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ? (तस्विरसहित) – BikashNews

‘घर भत्काएकोमा म खुसी पनि छु, दुःखी पनि’, उनले भनिन्, ‘बाल्यकाल अब सम्झनामा मात्र सीमित हुने भयो भनेर दुःख लाग्छ, तर भत्किएर नामोनिशान नरहनु भन्दा त नयाँ बनेको जाती। अब त यो पुस्तौँ पुस्तासम्म रही रहन्छ।’

कुलपतिको ठाडो स्वर र दोहोरो भाष्य:

महाकवि देवकोटा सङ्ग्रहालय चार तलाको हुन र जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्री (ओली)को इच्छानुसार पुरानै ढाँचामा सबलीकरण (Retrofitting) गरी निर्माण गर्नका लागि विज्ञहरूसँग परामर्श गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकिएको प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यस अघि नै बताएका थिए। तर आफूले बताएको कुरालाई नर्कार्दै उनी घर भत्काउन अग्रसर भए। प्रश्न उठ्छ, पहिले सबलीकरण गर्ने भनिएको घरलाई अहिले भत्काउनै पर्ने जिद्दी कस्न उनी किन र कसरी लालयित भए ?

‘हामीले व्यवस्थित सङ्ग्रहालय बनाउन कविकुञ्ज भत्काएका हौँ। करिब १५ वर्षदेखि जीर्ण भएर भग्नावशेष अवस्थामा थियो। हामीले कवि कुञ्जलाई निकै पहिलेदेखि नै संरक्षण गर्ने पहल गरिरहेका थियौ। तर, घरायसी तथा गुठीका अनेक विषयले झमेला भइरहेको थियो। केही समयअघि कवि कुञ्ज हाम्रो स्वामित्वमा आएपछि नै सङ्ग्रहालय बनाउने तयारी गरेका थियौं। घर मक्किएको र जीर्ण अवस्थामा रहेकाले रेट्रोफिट गर्न सम्भव भएन। विभिन्न प्राज्ञ, इन्जिनियर तथा प्राविधिक, सरोकारवालासँगको भेलाले भत्काउने निर्णय गरेको हो’, उप्रेतीले यसअघि नै मिडियामा यो कुरा बोलिसकेका थिए। उनले देवकोटाको घरलाई ऐतिहासिक भएको तर सम्पदा नभएको भन्ने खाले दोसाँधे एवं अपरिपक्क कुरा गरिसकेका थिएँ। 

देवकोटा सङ्ग्रहालय बन्ने खबरले दिएको खुसी::सहि समाचार, विचार र तस्वीर

हामी पुग्नु भन्दा केही समय अगाडी मात्रै कुलपति उप्रेती कवि कुञ्ज आइपुगेका रहेछन्। रिपोर्टिङकै लागेकी आइपुग्नुभएको मित्र सुजता खत्री (देश सञ्चार)ले उप्रेतीको शब्द सापटी लिएर बताएअनुसार पुरानो कवि कुञ्जका १० प्रतिशत इँट्टामात्र काम लाग्ने रहेछन्। अब बन्ने कवि कुञ्जमा त्यही आकृतिका इट्टाले भवन ठड्याइने छ। ‘यो बाँकी इट्टाको ऐतिहासिक महत्त्व छ, त्यसैले प्रयोग गर्न मिल्नेसम्म प्रयोग गर्नुपर्छ’, कुलपति उप्रेतीले भनेका रहेछन्, ‘झ्यालहरू पनि पुरानै शैलीमा नयाँ काठका बन्छन्।’ 

उप्रेतीका अनुसार भवन बनाउने ठेकेदारले चैतसम्मको ‘वर्कप्लान’ दिएका छन्, उक्त ‘वर्कप्लान’मा कोभिड, बजेट निकासा लगायतका काम रोकिएन भने तोकिएको समयमा नै काम सम्पन्न हुन्छ। आकृतिपछि यसमा प्राविधिक कामहरू पनि छन्, २०७९ साल लक्ष्मीपूजासम्म कविकुञ्ज पूर्ण रूपमा नै बनिसक्छ।

देवकोटा निवास कहिल्यै नपसेका र नगएका वास्तुविज्ञहरूले अनर्गल प्रचार गरेको भनेर उपकुलपति ठाडो स्वरमा सम्पदावीद र सामाजिक सञ्जालवीदहरूप्रति सातो खाइसकेका थिए।  रेट्रोफिटबाट नै बनाउने भनेर योजना बनाएको तर इन्जिनियरहरूले त्यसो हुन् नसक्ने बताएपश्चात् घर भत्काउनु परेको भन्ने भाष्य सहित विज्ञप्ति प्रतिष्ठानले निकालिसकेको थियो। तर यसो भन्ने इन्जिनियर को हुन्?  इन्जिनियरहरूको अध्ययनको निष्कर्ष पेपर कोसँग छ? कस्तो छ ? लगायताका कुरामा प्रतिष्ठानको यद्यपि चुपी छ। यो चुपी किन ? 

