‘सन्तोष पन्त’ एक संस्था हो,  जसलाई भत्काउन ‘विक्कीहरू’को खाँचो छ ! 

diyopost.com
दियो पोस्ट  सोमबार, भाद्र १४, २०७८ | १७:१२:१४

-राजु झल्लु प्रसाद,

कमेडी च्याम्पियनको दोस्रो सिजनका एक चर्चित प्रतियोगी हुन्, विक्की अग्रवाल। सुरुदेखि उपाधिका दाबेदार मानिएका अग्रवाल कमेडी च्याम्पियनको ‘विकिपिडिया’ मात्रै होइनन् । उनको परिचय त्यतिमा सीमित छैन, राखिनु हुँदैन । 

हरेकपटक मौलिक र फरक प्रस्तुतिका कारण आफूलाई अब्बल तुल्याइरहेका विक्कीले गत शनिबार ‘पान्टामाइम एक्ट (Pantomime Act)’ ट्राई गरे । जजसहित नेपाली दर्शकहरू नै यस प्रकारको प्रस्तुतिबारे अनविज्ञ जस्तो देखिए। कसैकसैले ‘चार्ली च्याप्लिन’ या ‘कार्लोस मार्टीनियज’को नाम लिएता पनि धेरै नेपाली दर्शकहरू यसलाई नयाँ-नौलो बताउन पुगे । 

‘मानिस निदाएको बेला मन कसरी सक्रिय हुन्छ ?’ भन्ने थिममा उनले संवादहीन अभिनय पस्किएका थिए । प्रस्तुतिमा हास्यरस निकै कम थियो तर कला भरपुर थियो । कमेडी च्याम्पियनमा पहिलोपटक कुनै प्रस्तुतिमा सन्नाटा छाएको ऐतिहासिक क्षण पनि यही थियो। दर्शकलाई पेट मिचीमिची हँसाउनु पर्ने प्रतिस्पर्धात्मक मोडमा उनले दर्शकहरू रुहाइदिए। जजहरूलाई के बोलौँ/के नबोलौंको दुबिधाग्रस्त स्थितिमा पुर्याइदिए । यसभन्दा बेसी, नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा नयाँ इट्टा राखे । जग बसाएँ । नयाँ स्वाद चखाएँ । कसैले स्वाद मन पराएनन्, मुख बिगारे । धेरैले स्वाद रुचाए, मुख मिठ्याए । 

मुख मिठ्याउनेहरू एकैखाले कमेडीदेखि मोनोटोनस भएको नेपाली हास्यव्यङ्ग्य क्षेत्रले नयाँ स्वाद पाएकामा खुसी देखिए । मुख बिगार्नेहरू कमेडी भनिसकेपछि दर्शक हाँस्नै पर्ने, भीडको लागि कमेडी हुनुपर्ने जस्ता नियमिततालाई पछ्याइरहेका देखिए । 

यसबाहेक, जिब्रो नै बाहिर निकालेर ‘आप्पुई, के जात्रा देखाएको होला, यो त चार्ली च्याप्लिन र मिस्टर बिनले गरेकै थिएँ नि’ भन्नेहरू पनि भेटिए । यो क्यारिकेचर,  बासी जोक्स, विभेदजन्य भाष्यलाई स्वागत गरिराख्ने एक ठुलो जमातको स्वर हो । 

खैर, विक्कीले बहसको सिलसिला सुरुवात मात्रै गरेका छैनन्, नेपाली हास्य कलाकारिताको स्तर एवं कमी सँगसँगै नेपाली दर्शकहरूको चेतना पनि छर्लङ्ग पारिदिएका छन् ।  

अन्तिम ४ को प्रतिस्पर्धामा नयाँ शिल्पको कमेडी ट्राई गरेसँगै विक्कीको प्रशंसा र आलोचना बरोबर भइरहेको छ । यस बहसको बाछिटाले परम्परागत नेपाली हास्य कलाकारिताको पिँढीको माटो भत्काउने निश्चितप्राय नै छ । (मुख बिगार्ने र मुख मिठ्याउनेहरूको बिच भनाभन चलिरहँदा आइतबार दिनभर विक्की पनि सम्पर्कमा आएनन् । उनको फोन बजिरह्यो, उनी बोलेनन् ।) उनको चुपीलाई सम्मान गर्दै कुरा अघि बढाऔँ:

