‘माओवादी युद्ध ठिक थियो या गलत भन्नको लागि मैले आख्यान लेखेको होइन’

diyopost.com
दियो पोस्ट  शनिबार, भाद्र १२, २०७८ | १५:५७:४१

सिर्जन अविरल मूलतः कलात्मक शैलीमा विचारसहितको कविता लेख्ने कवि हुन् । चितवनमा रहेर दुई दशकदेखि साहित्य साधनामा सक्रिय अविरल साहित्य र सन्चार दुवै क्षेत्रमा स्थापित छन् । दुई कवितासङ्ग्रह र एक जीवनीसंग्रह प्रकाशित गरेका अविरलले ‘नारायणी वाङ्मय पुरस्कार’, ‘वाल्मीकि साहित्य सम्मान’ र अरू थुप्रै सम्मान एवं पुरस्कार प्राप्त गरेका छन् । नेपाली भाषा साहित्यमा स्नातकोत्तर (प्रथम श्रेणी) अविरलको ‘मोक्ष‘ पहिलो आख्यान हो । 

प्रकाशोन्मुख ‘मोक्ष’ उपन्यास

उपन्यासकार अविरलको उपन्यास ‘मोक्ष’ यही भाद्र १९ गते  बजारमा आउँदै छ । यो आख्यान लेखकको निकै महत्वकांक्षी आख्यान पनि हो । युद्ध,  प्रेम र दलनलाई मुख्य विषय बनाएर लेखिएको प्रस्तुत उपन्यासमा अयोग्य लडाकुहरूको कथा छ । युद्धकथा लेखेर पाठकको माझमा प्रभाव जमाउने अविरलले उपन्यासमा जीवनको गहिराइमा पुगेर  बुद्धदर्शनलाई अघि सारेको पाइन्छ ।

प्रस्तुत छ, दियो पोस्टका लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री- सिर्जन अविरलसँग ‘स्रष्टा संवाद’:-

मेरो प्रिय निबन्धकार राममणि रिसालको शब्द पैचो लिएर एउटा प्रश्न गर्छु, ‘कुनै पनि कृति, प्रकाशनपूर्व लेखकको निजी सीमाभित्र र प्रकाशनपश्चात त्यो विशाल सामाजिक अधिकारको क्षेत्रमा पर्नजाने गर्छ।’ आफ्नो पहिलो आख्यानलाई लिएर तपाईंको महसुस ? 

निकै गम्भीर र मननीय छ, यो प्रश्न । मेरो मान्यता पनि यही हो । प्रकाशनपूर्व मेरो स्वामित्वमा रहेको पुस्तक अब प्रकाशनपछि सार्वजनिक सम्पत्ति हो र, यो पाठकको आफ्नो पुस्तक हो । अब पाठकका अनेक क्रियाप्रतिक्रिया चुपचाप सुन्नुको अर्को विकल्प छैन मसँग । त्यसमा पनि एउटा लेखक लेखिरहेको पुस्तक सकिएपछि सेलाउँछ र शान्त हुन्छ । अझ पुस्तक सार्वजनिक भएपछि उसले बोल्नुपर्ने सबै कुरा सकिन्छ र शून्य हुन्छ केही समयका लागि । 

‘आफ्नै कथा भन्न सकस हुँदोरहेछ’ त भन्नुभयो तर तपाईंले लेखिरहनु भएको विषयवस्तु राष्ट्रिय एवं राजनीतिक विषय पनि हो । इमान्दारिताको सवालमा तपाईंलाई बोल्न मुड छ ? 

मूलतः एउटा लेखक इमान्दार भएर प्रस्तुत हुनैपर्छ, आफ्नो पुस्तकमा । छलछाममा चलिरहेको बाहिरी दुनियाँ देखेको हुन्छ लेखकले पनि । अझ त्यसमा पनि यही समाजको उपज हो, लेखक । जो आफ्नो पुस्तकमा समाज लेख्छ र अझ बढी आँफैलाई । मैले अति सत्य र यथार्थ कुरा बोलेको छु, उपन्यासमा । स्वार्थ मिल्ने मान्छेहरू एकै ठाउँमा हुन्छन्, चाहे राजनीति होस् या प्रेम । आवरणभित्र बाँचिरहेको समाजमा सत्य बोल्न सकस हुने कुरा सत्य हो । तर, मैले इमान्दारिताका साथ सत्य बोलेको छु । मैले भन्दा ज्यादा  पारिवारिक तनाव झेल्ने मान्छे पनि नभएका होइनन् । सायद उनीहरूले त्यसलाई लेख्न सकेनन् । युद्धमा  लाग्नेको भीड ठुलो थियो । निकै कम उमेरका छापामारहरू पनि युद्धको मोर्चामा थिए । उनीहरूलाई  न त यो जीवन जगत थाहा थियो, न त आफ्नै भविष्य । नबुझेरै पनि उनीहरू सबै कुरा बुझेँ भन्ने भ्रममा थिए सायद । 

