
रौतहट, ८ भदौ । रौटहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाएको पुष्टि भएको छ । उनले पत्रकारलाई फसाएपछि गरेको टेलिफोन संवाद नै बाहिरिउको छ ।
साउन ३२ गते आफ्नै जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका सादा पोशाकका घुमुवा प्रहरीले कर्मचारीले संचारकर्मी मोजुबुल्लाहको बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राखेका थिए ।
प्रहरी सहयाक निरिक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साहले दुई व्यक्तिको सहयोगमा सो घटना घटाएको सिसिटिभीको फुटेज नै बाहिरिएको थियो ।
उनलाई फसाउन नेपाल पत्रकार महासंघ रौतहटका एक अधिकारी अर्थात नेपालमा रहेर भारतीय सञ्चार माध्यमको शाखा सञ्चालन गर्ने सञ्जय साहनीको समेत मिलेमतो रहेको पाइएको छ । एसपी शाह र पत्रकार साहनीबीचको टेलिफोन संवाद नै बाहिरिएको हो ।
साउनको अन्तीम साता बिदा जानु भन्दा पहिले उपरिक्षक शाहले नै योजना बनाएर आफु बिदा गए पछि सो काम सकाउन असई यादवलाई खटाएको आरोप छ ।
सोही अनुरुप योजनाबद्ध हिसाबले मोजिबुल्लाहलाई होटेलमा बोलाएर बाहिर उनको मोटरसाइकलमा लागुऔषध राखिएको थियो ।
जिल्ला प्रहरीले आज गरेको पत्रकार सम्मेलनमा यस घटनाको मुख्य योजनाकार संजय सहनी भएको बताएको छ । सहनीकै निर्देशनमा धिरज यादव र जितेश यादवले प्रहरीसँग मिलेर लागुऔषध सहित निर्दोषलाई फसाएको प्रहरीको दाबी छ ।
एसपी साहले पत्रकार सम्मेलन मार्फतनै दोषी भनेका सहनीको मोबाइलमा घटनाको एक दिन पछि सम्पर्क गर्दै आफ्ना प्रहरी कर्मचारीले काम सम्पन्न गरेकोमा खुशी व्यक्त गरेको पाइएको छ ।
एसपी शाहले पत्रकार साहनीलाई सम्पर्क गरेर शुरुमा ‘ कहाँ हो ? भनेर सोध्छन् । जवाफमा पत्रकार साहनीले गौरमै रहेको बताउँछन् । र एसपी शाहले एक्लै हो की भनेर शुरुमा सोध्छन्
त्यसपछि शाहले “हिजो काम भएछ नी त है ।’ भन्दै लागुऔषध राखेको घटनाबारे सोध्छन् ।
‘अब अहिले जसको काम पक्षमा काम गर्यो राम्रो भयो, जसको अहितमा काम गर्यो उसले नराम्रो भन्न शुरु गरि हाल्छ नी,’ उनले भनेका छन् ।