काठमाडौं । रामकुमारी झाँक्रीसहित नेकपा एकीकृत समाजवादीका दर्जनौँ नेता तथा कार्यकर्ता नेकपा एमालेमै फर्कने तयारीका लागि परामर्श सुरु गरेका छन् । पदाधिकारी चयनका क्रममा नेतृत्वसँग असन्तुष्ट बन्दै आएकी झाँक्रीले अरु नेताहरुसहित आफू एमाले प्रवेश गर्न परामर्शमा जुटेकी हुन् । केही दिनअघि मात्रै नेतृ झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा एउटा स्टाटस लेखेकी थिइन् । ओलीको फेसबुक पेजमा अनफलो अभियान चल्दै गर्दा नेतृ झाँक्रीले ओलीको समर्थनमा स्टाटस लेखेकी थिइन् ।
यता नेकपा एकीकृत समाजवादी का नेता एवम् सांसद किसान श्रेष्ठ (कृष्णकुमार श्रेष्ठ) ले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । बुवाको मुख हेर्ने दिन पारेर ओलीलाई भेट्न श्रेष्ठ बालुवाटार नै पुगेका थिए । श्रेष्ठ त्यहाँ पुग्दा ओलीलाई भेट्न आउनेहरूको भीड थियो । तैपनि उनले ओलीलाई एक्लै भेटे र बधाई दिए । साथमा आशीर्वादसमेत ग्रहण गरे ।
ओलीलाई भेटेको थाहा पाएपछि उनलाई पार्टी महासचिव घनश्याम भुसालले फोन गरेका थिए । श्रेष्ठ महासचिव भुसालले एमाले प्रवेश गर्छन् कि भन्ने आशङ्कासहित फोन गरेको बताउँछन् । रामकुमारी झाँक्री र किसान श्रेष्ठसँगै प्रेम आलेसमेत नेकपा एमाले फर्कने कसरतमा लागेका छन् । उनले एमालेका नेताहरुसँग निरन्तर संवाद अघि बढाईरहेका छन् ।