पछिल्ला उपन्यासहरूले ‘पुराना स्मृतिहरूको पुनरावृत्ति’ भन्ने आरोप खेपीरहेको समयमा तपाईंले पनि अतित स्मरण गर्नुपर्ने कारण के होला ? तपाइँको कृतिको खास पाठक को हुन् ?

निकै गजबको प्रश्न गर्नु’भो । उपन्यास वास्तवमा जीवन भोगाइको एउटा सुन्दर दस्तावेज नै हो । जहाँ आफ्नो अनुभव र अनुभूतिको बारेमा बोल्दा समाजमा उभिएको हुन्छ, लेखक । भोगेर आएको जीवन र यो समाजभन्दा बाहिर कहाँ छ कथा? र, अर्को कुरा मेरो उपन्यासका पाठक भनेका कुनै निश्चित वर्ग वा समुदाय नभएर सबै क्षेत्र, वर्ग र समुदायका मानिसहरू हुन् । यो हिजो हामीले झेलेर आएको युद्धको कथा हो । यो संसारमा न त युद्ध जितेर सन्तुष्ट छ मानिस, न त हारेर । यसको कारण के हो ? यही कुरा भनिएको छ, उपन्यासमा । यो हरेकले पढ्नै पर्ने आख्यान हो । र , अर्को कुरा यो वा त्यो वादभन्दा पनि  लेखक समय र समाज बोलेको उपन्यासलाई कसरी लेख्दा आनन्दित हुन्छ भन्ने कुरा प्रमुख हो । 

जबजब कुनै पनि व्यक्ति, समाज या समयको भोगाइलाई आख्यानिकरण गरिन्छ, अलि ठाडो शैली अप्नाइएको उदाहरणहरू प्रशस्त भेट्ने गर्छु । सोही कारण  पुस्तकका ‘साइड इफेक्टहरू’ पनि देखिए । यस सवालमा ‘नथिया, खलङ्गामा हमला’ लगायतका कृतिहरू भन्दा  ‘मोक्ष’ कसरी अलग छ ? शीर्षकको सवालमा पनि केही बोलिदिनुहोस् न है !

यो अर्को एउटा उत्तम प्रश्न हो, भन्ने ठान्छु म । राजनीतिक विषयलाई छुँदा कवितामा होस् या आख्यानमा नाराबाट जोगिएर हरदम कलाको बाटो हिडुँ भन्ने चाहन्छु म । सधैँ लेख्न बस्दा मैले सोच्ने कुरा नै यही हो । सकेसम्म भन्न खोजेको कुरा कलात्मक शैलीमा नै भन्नुपर्छ भन्ने ठान्छु म । लेखक पनि कुनै अर्को ग्रहको प्राणी त होइन तर पनि आम मानिसले भनेभन्दा अलग तरिकाले हरेक कुरालाई कलात्मक तरिकाले भन्नुपर्छ भन्ने ठान्छु म । 

तपाइँले भनेजस्तै केही पुस्तकहरू कलाको बाटोमा हिँड्दाहिँड्दै चिप्लिए होलान्, त्यो अलग कुरा हो । ‘मोक्ष’को विषय र प्रस्तुति पृथक छ भन्ने लाग्छ मलाई । यो एउटा कविले लेखेको आख्यान हो । सिङ्गो आख्यानको भाषा नै कवितात्मक छ । इतिहासले निर्माण गरेको डरलाग्दो युद्धको डोब छ, यसमा । दलनको कथा छ । लडाकुहरूको प्रेम र समयले किनार लगाएका अयोग्य लडाकुहरूको कथा छ । युद्धबाट थकित एउटा महिला  लडाकु कसरी गुम्बासम्म पुग्छे र मोक्ष प्राप्त गर्छे भन्ने कुरा यसमा देखाइएको छ ।

‘अयोग्य माओवादी लडाकुको मनोविज्ञान छामेर लेखिएको कतै भेटिएन’ भन्नुभयो, त्यो भनेको के हो ? दसवर्षे युद्धको जमिनमा टेकेर पटक-पटक आख्यानिकरण त गरिएकै थियो नि ! थप प्रश्न, साहित्य राजनीतिको निर्देशनमा लेखिने विषय हो र ?