जजहरूको कमेन्ट :
विक्कीको प्रस्तुति सकिएपश्चात् जजहरूले आ-आफ्ना ओहदाअनुसारको कमेन्ट गरे ।  विक्कीको प्रस्तुतिपश्चात् सन्तोष पन्तबाहेकका तीन जना निर्णायकले ‘स्टान्डिङ अभेसन’ दिएर तारिफको पुल बाँधेका थिए । प्रदीप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले एकस्वले विक्कीको प्रशंसा गरिरहँदा पन्तले भने आलोचनात्मक कमेन्ट गरेका थिए।

‘तिमीले फरक प्रस्तुति दिएका छौ, त्यसको लागि बधाई छ,’ पन्तले भने, ‘तर, नेपाली समाजले र दर्शकले तिम्रो प्रस्तुति बुझ्दैन । मैले त बुझिनँ । यो हँसाउने सो हो, तर तिम्रो प्रस्तुतिमा कोही हाँस्यो त ? तिम्रो आफ्नै टेस्ट छ, त्यसलाई नै निरन्तरता देउ ।’

‘मेरोतर्फबाट मैले उसलाई उत्साह नै दिएको थिएँ । आर्टको प्रतिस्पर्धामा उसले त्यो प्रस्तुति दिएको भए, फरक कला देखायो भन्ने हुन्थ्यो । तर, त्यहाँ त कमेडी चाहिएको हो । उसले आर्ट प्रस्तुत गर्‍यो । निर्णायकले त वास्तविक प्रतिक्रिया दिनुपर्‍यो,’ पन्तले विवादित भएपश्चात् मिडियामा बोलेका छन्, ‘क्लाउन बनेर आउँदैमा त्यो त कमेडी हुँदैन । कि त डायलग हुनुपर्‍यो । अनुहार मात्र क्लाउनको बनाएर त दर्शक हाँस्दैनन् । दर्शक हँसाउन सक्नुपर्‍यो नि भनेको हो । यहाँ त हाँस्ने कुरा चाहियो भनेको हो नि मैले । चार्ली च्याप्लिनको फिल्म हेरेको छु, उसको जस्तो ह्युमर त हुनुपर्छ भन्ने हो ।’

यसैगरी, अतिथि किरण केसीले पनि प्रस्तुतिलाई ‘रसिलो, पोसिलो, उत्कृष्ट अभिनय’ भन्दै प्रशंसा गर्दै नेपाली हाँस्यविधामा ‘माइम’ शैलीको इतिहास रचेकोसमेत प्रतिक्रिया दिएका थिए । प्रदीपले भने ‘पेन्टोमाइम’ गर्ने आँट गरेर कमेडी च्याम्पियनको मञ्चलाई भरपुर प्रयोग गरेको प्रतिक्रिया दिएका थिए ।

अर्का निर्णायक मनोज गजुरेलले त आफूले गर्दै आएको स्ट्याण्डअप र क्यारिकेचरभन्दा विक्कीले ‘उच्च कोटीको कलाकारिता देखाएको’ प्रतिक्रिया दिए । ‘विक्कीले हरेकपटक नयाँ गर्दै आएको छ । हामी कमेडीमा नयाँ चाहियो भन्दै आउँछौँ । तर गर्छौँ त्यही स्ट्याण्डअप, क्यारिकेचर, व्यङ्ग्य, रोस्ट । तर संसारमा चलिसकेको यो माइम हामीले गर्ने स्ट्याण्डअप, क्यारिकेचर र राजनीतिक व्यङ्ग्यभन्दा निकै उच्च कोटीको कलाकारिता हो,’ उनले भनेका थिए ।

