अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु

दियो पोस्ट  

अमेरिका, असोज ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु भएको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले महाअभियोग लगाउन लागेको हो ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छवी खराब गराउनका लागि विदेशी शक्तिको सहयोगका लागि आग्रह गरेको आरोपबारे औपचारिक छानबिन सुरु गर्ने निर्णय भएको बताएकी छन् । राष्ट्रपति जिम्मेवार हुनु पर्ने र त्यसकै लागि अनुसन्धान सुरु गरिएको उनले बताएकी छन् ।

राष्ट्रपति ट्रम्पले आफूले कुनै पनि किसिमको गलत आग्रह वा प्रयास नगरेको दाबी गर्दै डेमोक्र्याटिक पार्टीको बहुमत रहेको हाउस अफ रिप्रिजेन्टेटिभमा थालिएको अनुसन्धान प्रक्रिया ‘फोहोरी’ प्रयास रहेको बताएका छन् । महाअभियोग प्रक्रियाको अनुसन्धानमा डेमोक्र्याटिक पार्टीको बलियो समर्थन छ । यो प्रक्रिया अघि बढेमा रिपब्लिकनको नियन्त्रण रहेको माथिल्लो सदन सिनेटबाट पारित हुने सम्भावना लगभग छैन ।

गएको शुक्रबारदेखि विभिन्न सञ्चारमाध्यम र पत्रपत्रिकामा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेर पूर्व उपराष्ट्रपति जो बाइडेनमाथि अनुसन्धान गर्न आग्रह गरेको खबर प्रकाशित भएको थियो ।

ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी भएको बताएका छन् र उनले जो बाइडेन भ्रष्टाचारी रहेको पनि आरोप लगाएका छन् ।