मञ्जुरीनामामा नक्कली हस्ताक्षर गरेर अपरेशन गर्दा मनमोहन अस्पतालमा विरामीको मृत्यु !

diyopost.com
दियो पोस्ट  शुक्रबार, भाद्र ०४, २०७८ | ११:०७:२६

काठमाडौं, ४ भदौ । राजधानीको स्वयम्भु स्थित नेपाल स्वास्थय सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन अस्पतालमा आफन्तको नक्कली मञ्जुरीना खडा गरेर एक विरामीको अपरेशन गर्दा विरामीको मृत्यु भएको छ ।


विरामीका आफन्तका अनुसार अस्पतालले विरामीको परिवारको मञ्जुरीनामामा नक्कली हस्ताक्षर गरेर अपरेशन गरेको हो ।


मृत्यु हुनेमा निलकण्ठ नगरपालिका–९, काफलपानी स्थायी घर भएका ५५ वर्षिय धनबहादुर गुरुङ रहेका छन् ।


भाद्र १ गते अंरिगालले टोकेर धादिङ अस्पतालमा सामान्य उपचारपछि पाटन अस्पताल काठमाण्डौं रिफर भएका गुरुङको थप उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा ल्याइएको थियो ।

विरामीको सघन कक्षमा राखेर उपचार गर्नुपर्छ, पिसाब रोकिएका कारण अप्रेशन पनि गर्नुपर्ने हुन्छ भन्दै अस्पतालले पैसाको बन्दोबस्त गर्नु भनेर जानकारी गराएको विरामीका भतिज पर्ने सन्तोष गुरुङले बताए ।

‘पैसाको व्यवस्था हुन्छ तर छोरा र छोरी भारतबाट आउँदैछन् उनीहरु नआउन्जेलसम्म केही पनि नगर्नु भन्दा भन्दै डाक्टरले अप्र्रेशन गरियो र मञ्जुरीनामामा समेत नक्कली हस्ताक्षर गरियो,’ सन्तोषले भने । अस्पताल प्रशासनले विरामी र आफन्तबीच हुने सम्झौता पत्रमा पनि विरामीको आफन्तको किर्ते सही गरेको उनीहरुको आरोप छ ।


विहिबार राती नै विरामीका आफन्तहरुले अस्पताल परिसरमा आन्दोलन गरेका थिए । आन्दोलन पछि अस्पताल प्रशासनले प्रहरी लगाएर विरामीका आफन्तलाई लखेटेको आरोप छ ।

यता अस्पतालका सह–प्रशासक बुद्धिमान तामाङले घटनाबारे आफूले सम्बन्धित विभागका डाक्टरलाई बुझेर मात्रै प्रतिक्रिया दिन सक्ने बताए ।

‘हामीले विरामीको कुरुवालाई कन्सर्न नगर त्यस्तो काम गर्दैनौँ,’ उनले भने,‘उहाँहरुले के कारणले यस्तो भन्नु भयो हामी बुझ्दैछौँ ।’

सम्बन्धित खबर