“विक्कीजी’ले हिजो गर्नुभएको जस्तै यसअघि नेपाली हास्य व्यङ्ग्य क्षेत्रमा भएको मलाई थाहा छैन ।  व्यक्ति आउने, स्लो पर्फमेन्स गर्ने जस्ता चाहिँ भएका छन् तर प्यान्टोमाइम भनेर नै गरिएको चाहिँ मलाई थाहा छैन”, जज मनोज गजुरेलले दियो पोस्टसँग भने,  “विक्कीले यस मञ्चमा विभिन्न फर्म्याटका कमेडीहरू पस्किएर कमेडी च्यापिनलाई मात्रै नभएर नेपाली कला क्षेत्रलाई गुण लगाएका छन् ।  उनका थुप्रै प्रयोगहरूमध्ये हिजोको एउटा प्रयोग हो ।  विक्कीको पर्फमेन्सले भविष्यमा के अर्थ राख्दछ भन्ने कुरा त समयले बत्ताउँछ ।”

“हामीले गर्दै आएको क्यारिकेचर, प्यारोडी, प्रहसन- यी पनि कमेडीका फर्म्याट हुन् तर समयसँगै फरक टेस्टको माग हुन्छ, गर्नेले पनि दिनुपर्छ । बाहिरी देशमा विभिन्न फर्म्याटका कमेडीहरू चलेका छन्, ती सँगसँगै हामीले आफ्नो मौलिक फर्म्याटहरूको निरन्तर खोजी चाहिँ गर्नुपर्छ । हामीकहाँ नयाँ स्वादको कमेडीहरू अत्यधिक खाँचो छ, विक्कीहरूको अत्यधिक खाँचो छ”, गजुरेल अझ अगाडी भन्छन्, “ विक्की नेपाली कमेडी जगतको लागि एउटा कोसे ढुङ्गा साबित हुन् सक्ने कुरामा म ढुक्क छु ।” 

रिचाले शीर्ष तीनको प्रतिस्पर्धामा विक्कीले ‘माइम’ शैलीको जोखिम मोलेर कलालाई बढी महत्त्व दिएको बताएकी थिइन् । 

विक्की स्वयंले प्रतियोगिताको महत्त्वपूर्ण घडीमा आफूले जोखिम मोलेको स्वीकारेका छन् । ‘मलाई थाहा छ, मलाई यसले फाइनलमा नपुर्‍याउन सक्छ,’ प्रस्तुतिपछि भावुक देखिएका उनले भनेका थिए । ‘मलाई पेन्टोमाइम अभिनय गरेको कारण कुनै पनि पश्चात्ताप छैन । कमेडी च्याम्पियनको सेटमा म जित्न भन्दा पनि केही नयाँ गर्न आएको हुँ । शुक्रवार बेलुकीसम्म म स्ट्यान्डअप गर्ने कि पेन्टोमाइम गर्ने भन्ने थियो । म टप ४ बाट बाहिरिए भने पनि मलाई कुनै पश्चात्ताप हुने छैन । मलाई बाहिरिँदा पनि केही फरक पर्दैन’ उनले भनेका थिए ।

विक्कीको यो भनाइले पनि उनी आफ्नो प्रस्तुतिमा पूर्ण रूपमा आत्मविश्वासी थिए भन्ने बुझ्न सकिन्छ । उनको आत्मविश्वास सह्रानीय पक्ष हो । उनले फाइनलको नजिक पुगेर जुन साहस देखाए, त्यो निकै तारिफयोग्य छ।

सन्तोष पन्तको विरोध र सामाजिक सञ्जाल :

यता, सन्तोष पन्तको कमेन्टलाई लिएर सामाजिक सञ्जाल तातेको छ । ‘एउटा कलाकार (पन्त)ले अर्को कलाकारलाई कला देखाउने कलाकार होइन, कमर्सियल कलाकार बन्’ भनेर धम्कीपूर्ण आग्रह गर्नु रुढीवाद भएको बताइएको छ । 