“ती कस्ता ‘होनहार’ प्राविधिक हुन्, जसले ७८ वर्ष पुरानो घरलाई जीर्णोद्वार गर्न नसकिने ठहर गरे ? के प्राविधिकका योग्यतामाथि यहाँ शंका गर्न सकिँदैन ? यदि प्राविधिकका राय ‘भत्काउनू’ भन्ने नै थियो भने पनि गंगाप्रसाद उप्रेतीको प्राज्ञिक दलले असहमति जनाई अरू उपाय खोजी गर्नुपर्थ्यो । अरू प्राविधिकसित सरसल्लाह गर्न सकिन्थ्यो । तर, कुलपति उप्रेतीको दलको नियत कविकुञ्जलाई पुनर्जीवन दिनु थिएन भन्ने कुरा प्रतिष्ठानको विज्ञप्तिबाटै स्पष्ट हुन्छ ।” (सरुभक्त, कोसेली)

कुलपतिको ठाडो स्वर र हास्यस्पद विज्ञप्तिले थप केही प्रश्नहरू जन्माएको छ;

के देवकोटाको घरको बाहिरी स्वरूप मात्रै आउने गरी निर्माण गरेर त्यो कविकुञ्ज बन्छ ? के सुविधाका दृष्टिले आधुनिक, नेपाली मौलिकता कायम हुने र दर्शकलाई सुविधा हुनेगरी निर्माण गरेर त्यो महाकविको वास्तविक कविकुञ्ज बन्छ ?

यी प्रश्नहरू उत्तर खोज्नु थियो र, त्यसका लागि सर्वप्रथम देवकोटा निवास पुग्नु र वस्तुस्थितिलाई नियाल्नु नै हामीलाई उपयुक्त लाग्यो। 

शास्त्रीनगर पुग्दा :

अन्ततः हामी मैतीदेवी चोक पुग्यौँ।  मन्दिर आसपास ४/५ जना वयोवृद्धहरू साँझलाई आ-आफ्ना चुरोटमा भरेर तानिरहेका थिएँ। क्रमशः प्रभात, मोहित, सङ्कल्प, सुवास जी,  राम अविरल जी’हरू मलाई पछ्याई रहनुभएको थियो। मैले तिनै वयोवृद्धमध्ये एक जनासँग महाकवि देवकोटाको घर छिर्ने गल्लीबारे सोधेको थिएँ। ‘सामुन्ने फ्रेस हाउस आउँछ, त्यहाँदेखि भित्र छिर्नुस्’ भन्ने उहाँ(वृद्ध)को उर्दी थियो। सोही उर्दी पछ्याउँदै हामी शास्त्री मार्गको मुखमा पुग्यौँ। वस्तुस्थिति एकदमै सामान्य थियो।  मुखमा एक-दुई किराना पसल थिए।  सामान्य कारोबार चलिरहेको थियो। सामाजिक सञ्जालमा देखिएको असामान्यता त्यहाँ देखिएको थिएन। 

शास्त्री मार्गदेखि सिधा तन्किएको बाटोबाट नबिराएर सिधा हिँडेपछि अन्तिममा दुई वटा जस्ता ठडाइएको गेट आइपुग्यो।  गेट भाँती ठडाइएको जस्ता धकेल्दै मोहितले सोध्यो, ‘देवकोटाको घर यही हो ?’ घर उभिएको जग्गामा इट्टा बोकिरहेको चार जना मजदुर दाजुभाइहरूमध्ये एकले ‘हो, यही हो’ भन्ने इशारा गरे।  

No description available.

