काठमाडौं । अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्लेको अवस्थाबारे अझै थाहा पाउन सकिरहेको छैन । उनको शव लुकाएको अभियोगमा पक्राउ उनका पति नरेश भट्टका पक्राउ परेका छन् भने उनको पक्षबाट ग्रान्ड जुरी रद्द गर्न माग गरी दायर गरिएको मोसन न्यायाधीशले स्वीकृत गरेका छन्।
बिहीबार भएको सुनुवाइका क्रममा ग्रान्ड जुरी रद्द गराउन दायर मोसन अदालतबाट स्वीकृत भएको त्यहाँका स्थानीय संचारमाध्यमले जनाएका छन । योसँगै अब यो मुद्दामा ग्रान्ड जुरी राखिने छैन। यसअघि अक्टोबर २४ का लागि तोकिएको प्रारम्भिक सुनुवाइ रद्द गर्न नरेश पक्षबाट दायर गरिएको मोसन गत अगस्ट २९ मा अदालतले स्वीकार गरेपछि अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको थियो।
तर ग्रान्ड जुरी रद्द गर्ने मोसन स्वीकृत भएकाले मुद्दा अझ छिटो प्रक्रियामा जानेछ। अब अर्को सुनुवाइ यही सेप्टेम्बर १६ का लागि तोकिएको छ। बिहीबार सुनुवाइमा नरेशलाई पनि अदालत उपस्थित गराइएको थियो। यसअघि गत अगस्ट २९ मा पनि नरेशलाई अदालत लगिएको थियो।
त्यस दिन नरेश पक्षले अदालती प्रक्रियालाई गति दिन प्रारम्भिक सुनुवाइ रद्द गर्न प्रस्ताव गरेको थियो। यसलाई अदालतले स्वीकार गरेपछि मुद्दा सीधै अर्को चरण अर्थात् ग्रान्ड जुरी सुनुवाइमा प्रवेश गरेको थियो। तर यो पनि बिहीबार रद्द गरिएको हो। अमेरिकाको भर्जिनियाअन्तर्गत मनासस पार्कस्थित घरबाटै जुलाई ३१ देखि बेपत्ता ममता काफ्ले अझै भेटिएकी छैनन्। उनलाई मारिसकिएको निष्कर्षमा पुगेको प्रहरीले उनको शव खोजी जारी राखेको छ।