हो, पनि- यि-यस्तै परम्परावादी चरित्र नत्यागेसम्म नेपाली कुनै पनि कला क्षेत्र अगाडी बढ्न नसक्ने सत्य वाक्य नै हो । सन्तोष पन्तले किन त्यस्तो कमेन्ट गरे ? उनको स्कुल अफ थट के हो ? उनको स्कुलिङ कुन प्रकारले भयो ?  यावत यावत प्रश्नहरू सामुन्ने आएका छन् । कमेडी क्षेत्रमा सन्तोष पन्त भएझैं कला, साहित्य, राजनीति, चिकित्सा एवं शिक्षा क्षेत्रमा पनि पन्तहरू बोलवाला छ । उनीहरू नसुधारिएसम्म ‘नयाँ विक्की’हरूको नवीनतम प्रयोगमाथि खोट देखाउने प्रवृति बढीरहने छ ।  

सन्तोष पन्तको कमेन्टमाथि कमेन्ट गर्दै दियो पोस्टसँग गजुरेल भन्छन्, “जजहरू त निमित्त पात्र हुन्, उनीहरूको आ-आफ्नो बुझाइ हुन्छ ।  जज गर्ने आ-आफ्ना शैली हुन्छन् ।  तर के हो भन्दा नियत चाहिँ नराम्रो होइन, हुँदैन होला भन्ने लाग्छ ।”

यस्तै, कमेडी च्याम्पिएनको निर्मातामध्येकी एक अभिनेत्री केकी अधिकारी भन्छिन्, “ “उहाँ(जज) हरू जुन प्रोफेसनमा हुनुहुन्छ,आ-आफ्नो योग्यताका कारण त्यहाँ (जज प्यानल) हुनुहुन्छ । हामीले सबैको ओपनियनलाई रेस्पेक्ट गर्न सक्नुपर्छ । राजू जी, कुनै पनि विषयमा तपाईंको ओपिनियन मेरो भन्दा बेग्लै हुन् सक्छ । उसैगरी, सन्तोष दाइको ओपनियन अन्य जजहरूको भन्दा बेग्लै देखिएको हो । साथै, आफ्नो ओपनियन के हो, त्यो पनि राखौँ । एक-अर्काको विचारलाई सम्मान गरौँ । त्यसपछि उहाँ (विक्की)लाई भोट गर्ने/नगर्ने भनेर निर्क्यौल गर्नुभयो भने विक्की’जीको पनि र कमेडी च्याप्मियानको सम्मान हुन्छ होला ।”

नेपाली हास्य कलाकारिताका ‘ट्रेन्ड सेटर’ मध्ये एक मह जोडी हुन् भने अर्का जज प्यानलकै जज सन्तोष पन्त पनि हुन् । पन्तमाथि पोहोर साल पनि राम्रा जोक्समा पनि नहाँसेको आरोप लागेको थियो । नव पुस्ताको जोक्स नबुझेर उनी हाँस्न नसकेका थिए या पचाउन नसकेर भरपुर बहस चलेको थियो । सोही बहसको निरन्तरलाई विक्कीमार्फत पुनः भएको छ ।  यसपटक, सन्तोष पन्तले हास्यविधाको यो नयाँ शैलीलाई नबुझी विक्कीलाई हतोत्साहित गरेको भन्दै सामाजिक सञ्जालमा उनी विरुद्ध दर्शकहरू खनिएका छन् ।

“कमेडी भनेको मुख बङ्ग्याउनु र खिसिटिउरे हो भन्ने बुझेका दरबारिया पाल्तुलाई युवाको फरक प्रस्तुतिलाई नबुझ्नु स्वाभाविक छ”, प्रेम उत्सर्गले लेखेका छन्  ।

“सन्तोष पन्त हास्य क्षेत्रका बालबच्चा, बुढाबुढी, जवान, स्वस्थ र बिरामी सबैले पिउने स्वास्थ्यवर्धक जुस हुन तर अब डेट एक्सपाएर्ड भए”, प्रकाश ज्ञवालीले लेखेका छन् । 