हामी भित्र छिर्यौं।  भित्र छिरिरहँदा टिनको गेट नमिठोसँग बज्यो।  त्यसभन्दा नमिठो भुईँमा धुलिसात भइसकेको देवकोटाको निवासको दृश्य थियो। चार कुना मिलेको  जग्गामा भुईँभरि इट्टाहरू विछ्छीएका थिए।  जस्ताका पाताहरू जताततै तितरबितर थिए।  फलामको रडमा जोल्टिएका इट्टाहरू कुना पट्टि चाङ लगाएर राखिएको थियो।  पल्लो कुनामा कसैगरी सग्ला इट्टाहरूको चाङ थियो।  बरोबर इट्टाहरू फुटाइरहेको र काठमा ‘ड्याङ ड्याङ’ हानिरहेको आवाज आइरहेको थियो।  त्यो आवाजले यो इशारा गर्दथ्यो की, भत्काउने काममा पनि यथोचित व्यवहार गरिएको छैन ।

No description available.

छानाको पुरानो जस्तालाई ठोकेर सामान राख्ने अस्थायी टहरा बनाइएको रहेछ। गेटबाट छिरेर अलि अगाडि गएपछि देब्रे पट्टी मक्किएका काठ फालिएका रहेछन्। मलाई कविकुञ्जको खण्डहरको गन्ध यतिबेला  याद भइरहेको छैन।  काँचो माटोको गन्ध चाहिँ पक्का थिएन त्यहाँ।  यो यसकारण भएको हुन सक्छ कि- सामुन्नेको दृश्य र आफूले टेकिरहेको देवकोटा निवासको खण्डहरले मलाई साँचोमा जिल्लाराम बनाइदिएको थियो। 

जसप्रकार घर भत्काइएको थियो र भत्काउने कामको शैली हेर्दा कसैलाई ठेक्का दिएर एक थान पुरानो मामुली घर भत्काएजस्तो महसुस भयो। देवकोटाको घरलाई यसरी भत्काउन मिल्दैन। डोजर लगाएर नभत्काइएता पनि त्यो भन्दा कम निर्माण तरिका अप्नाइएको थिएन। संग्रलाय बनाउने नाममा ज्यादै विरूप ध्वंस देखियो। 

साथीहरू संरक्षणको कुनै गुन्जायस नै नराखी टुटाइएको/फुटाइएको पुराना इट्टाहरू समाउँदै, काठहरू केलाउँदै देवकोटाको कविता पङ्क्तिहरू सम्झिरहेका थिए।  

‘हाम्रा धन सब माटो धुलिन्छन्। 

भावपुतली उड्छन्, भुलिन्छन्। 

अमर तिमीमा के उपहार ?

नीरवताले छुन्छे हाम्रो

स्पन्दित दिलको चिर गुञ्जार। 

क्रन्दन, पुकार। 

छायाचित्र यो संसार।’  (शाहजहाँको इच्छा, कवितांश)

‘काँचो इट्टा थियो, मक्किएका काठ थिए’ लगायातको भाष्य पटक-पटक बाहिरीरहेको अवस्था के रहेछ भनेर हेर्न पुग्दा तिनै ‘काँचो इट्टा र मक्किएका काठ’हरूमाथि ज्यादती देखियो। धुलोपिठो हुने गरि इट्टाहरू भुइँभरी खसालिएको थियो। यदि भत्काउने क्रममा संयमता अप्नाइएको हुँदो हो त यो दृश्य देख्न पर्दैन थियो होला। तर दृश्यहरू यतिमै सिमित भएन। 

पानी छ्याप्नको लागि एक जना व्यक्ति पाइप मिलाउँदै थिए।  उनले हामीलाई ‘पर हट्न’को लागि इशारा गरे।  हट्यौँ। उनले पानी छ्यापिरहेको इट्टाहरू मुनी केही कागज देखिए। सङ्कल्पले उठायो। 

खण्डहरमा च्यापिएका किताबहरू :

सङ्कल्पले एक पन्ना मात्रै होला तानेर तानेको थियो, थप पन्नाहरू थिएँ। भुँइभरि वासरल्ल भए। मोहित अलि अघि बढ्यो, उसले पनि उसैगरी थप कागजहरूको पन्ना भेट्टायो। सुवासजीले एक मुठी कागज भेट्टाउनुभयो।

No description available.

अविरल जी सुवासजीबाट कागज लिएर धमिराले खाइसकेको, माटोले गालिसकेको कागजहरू पढ्न थाल्नुभयो। प्रभात इट्टा र माटो पन्छाउँदै थप कागजहरू बटुलाबटुल पार्दै थियो।  सम्मान पत्रका १५/२० वटा टुक्राटुक्रीहरू मेरो हाता पर्‍यो।  

No description available.