यो विषय तपाईंले सोचेजस्तो र भनेजस्तो पटक्कै होइन । छापामारहरू गाउँमा भेटिए वा सहरमा देखिए भनेर पुस्तक लेख्नु युद्ध लेख्नु होइन । त्यति सजिलो कुरा पनि होइनयुद्ध लेख्न । कुनै लडाकुलाई कतै देख्नु वा भेट्नु लडाकुको मनोविज्ञान छाम्नु होइन । उमेर नपुग्दै र जीवनजगत नबुझ्दै युद्धमा होमिएका कयौँ लडाकुको मनोविज्ञान बुझेर लेख्ने कुरा निकै फरक कुरा हो ।

र, अर्को कुरा राजनीतिको निर्देशनमा लेखिने विषय साहित्य हुन सक्दैन ।

उपन्यासकार: सिर्जन अविरल

माओवादी द्वन्दलाई राजनैतिक द्वन्दको नाममा वैधानिकता दिलाइएको एकातर्फीको भाष्य छ भने नेपालको सामाजिक/राजनीतिक रूपान्तरणमा द्वन्द्वको महत्त्वपूर्ण भूमिका रहेको अर्कोतर्फको । तपाइँ कता पर्नुहुन्छ ? माओवादी द्वन्दलाई तपाईं कसरी हेर्नुहुन्छ ?

माओवादी द्वन्द सही थियो या गलत म यो विषयतिर जान्न ।  राजनीतिक विषय हो, यो । मैले माओवादी युद्ध ठिक थियो या गलत भन्नको लागि आख्यान लेखेको पनि होइन । म पूर्णरूपमा दलीय राजनीतिबाट स्वतन्त्र छु, अहिले । यो युद्ध मलाई मन परेन वा मन परेको थियो भन्ने कुरा अलग हो तर युद्ध नै सही या गलत भन्नु अर्कै कुरा । युद्धकालीन चरम मानसिक यातनामा बाँचिरहेको एउटा युवाले युद्धप्रति सोच्ने धारणा अलग हुन सक्छ ।

अब प्रसंग परिवर्तन गर्छु, समकालीन नेपाली साहित्यले लेख्न छुटाइरहेको विषयवस्तुहरू के-के हुन् ? लेखिएकाहरूमा देखिएका समस्या बारे पनि होलान् ? लैङ्गिकताको सवालमा, स्वतन्त्रता र समानताको सवालमा एवम्  नारी/अपाङ्ग/प्रौढ/सीमान्तकृत समुदायको सवालमा हाम्रा लेखकहरू कता छन् ?

यी अनेक गम्भीर विषयहरूमा लेखकहरूले लेखिरहेकै छन् ।  चिज कसरी आइरहेको छ भन्ने कुरा प्रमुख हो । लेखिन बाँकी विषयभन्दा पनि विषयको उठान र प्रस्तुति कसरी भइरहेको छ भन्ने बारेमा बहस चलाउने कि बरु !

आजभोलि एउटा भाष्य प्रचलित छ, ‘हिजो स्थापना गरिएका महाआख्यानहरू आज काम नलाग्ने भएका छन् र नयाँहरूले पनि समग्रमा मानवीय सङ्कटलाई सम्बोधन गर्न सकेका छैनन् ।’ यस भाष्यले ‘विचारप्रवाहको सवाल (घिसेपिटे विचारहरूको अनुकरण)’मा यस कालखण्डलाई मानव इतिहासको सर्वाधिक अँध्यारो समय मानिरहेको छ । तपाईंको मत ?

कतिपय चर्चामा आएका आख्यानले समयलाई सम्बोधन गर्न नसकेको निश्चित हो । साहित्यमा लेखिएको विषय सर्वकालिक हुनुपर्छ । आजलाई मात्र सोचेर लेखिने आख्यानको अवस्था तपाईंले भनेजस्तै हो । विचार र कलापक्ष दुवैलाई सशक्त रुपमा प्रस्तुत नगरिएका आख्यानहरू समयसँगै फितलो हुँदै जानु स्वभाविक हो ।

‘लेखक बजारमा त पुग्यो तर लेखकभन्दा बजार बलियो हुन् पुग्यो ।’ के म सही छु ? लेखक आफ्नो अस्मिता/नैतिकतामा बाँच्न नसकेको कि बजार तानाशाही हुँदै गएको ? 