“खासमा सन्तोष पन्तको विरोध हुनु भनेको उनको आजको मात्र प्रतिक्रियालाई आधार मानेर हैन । उनी पुरानो मानसिकताबाट ग्रस्त छन्, परिवर्तनलाई आत्मसात् नगरेको यस अघिका उनका कतिपय प्रतिक्रियाहरू पनि छन्; जुन क्षेत्रवादी, घोर जातिवादी, अपमानजनक पनि थिए ।”, रामेश अभि लेख्छन्, “त्यसैको कलेक्टिभ जवाफ आज बम बनी पड्केको हो । “

“सन्तोष पन्तको रेसिज्मको बारेमा आदर्श मिश्राले धेरै नै भनिसकेका छन्। रक्सी र राजाको पक्षमा बोल्दा ढाडस दिने उनले समाजमा कस्तो प्रभाव पार्लान् त्यो झन् दुखद पक्ष हो। यद्यपि कमेडी सहज विधा भने होइन।हिजोको प्रस्तुतिमा विक्किको प्रस्तुति कमजोर नै लाग्थ्यो। नयाँ गर्न खोज्दा त्यसो हुनु स्वाभाविक पनि हो”, सलन बस्नेत लेख्छन् । 

“विक्की अग्रवालले पेन्टाेमाइम (मुक अभिनयमा) आधारित भएर ‘कमेडी सर्कस’मा आफ्नो प्रस्तुति दिए । उनको प्रस्तुतिमा पञ्चको कमी रह्यो, हाँस्यकाे कमी रह्यो,सायद उनले पेन्टाेमाइमकाे गुदी राम्ररी नुबेझेर हुन सक्छ, कन्टेन्ट पनि फितलो नै थियो । तर नेपाली कमेडीमा भने यो पहिलो प्रस्तुति थियो, ट्रिडिसनल कमेडी गरिरहेकाको गालामा थप्पड पनि थियो, यसका लागि उनी धन्यवादका पात्र हुन्, जे भए पनि उनले नेपाली कमेडीमा पेन्टाेमाइम भित्र्याएर ग्वाँजे हास्य कलाकारहरूलाई यसको चिनारी र चुनौती दुवै दिए”, विपुल विक्रम लेख्छन् ।

विराट अनुपम लेख्छन्, “सन्तोष पन्त जस्तो वरिष्ठ भनिएका हास्यकलाकारले नि पान्टोमाइम कमेडी नबुझेसी नेपाली कमेडीको असली अनुहार आयो। विक्की बधाई छ। जिते तिम्रो प्रतिभाको कदर हुनेछ । हारे पन्त जस्तै मानसिकताको जित ठहर्नेछ।”

“अरू कमेडियनहरुले हाम्रो मनलाई ‘हाँस्ने’ बनाउँछन्,त्यो राम्रो हो। विक्की अग्रवालले कम्तीमा हाम्रो ‘मस्तिष्क’लाई ‘सोच्ने अनि हाँस्ने’ बनाउँछन्।त्यो उत्कृष्ट हो। विक्कीको हास्यव्यङ्ग्य र कलाकारिता बुझ्न ‘हाँस्न’ मात्र जानेर हुँदैन ‘सोच्न र बुझ्न’ पनि जान्नुपर्छ” , बिम्ब प्रकाश लेख्छन् । 

“आफूले नबुझ्दैमा कसैले बुझ्दैन भन्ने अहम् पन्तमा देखिन्छ। हाँस्ने कुराहरूको देश अनुसार स्वाद फरक हुन्छ भन्ने नयाँ कुरा पनि पन्त मार्फत नै थाहा भयो। हामी कहाँ कति आयातित जोकहरू नै झन् चर्चित छन्। कति कुरा हामी ठाडै कपी गरिरहेका हुन्छौँ। नमिल्ने भए कपी नै गरिदैंन्थ्यो होला नि होइन र?”, मनोज रेग्मी लेख्छन्, “मलाई व्यक्तिगत रूपमा पन्त निकै पूर्वाग्रही लाग्छन्। आफूलाई अपडेटेड राख्न नसक्ने मान्छे जजको रूपमा पाएपछि यो सब त सामान्य पनि हो हुन त।”

