सभागृहको चौरमा २ वटा कुर्सी राखेर ‘ईं’सँग वार्ता गर्न कुर्दै थिए बालेन !

दियो पोस्ट  

काठमाडौं । फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेर ६ दिनदेखि उभिएर काठमाडौं महानगर अगाडि ईः लगायत अभियन्ताहरुले आन्दोलन गरिरहेका छन् ।

अभियान्ता ईःहरुले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको विरोधमा विभिन्न नारा उल्लिखित प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका थिए। ७७ घन्टा भनेर सुरु गरिएको यो आन्दोलन १ सय २३ घन्टा हुँदै अब १ सय ९९ घन्टासम्म लम्बाइएको हो ।

आन्दोलन लम्बिएपछि सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सभागृह पुगेका थिए । आन्दोलनरत ईःलाई भेट्न पुगेका बालेनसँग अभियान्ता ईःले एक्लै भेट्न नमानेको स्रोतको दाबी छ ।

महानगर स्रोतका अनुसार सोमबार मेयर बालेन वार्ताका लागि भन्दै राष्ट्रिय सभागृहको अगाडीको चौरमा दुई वटा कुर्सी लिएर बसेका थिए । सोमबार १२ बजे अघिनै बालेनले यसरी वार्ताको तयारी गरेका थिए ।

त्यसपछि उनले एकजना नगर प्रहरीलाई आन्दोलनरत अभियन्ताहरुलाई बोलाउन पठाए । बोलाउन गएका नगर प्रहरी नर्फकुन्जेल बालेन चौरमा नै पर्खिरहेका थिए ।

स्रोत भन्छ, ‘ईः लाई बोलाउन गएका नगर प्रहरीले ईं एक्लै नआउने विज्ञसहितको टोली छलफलमा आउने जानकारी पनि गराए । त्यसपछि मेयर बालेन आफ्नो मागको छलफलमा किन विज्ञसहितको टोलि चाहिने भन्दै चौरबाट उठेर कार्यालय गएका थिए ।’ मेयर बालेनले चौरमा छलफलका लागि १० मिनेट पर्खिएको स्रोत बताउँछ ।

उता अभियान्ता ईःले भने मेयर बालेनले नगर प्रहरी लगाएर आफुहरुलाई थर्काकाएको आरोप लगाएका छन् । ‘मेयर यहाँ आउनु भएको होइन । जवाफदेहिता मागिरहेका साथीहरु साक्षी छन् । करिब २० मिनेट अगाडि अकास्मत एकजना नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए ।’ अभियान्ता ईःले लेखेका छन्, ‘हामीले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरुलाई बोलाउन ३० मिनेट समय माग्यौँ। नगर प्रहरीले रिसाएर जवाफ दिए, ‘त्यसो भए मेयरले भेट्दैन ।’

यो पनि:-

अभियान्ता ईः र बालेनबीच जुहारी !