काठमाडौं । अबैध रुपमा बँदेल चोरी सिकारी गरेको अभियोगमा पक्राउ परेका पूर्वडीआइजी र पूर्वउपसभामुखका छोरासहित १० जनालाई उन्मुक्ति दिन रातारात चलखेल भएको खुलेको छ ।
जंगली बँदेल चोरी सिकारी गर्दै गर्दा भदौ १३ गते विहान १ बजे पक्राउ परेका पूर्व डीआईजी ज्ञानविक्रम शाह, बहालवाला सई सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवसहित १० जनालाई माथिको आदेश भन्दै पक्राउ परेको केही घण्टाभित्रै छाडिएको थियो । सप्तरी प्रहरी प्रमुख एवं एसपी गजुसिद्धि ब्रजाचार्यले उनीहरुलाई उन्मुक्ति दिनकै लागि घटनालाई अन्यत्र मोड्ने प्रयाससमेत गरेको देखिन्छ ।
प्रहरीले उनीहरुको साथबाट २२ क्यालीबरको राइफल एक वटा, म्यागजिन दुई वटा र खुर्पा एक वटा बरामद गरेको थियो । तर, हतियारसहित पक्राउ पर्दासमेत यो घटनालाई चोरी तस्करी नभएको भन्ने बनाउन प्रहरी प्रमुख एवं एसपी ब्रजाचार्य ‘रोलमोडल’ भूमिकामा देखिएका छन् । उनी नक्कली घटनाको रचयितासमेत बनेका छन् । जंगलमा बँदेल बेवारिसे अवस्थामा फेला परेको भन्ने बनाएर पक्राउ परेका १० जनालाई नै ब्रजाचार्यकै सक्रियतामा उन्मुक्ति दिएको खुलेको छ ।
घटना के हो ?
भदौ १२ गते विहान १ बजे सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी व्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको टोलीले गत बुधबार मध्यराति हतियारसहित पूर्वडीआईजी शाह र सई न्यौपानेसहितलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुको साथबाट मारिएको बँदेलसहित २२ क्यालिवरको राइफल एक थान, राइफलको म्यागजिन दुई थान, गोली १५ थान, वाइनाकुलर तीन थान, ट्राइपोटर्र एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो, को २ त ६९ नम्बरको ट्रयाक्टर एक थान बरामद भयो ।
पक्राउ परेको थाहा भए लगत्तै उनीहरुलाई रिहा गर्न उच्चस्तरीय दबाब आउको थियो । तर पक्राउ गर्ने टोलीका कमान्डर सप्तरी प्रहरी निरीक्षक मिश्रले गैरकानुनी कार्य गर्नेलाई छोड्न नमिल्ने भन्दै मारिएको बँदेल, हातहतियार, सवारी साधन र पूर्वडीआईजीसमेत १० जनालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएका थिए ।
अब सुरु हुन्छ उन्मुक्तिको चलखेल
पूर्वडीआईजी शाहसहितलाई जोगाउन प्रहरी निरीक्षक मिश्रलाई बँदेल वेवारिसे फेला परेको प्रतिवेदन दिन जिल्ला प्रहरी प्रमुख वज्राचार्य र इलाका प्रहरी प्रमुख महेन्द्र नेपालले दबाब दिएको प्रहरी स्रोतको दाबी छ । आफूले अवैध चोरी सिकारी गर्दै गरेको अवस्थामा मारिएको बँदेलसहित नियन्त्रणमा लिएकाले वेवारिसे फेला परेको झूटो विवरण समेटेर प्रतिवेदन नदिने प्रहरी निरीक्षक मिश्रले अडान लिएपछि इलाका प्रहरी कार्यालय भारदहका प्रहरी वरिष्ठ नायव निरीक्षक विश्वनाथ त्रिपाठी, प्रहरी सहायक निरीक्षक कृष्ण राजवंशी र प्रहरी हबलदार युगेश्वर खत्वेसँग संयुक्त प्रतिवेदन दिन लगाइएको थियो ।
तीनै जनाले आफूहरूको नेतृत्वमा खटि गएको प्रहरी टोलीले ट्र्याक्टरमा लोड अवस्थामा बँदेल फेला परेको उल्लेख गरेका छन् । १३ गते मिति राखेर सार्वजनिक भएको प्रतिवेदनमा भनिएको छ, ‘स्थानीयले आफ्नो खेतबारीमा लगाएको अन्नवाली बँदेल लगायत जंगली जनावरले क्षति र्पुयाएकाले हतियारद्वारा बँदेल मारेको सूचना प्राप्त भई प्रहरी टोली खटिगई को १ त ६९ नम्बरको ट्र्याक्टरमा लोड मृत बँदेल फेला परेको,’ संयुक्त प्रतिवेदनमा उल्लेख गरेका छन् । जुन प्रतिवेदन घटनालाई अन्यत्र मोड्ने योजनाअनुसार बनेको थियो ।