“सफलताको सूत्र साहस हो । बलेको आगो त सबैले तापिहाल्छन् नि । यदि नयाँ प्रयोग गर्न डराउने अनि जता हावा बहेको छ, त्यतै बग्ने हो समाजले नवीनता कहिल्यै प्राप्त गर्दैन थियो ।” विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे लेख्छन्, “मैले अहिलेसम्म कुनै पनि ‘रियालिटी शो’मा भोट हालेको छैन । आज विक्कीको यो साहसको लागि, यो प्रयोगका लागि उहाँलाई भोट गर्छु ।”

“यो कमेडी च्याम्पियन भन्ने छ नि । हो यो एक रियालिटी सो हो । यसको काम भनेको दुनियाँमा दया, मायाका साथै भावुकता जागृत गराउने । त्यो भनेको आँसु झारेझैँ गरी टीआरपी झार्ने । हिजो राती पनि यही गरे ।”, एमपि केयरलेसले लेखेका छन् । यस्तै, जोतारे धाइवा लेख्छन्, “नेफोलीहरू भावुक जाति, हँसाउनुपर्ने कमेडियन रोइदिँदा फ्यान भएर वकालतमै उत्रिने ।”

“सन्तोष पन्तलाई गाली गरेर हामी जान्ने बन्दैनौँ। अन्य जजको भनाइको निष्कर्ष पनि ‘तैँले भोट नपाउने पर्फर्मेन्स किन गरिस्’ भन्ने आशयकै थियो। त्यो भनेको हँसाउने सामग्री भएन भन्ने हो। उनीहरूको ताली पनि कमजोर थियो। उनीहरू नहाँसेका मात्र होइन, गम्भीर थिए र कहाँ कसरी प्रतिक्रिया देखाउन पर्ने हो भनेर अलमलिएका प्रस्ट देखिन्थ्यो। पन्तले यही कुरालाई ठाडो भनिदिएका हुन्। त्यो शैली गलत भन्न सकिन्छ। विक्कीले पनि हँसाउने पर्फर्मेन्स होइन भनेर स्वीकारेका थिए” राम लोहनी लेख्छन्, “ हाम्रो हाँसे चेत राजनैतिक व्यङ्गमा झल्किन्छ, जातीय, लैङ्गिक र शारीरिक खोट देखाउनमा बढी झल्किन्छ। खासमा एङ्करले बाँधेको भूमिका बढी डिज्यास्टरस थियो अझ। विक्की रोएकोले हाम्रा प्रतिक्रिया बढी भावुकताले भरिए।‌ विक्की रुनुमा पन्तको भनाइ कारक मानेको देखियो। तर विक्कीको आँसु पहिल्यै आइसकेको थियो।” 

“पन्तले हियाएर कमेन्ट गरेको झल्किन्छ। त्यो भन्दा पनि ‘मैले त बुझी’ भनेर पन्तले भन्दा म चैँ छक्क परेको थिएँ। यस्तै टाइपको गएको सिजनमा प्रतियोगिहरूलाई अलि हियाएर पन्तले कमेन्ट गरेको छ”, चन्द्रवीर तुम्बापो लेख्छन् । 

“मूल प्रश्न चलिरहेको धारमा नयाँ र फरक गर्न खोज्नेलाई हौसला दिने कि हतोत्साहित गर्ने भन्ने हो” शेखर विकल्पले लेखेका छन्  ।

“निर्णायकको कुर्सीमा बसेर ‘मैले बुझिनँ – भन्नू कत्तिको सही हो ? प्रश्न यही मात्रै उठेको हो । अरू सबै ध्वन्यर्थ हुन्”, कृष्ण प्रसाद अर्यालले लेखका छन्  ।

विक्कीको अभिनयपश्चात् नेपाली कमेडीको भविष्य:  