यो सामान्य कुरा थिएन। भुईँमा तितरबितर भएको यी कागजहरूले  ‘देवकोटा’सँग सम्बन्ध राख्दथे। हाम्रो अनुमान यद्यपि यही नै छ कि, यी कागजपत्रहरू देवकोटाको पठन सामग्री थियो। या उनीकहाँ आइपुगेका अन्य लेखक/साहित्यकारको पाण्डुलिपि या उपहारस्वरूप आइपुगेका पुस्तकहरू थिए। नभए पढेर सुझाव सल्लाहको अपेक्षासहित देवकोटासम्म आइपुगेका थिए होला। 

No description available.

घर भत्काइने क्रममा गरिएको लापरबाही र दोस्रो/तेस्रो तल्लादेखि खसाल्ने उपक्रमका कारण चोइटिएका इट्टाहरूको बिचोबीच (काँप-काँप मा) अलपत्र परेका कागज-पत्रहरूमध्ये धेरैको नाम भेटिँदैन। अस्पष्ट, अक्षरहरू मेटिएका, वाक्य पूर्ण नभएका, पृष्ठ सङ्ख्या नदेखिएका, छेउ कुना चारैतिर प्वाल परेका (च्यातिएका), लेखक/सर्जकको आँधा-अँधुरो नाम दृश्य गोचर भएका, शीर्षक/प्रकाशक संस्था लगायतका कुराहरू लुप्त भएका लगायतका ज्यादै नै हिनाताबोध र खिन्न बनाउने दुर्दशाको हामी साक्षी हुनुपर्‍यो। यो हामी सबैको लागि दुखदायी क्षण थियो (छ)। 

No description available.

पुननिर्माणको नाम दिइराख्दा, देवकोटाको सम्पूर्ण सामाग्रीको संरक्षण गरिने एकनास रटान रटिरहँदा यो हदसम्मको लापरबाही कदाचित स्वीकार्य हुँदैन। प्रतिष्ठान, परिवार एवं सम्बन्धित व्यक्तिहरू यसप्रकारको गैरजिम्मेवारीपनको जति आलोचना गरे पनि कम नै हुन्छ। 

साँझको घाम डुब्दै थियो, हामी आ-आफ्ना हत्केलामा छरपस्ट भएर लत्रिरहेका कागज-पत्रहरूको धुलो झारिरहेका थियौँ। यत्रतत्र छरिएका पुराना सामानहरू बिचबिचबाट क्रमशः एक एक गरी यसै गरी कागजपत्रहरू भेटिइरहेका थिए। भेटिएकामध्ये केही कागजहरूमा देवकोटा देहवसानपश्चातको मिति पनि उल्लेख थियो।

आदिकवि भानुभक्त आचार्यका सामग्रीसहित तनहुँमा सानो सङ्ग्रहालय बनेको छ भने काठमाडौं सोह्रखुट्टेमा कविशिरोमणि लेखनाथ पौड्यालका केही सामग्री राखेर लेखनाथ सदन निर्माण भएको छ। रमेश विकल प्रतिष्ठानले पनि सङ्ग्रहालयको प्रयास गरेको छ भने मोतीराम भट्ट, बालकृष्ण सम, गोपालप्रसाद रिमाल, भूपि शेरचन, पारिजात आदि मूर्धन्य साहित्यकारको सङ्ग्रहालय बनिसकेको छैन।

स्रष्टा साहित्यकारहरूप्रति राज्यले कहिल्यै प्रवाह गरेन, प्रतिष्ठानले उति साह्रो रुचि देखाएन। तर जब देखाएजस्तो गरेको थियो, किञ्चित खुसी पनि लागेको थियो। जे जस्तो भए पनि संग्रालय बन्दै छ। देवकोटाका प्राप्य सम्पूर्ण सामाग्रीको यथोचित संरक्षण हुनेछ। नेपाली साहित्यको एक इतिहास चिरकालसम्म जीवित रहेनछ भन्ने लागेको थियो। तर खान बसेको भातको पहिलो गाँसमै ढुङ्गा लाग्यो। प्रतिष्ठान, पारिवारिक स्रोत र सम्बन्धित निकायको नालायकीपनसँग जम्काभेट भयो। 

देवकोटा आफ्ना कृतिमार्फत बाचेकै छन्, उनलाई यसरी मार्न खोज्नु हुँदैन थियो। संग्रालय बनोस्, उनको प्रतिमा ठहीरियोस तर उनलाई बचाउने नाममा यसप्रकारको लापरबाही सह्य हुँदैन। 