तर १३ गते नै यो प्रतिवेदनलाईसमेत काउन्टर दिनेगरी अर्को ‘फेक घटना’ सहितको पत्र सार्वजनिक हुन्छ । जुन पत्रमा ईलाका प्रहरी प्रमुख एवं डीएसपी महेन्द्र नेपालले आफ्नो कमाण्डमा खटिएको टोलीले ट्याक्टर र मृत बँदेल फेला परेको भनेर दाबी गरिएको छ । दुबै कागजातलाई भिडाएर हेर्दा बँदेल तस्करलाई उन्मुक्ति दिन ठूलै चलखेल भएको देखिन्छ ।
स्रोतको दाबी अनुसार सार्वजनिक भएका दुबै पत्रअनुसार राति खटिएको प्रहरी टोलीको कमान्डर उनीहरु हैनन् । यो घटनाको असली कमान्डर प्रहरी निरीक्षक मिश्र हुन् । घटनामा संलग्नलाई प्रहरी निरीक्षक मिश्रको टोलीले हातहतियार र मृत बँदेलसहित पक्राउ गरेर इलाका प्रहरी कार्यलय कन्चनपुरलाई जिम्मा लगाएको थियो । उनले यो घटनालाई तोडमोड नगर्ने, झूटो प्रतिवेदन नदिने र दोषीलाई उन्मुक्ति दिन नसक्ने स्पष्ट गरेसँगै घटनालाई अन्यत्र मोड्ने प्रयासका बाबजुत फरक–फरक कमान्डर देखाएर झूटो प्रतिवेदन तयार गर्ने प्रयत्न भएको देखिन्छ ।
घटना लुकाउनका लागि सप्तरी प्रमुख एवं एसपी गजुसिद्धि ब्रजाचार्यले नक्कली घटना खडा गराएकोसमेत खुलेको छ । यसबारे प्रतिक्रिया लिन खोज्दा सप्तरी प्रहरी प्रमुख बज्रचार्यले आफू उम्कने जवाफ दिएका छन् । उनको प्रतिक्रिया छ, ‘हामीले यो मुद्दामा वन कार्यालयमा बुझाइसक्यौं । यस विषयमा थप उतै सोध्नु होला ।’ यसबारे उनले अरु केही बोल्न चाहेनन्, फोन राखिदिए ।
पैसाले कानुन किन्ने खेल
यो घटनामा पूर्व डीआईजी र पूर्व उपसभामुखका छोरासमेत संलग्न रहेकोले उनीहरुलाई उन्मुक्ति दिनकै लागि सप्तरी प्रहरी प्रमुख गजुसिद्धि ब्रजाचार्य यसमा मध्यस्थकर्ताको भूमिकामा मैदानमा देखिएका छन् । पक्राउ परेका पूर्वडीआईजी ज्ञानविक्रम शाहले प्रहरी प्रमुख ब्रजाचार्यलाई मोटो रकम दिएर, आगामी दिनका लागि अरु थुप्रै प्रलोभनमा पारेर यो घटनालाई जसरी हुन्छ ‘डाईभर्ट’ गराउन अहिले पनि दबाब दिईरहेका छन् । त्यहि प्रलोभनमा फसेर प्रहरी प्रमुख ब्रजाचार्यले वन कार्यलयदेखि सरोकार राख्ने सबै निकाय र अनुसन्धानकर्तासम्मलाई प्रभावमा पार्ने प्रयत्न गरिरहेको स्रोतको दाबी छ ।
यसबारे वन डिभिजन कार्यालय सप्तरीका प्रमुख (डिएफओ) शुभाष चन्द्र दास पनि बनावटी प्रतिक्रिया दिएर उम्कने प्रयत्न गरिरहेका छन् । आरोपित पूर्वडीआईजी र पूर्वउपसभामुखका छोरासहितका व्यक्तिमाथि अनुसन्धान भईरहेको उनको जवाफ छ । ‘प्रहरीले ट्याक्टरसहित बँदेल बेवारिसे फेला परेको मुचुल्कासहित १५-१६ गते तिर हामीलाई बुझाएको थियो । त्यसका लागि वन डिभिजन कार्यालय अनुसन्धान गरिरहेको छ ।’ उनी भन्छन्, ‘प्रक्रियामा गइसकेको छ, दोषी ठहरिए उनीहरुलाई वन ऐन अनुसार कारबाही हुन्छ ।’
यसकारण घटना मोड्ने प्रयास
बँदेललाई पासो लगाएर, हातहतियारले मार्न नपाईने प्रावधान छ । तर, २०८० सालको मंसिर ८ गते राजपत्रमा प्रकाशित भएकोृ सूचना अनुसार निजी खेत, खला, बारीमा आई क्षति पु¥याउने अवस्थामा मात्र बँदेललाई विनाअनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सकिने व्यवस्था गरिएको छ । पूर्वडिआइजी पक्राउ परेको घटनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ आकर्षित हुने भएपछि प्रहरीले मुचुल्कामै खेलेको देखिन्छ ।
राष्ट्रिय निकुञ्ज र आरक्षमा भएको वन्यजन्तुको सिकार घटनामा निकुञ्ज विभाग र मुद्दामा तथा त्यसबाहिरको हकमा डिभिजनल वन कार्यालयले जिल्ला अदालतमा मुद्दा चलाउँछन् । वन्यजन्तु संरक्षण ऐनअनुसार दफा २६ (३) अनुसार संरक्षित क्षेत्रभित्र पनि अनुज्ञापत्र नलिई वन्यजन्तु सिकार गरी मारेमा वा घाइते बनाएमा २० हजार रुपैयाँदेखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । डिभिजन वनले बँदेलसहितका वन्यजन्तु चोरीसिकार घटनामा यही कसुरमा मुद्दा चलाउने गर्छ ।