घर चलाउनका खातिर मात्रै कमेडी गरिँदै आइएको वर्तमान परिपाटीमा विक्की अट्न नसक्नु स्वाभाविक हो ।  पत्रिकाले जे जे समाचार लेख्छ, त्यही विषयवस्तु मात्र कमेडीमा क्यारिकेचर र डायलग तल-माथि गरेर पस्किने परम्परामाथि विक्कीले प्रहार गरेका हुन्, धेरै केही गरेका होइनन् । विक्कीहरूको आँटलाई आँटिलो आर्टलाई सम्मान गर्न नसकेपनि सराहना गर्नु, नितान्त आवस्यक छ ।

जसलाई जे पायो त्यही भनेर गाईजात्राको नाममा विकृति भित्रिरहेको समय छ ।  क्यारिकेचर गरेर मनोरञ्जन प्रदान गर्ने चलनचल्ती पनि सदाकाल फेसनैबेल हुँदै आइरहेकै छ । अघिल्लो हास्य कलाकारहरूले पुस्ताले पछिल्लो पुस्तालाई भूमिका हस्तान्तरण गर्न खोजिरहेकै बेलामा विक्की अग्रवाल, आदर्श मिश्राले सुम्पिएको भूमिकालाई लत्ताएर नयाँ केही गर्न खोजे ।  तर उनीहरूको यथोचित सम्बोधन हुन् नसक्ने हो कि भन्ने खतरा चाहिँ देखियो । र, त्यो खतरा प्रथमतः सन्तोष पन्त जस्ता व्यक्ति (अझ संस्था) बाट नै देखियो । सन्तोष पन्त एक व्यक्ति भन्दा संस्था हुन् । नयाँलाई आत्मसात् गर्न नसक्ने संस्था । जुन आफैँमा मक्किएको त छँदै छ, थप मक्काउन समेत खोज्दै छ । 

हो, राणाकालको समयमा नेपालमा हाँसो दमित थियो । त्यसपछि पनि  हाँस्ने वातावरण सीमित व्यक्तिहरूको पहुँचमा रह्यो । अर्थात्, नेपालीहरूले हाँस्न थालेको केही वर्ष भयो । 

प्रजातान्त्रिक आन्दोलनहरू एवं जनयुद्धको असजिलो समयमा हास्य व्यङ्ग्यमार्फत आफूले बोल्न नसकेका कुराहरू बोलिएको पाउँदा दर्शकको नियमित आकर्षणको केन्द्र बन्न पुग्यो- विभिन्न सिरियलहरू।  त्यति बेला आजको जस्तो सामाजिक चेत थिएन । जातीय, लैङ्गिक, वर्गीय एवं मनोसामाजिक विभेदसँग समाज परिचित थिएन । समाजलाई यी कुराको खासै चासो पनि थिएन । बडी सेमीङ, गालीगलौजजन्य भाष्य, लैङ्गिक, दुष्बोधन, व्यक्तिको शरीरको खिसीटिउरी लगायतका कुराहरू पछिल्लो दशकदेखि सतहमा देखापरेका हुन् । यसपश्चात् हाम्रो समाजमा यी मुद्दाहरू स्थापित हुने क्रममा छ । जुन, वास्तवमै सुयोग्य र सुन्दर कुरा हो । 

तत्कालीन मनोसामाजिक चेतकै आधारमा निर्माण भएका टेली शृङ्खलाहरूले दर्शकको समर्थन पनि भरपुर पाए । तर, समय क्रमअनुसार यस्ता सिरियलमा समस्या देखियो । त्यति बेला एउटा अपांग (लङ्गडो) व्यक्तिको नक्कल उतार्नु नै कमेडी ठहरियो । त्यसमा अपांग व्यक्तिको पनि समर्थन रह्यो । तर, अपांग व्यक्तिको नक्कल उतार्ने नाउँमा उसको व्यक्तिगत मनोभावना ठेस पुर्‍याउने कम बढ्दै गयो । यसपछि समस्या सुरु भयो । बुझ्नेहरूले यसलाई कम गर्दै लगे- महजोडी एक उदाहरण हुन् ।  तर सन्तोष पन्तहरू त्यही अड्किए । उनीहरू अपडेट हुन् सकेनन् । 