देवकोटा कसैको श्रीमान्, छोरा वा बाउमा सीमित व्यक्ति होइनन्। कसैका महाकवि, कसैका पागल, कसैका भिखारीमा सीमित व्यक्ति होइनन्।  उनी नेपाली साहित्य जगतको, सिङ्गो राष्ट्रको गहना हुन्। गहनालाई इट्टा र ढुङ्गाको काँपमा मिल्काइदैन। माटो मुनी दबाईदैन। 

फोटो फाईल

प्रतिष्ठानले नलिनु जिम्मा लिसकेपश्चात, राज्यले नगर्नु दायित्व निर्वाह गर्ने प्रयास गरिसकेपश्चात्, प्राविधिकहरूले नल्याउनु इतिहास (मौलिकता) प्रति आधुनिकताको लेपन ल्याउन खोजिसकेपश्चात् जे-जे चीजको संरक्षणको खातिर यो पुनर्निर्माण थालिएको ती-ती चिजको संरक्षण गर्न हात कमाउनु हुँदैन थियो। 

शङ्का गर्ने ठाउँ छ, संरक्षणका लागि भनी उठाइएका, थुपारिएका अन्य-अन्य समान कुन हालतमा होलान् ? कुन अवस्थामा होलान् ?

भवन कस्तो बन्छ भन्ने मतलब गौण कुरा भयो  तर यो अवस्थालाई साक्षात्कार गर्नुपर्दा कविकुञ्जमा देवकोटाको आत्मीयता अनुभूत हुन्छ कि हुँदैन भन्नेमा चिन्ताले लखेट्न थाल्यो। जुन हिसाबमा अहिले घर भत्काइँदा उनको स्मृति दिने सम्पत्तिलाई ख्याल गरिएको पाइएन, पछि बनेको घरले देवकोटाको घरको अस्तित्व कति सँगाल्ला? प्रश्नहरूसँग म रुम्मल्लीरहे। 

हामी अमिलो मन लिएर हात-हातमा यिनै कागजपत्रहरू बोकेर फर्कँदै थियौँ। इन्जिनियरसँग भेट भयो। उनलाई सोध्यौँ, ‘यो सब के हो ?” उनले प्रश्नको जवाफ नदिईकन खुट्टाले ड्याङ हानेर एक इट्टा फुटाएर भने ‘ इट्टाहरू जीर्ण भइसकेको थियो। पुनर्निर्माण विकल्प थिएन। बाँकी कुरा प्रतिष्ठानलाई नै सोध्नुस्। हामीले बोल्न मिल्दैन।’ यसपश्चात् उनी आफ्नो नित्य कामतर्फ लागे।

मैले देखे उनले लात्ताले हानेर इट्टाको आयु देखाइरहँदा सोही इट्टा मुनी एक कागज लत्रिरहेको थियो। मैले उठाए, जहाँ उनको पैतलाले समाएर ल्याएको धुलोको छाप थियो।  कागजमा लेखिएको थियो- 

“१५. हाम्रा मन इन्द्रियहरूबाट भएका कार्यमा किर्याशुद्दी वस्तुशुद्दी नहोस् तापनी भावशुद्धि हाम्रोउपर निर्भर छ। यदि निष्कपटको विनय एवं सरलता हामीमा प्राप्त भयो भने म ठान्दछु भाव शुद्धि पनि पूर्ण भयो।”

No description available.

इन्जिनियरसँग थप गुनासो रहेन। उनी अर्हाइएको काम गर्दै थिए। मलाई उनलाई अह्राउनेकहाँ पुग्नु थियो र बाँकी प्रश्नको उत्तर माग्नु थियो। देवकोटा निवासको पुरानो आकृति बँचाएर, देवकोटाको तमाम इति वृत्ति समेट्न सङ्ग्रहालय बनाउनका लागि नयाँ संरचना निर्माण थालिरहेको प्रतिष्ठानको दैलोमा दस्तक दिनु थियो।  

कविकुञ्जमा रात ओर्लिसकेको थियो। काला बादलले आकाश ढाकिसकेको थियो।  हामी सबै अँध्यारोको एक खण्डहर छाडेर आफ्नो गल्लीतर्फ बत्तियौँ। 

क्रमशः ..(दोस्रो भाग, प्रज्ञा प्रतिष्ठान आसपास)

सिफारिस