यथार्थमा भन्दा आजको सोचनीय विषय हो यो । केही समय यता आख्यानको नाममा बजारले हल्ला बेचिरहेको छ । पढिनुपर्ने केही पुस्तक छायाँमा छन् र बजारमा ‘फण्डा’ बिक्री भइरहेको छ । पढिनुपर्ने पुस्तकसँग भेट नभएरै फर्किएका छन्, असल पाठक । यद्यपि असल र राम्रा लेखक यो भीडमा पनि नैतिकता जोगाएर उभिएकै छन् ।

हाम्रो साहित्य विश्व मञ्चमा पुगेन भन्छौँ तर हाम्रो जस्तै राजनीतिक/सामाजिक संरचना भएका अफ्रिकन/दक्षिण अमेरिकी साहित्य चाहिँ हामी पढीरहेका छौँ । यसमा लेखक, प्रकाशक एवं पाठक कसको दोष देख्नुहुन्छ ? या म सरासर गलत छु ? 

हाम्रो पुस्तकले विश्व बजार भेट्न पाएको छैन । न त लेखकले सिधै अङ्ग्रेजीमा लेख्ने अवस्था छ, न त सोचे जस्तो अनुवाद हुन सकेको छ ! यही कारण पनि आज विश्व बजारले हाम्रो साहित्य पढ्न पाइरहेको छैन । हाम्रो लेखाइ विश्व साहित्यको तुलनामा निकै तल छ भन्ने कुरामा म सहमत छैन । 

अब केही रमाइला प्रश्नहरू गर्छु है; तपाईंले लेख्नु भएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ? त्यो रचना उपलब्ध हुन् सक्छ?

हामी हरेक महिनाको अन्तिम शुक्रबार साहित्य सन्थ्यामा रचना भन्न जान्थ्यौँ ।  मैले लेखेको पहिलो रचना ‘बागीश्वरी साहित्यिक पत्रिका’मा छापिएको हो । त्यो रचना कथा थियो । र, छापिएको समय २०५१ साल थियो । यसलाई समय लगाएर खोज्नुपर्छ भेटिन्छ ।

पुस्तकसँग तपाईंको प्रथम साक्षात्कार कसरी हुन गयो ? पढाइको विकल्प ‘पढाइ’बाहेक अर्को थोक छैन भन्दै गर्दा पढाइको औचित्य कसरी स्थापित गर्नुहुन्छ?

मैले सानैदेखि पुस्तकालय देखेँ । गाउँमा साहित्यिक चहलपहल थियो । दाइ उदय अधिकारी निकै अध्यनशील हुनुहुन्थ्यो । दाइको भलिबल र फुटलमा गहिरो रुचि थियो र बाँकी समय पुस्तक पढ्नुहुन्थ्यो । मैले बुझ्ने भएदेखि नै दाइको हातमा पुस्तक देखिरहेँ । म दाइको आँखा छलेर गुच्चा र डन्डीबियो खेल्न जान्थेँ । यसकारण पनि विद्यालय तहमा मेरो पढाइ त्यति राम्रो भएन । कलेज पुगेपछि निकै मिहिनेत गरेँ र पढाइ पनि निकै राम्रो भयो । 

समयसँगै बुझ्दै गएँ, विद्यालय र विश्वविद्यालयभन्दा बाहिर पनि पढ्नुपर्ने र सिक्नुपर्ने सिङ्गो जीवन बाँकी रहेछ । त्यो सिक्नुपर्ने जीवन साहित्यमा मात्र भेटिन्छ भन्ने कुरा दाइबाट बुझेपछि म विस्तारै साहित्यमा आकर्षित भएँ ।

पुस्तक छनौटको आधार केलाई बनाउनुहुन्छ ? पढेकामध्ये सबैभन्दा मन परेका पुस्तक? 

मेरो पुस्तक छनौटको आधार भनेकै दाइ हो । मैले थोरै पुस्तक मात्र आफ्नो खुसी किनेको छु । उदय दाइले प्रायः गरेर पढ्नैपर्ने पुस्तकका नाम भनेपछि नै म किताब किनेर पढ्छु । बजारमा आएका सबैजसो पुस्तक दाइकोमा पुगिसकेको हुन्छ । दाइकै सिफारिसको आधारमा म पुस्तक छनौट गर्छु । मलाई निकै मन परेका केही पुस्तक छन् । यीमध्ये म अहिले  ‘घामका पाइला’ को नाम लिन्छु ।

सम्बन्धित खबर