समस्या  यतिमा सीमित भएन, नेपाली कमेडीले समाजको गतिशीलता पछ्याउन नसक्ने क्रम अझ बढ्दै गयो । समाज एकातिर, कमेडी अर्कोतर्फ भयो । मान्न सकिन्छ, सामाजिक विसङ्गतिका विरोधमा कमेडीहरू आउनुपर्छ । तर, कमेडीमार्फत नै सामाजिक विसङ्गति फल्न-फुल्न पुगे । सीमान्तकृत, अपहेलित विभिन्न तह-तप्काका व्यक्तिहरू आफूमाथि गरिएको घोचपेच, घिनलाग्दा क्यारिकेचर, तल्लाे स्तरकाे द्विअर्थि यौन संवाद र फोहरी संवाद लगातार बढ्दै गयो । अन्ततः के हुन् पुग्यो भन्दा- राजनीतिक र सामाजिक विसङ्गतिलाई हिर्काउँदा हिर्काउँदा चाल्नो बनाएर छाडिदिए- नेपाली हास्यव्यङ्ग्य क्षेत्रलाई । जो आए पनि गर्ने त्यही, भन्ने त्यही । सुनेर रमाउने पनि उस्तै, सुनाएर कमाउने पनि उस्तै । सराबरी। 

पछिल्लो एक उदाहरण नै लिऔँ, सहरका लागि तितो सत्य र जिरे खुर्सानी, ग्रामीण भेगका लागि मेरी बास्सै र भद्रगोलजस्ता सिरियलहरू आए । तर, न यिनले पूर्णतः सहर छाम्न सक्ने, न गाउँ नै । बस, केही पात्रहरूको मुखारकृतिलाई बङ्गाएर, तोडमोड गरेर कमेडी नामको जात्रा देखाए । 

यियस्तै प्रहसन, प्यारोडी, कमेडी, रत्यौलीबाट नेपाली दर्शकहरू दिक्क-ए-दिक्दार भएका थिए । यस्तैमा, कमेडी च्याम्पियन आयो । ‘हामी केही नयाँ खोज्दै छौँ’ भनेकाले ‘खोज्लान् नि त’ भन्ने लाग्यो । विक्कीभन्दा अगाडी केही नयाँ देख्न सकिएको थिएन । गत सिजनमा आदर्श मिश्राले मधेसकेन्द्रीत मुद्दामा निकै सहजताका साथ असहज विभेदका शृङ्खलाहरू अघि सारेका थिए । तर उनको कदर भएन । यस अर्थमा विक्कीमार्फत कमेडी च्याप्मियनले आफ्नो उद्देश्य भेट्टाएको छ । 

अन्त्यमा,

‘कुम्भकर्णपछि केही कुरा मज्जाले सुतेको छ भने त्यो मेरो किस्मत हो’ भन्ने विक्कीको किस्मत के-कस्तो हुन्छ, त्यो भविष्यको कुरा भयो । तर, विक्कीले परम्परावादी नेपाली कमेडी क्षेत्रमा तलाउमा ढुङ्गा हानिदिएका छन् । यस तरङ्गका लागि उनी धन्यवाद पात्र छन् । 

‘हिजोआजका कुरा’को जगजगीबीच मुन्टो उठाएको तितो सत्यपश्चात् नेपाली हास्य कलाकारिताको नयाँ युग सुरु भएको मान्नेहरूले विक्कीको पर्फमेन्सलाई स्वागत गर्नु पर्दछ । गाई जात्रा, रत्यौली एवं रोधी टाइप्सका हास्यव्यङ्ग्यको बोलवाला रहिरहँदा विक्कीले स्वीकारोक्ति पाउनु गाह्रो कुरा हो, तर दर्शकहरू विक्कीलाई स्वागत गर्दै छन् । यो खुसीको कुरा हो । नेपाली कमेडी क्षेत्र उज्यालो भविष्यतर्फ लम्कँदै छ भन्ने सङ्केत हो । 

सम्बन्धित खबर