सुनिता सुन्दास
२४ घण्टे ड्युटी सकेर डेरा फर्कदै थिएँ । लामो ड्युटीले हातखुट्टा झम्झाउँछ । शरिर लठ्याउँछ । एम्बुलेन्समै निदाउन खोजेछु । एक्कासी मोबाइलको ‘रिङ्गटोन’ बज्यो । म झस्किएँ । गाउँबाट आमाले फोन गर्नु भएको रहेछ । उठाएँ ।
‘नानी !
तिमी ड्युटी नजाउ न है ।
मिलाएर घरमा आउन ।
कस्तो रोग बढेको छ रे !
डाक्टर नर्सलाई झन डर हुन्छ रे !
मलाई त कस्तो चिन्ता लागेको छ । तिमी यता आउन मिल्दैन ?
म निशब्द भएँ ।
आमालाई सम्झाउनु त थियो नै ‘केही हुन्न ममि ।
त्यस्तो डर मान्नु पर्दैन । हामीले सुरक्षा उपाय अपनाएका हुन्छौँ । यस्तो बेलामा हामी ड्युटीबाट भाग्नु हुँदैन । चिन्ता नलिनु । यो अलि शान्त भएपछि आइहाल्छु । ढुक्क हुनुस् ।’
तर, ढुक्क हुने अवस्था त कहाँ छ र ! आमाको मन न हो । सन्तानको मायाँ कसलाई हुँदैन र ! सायद यतिबेला मेरी आमा मात्रै होइन ।
सबै स्वास्थ्यकर्मी र फ्रन्टलाईनमा काम गर्ने सुरक्षाकर्मी, प्रहरीका हजारौँ आमाहरु चिन्तामा हुनुहुन्छ ।
कोरोना भाइरस कोभिड १९ को महामारीबाट विश्व नै आतंकित छ । नेपाल समेत यो संक्रमणबाट अछूतो रहन सकेको छैन ।
संक्रमण दर र मृत्युदर दिनानुदिन बढ्दो क्रममा छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मंगलबार सम्म कुल २ सय ३९ जनाको निधन भइसकेको छ । साढे ४० हजार भन्दा बढी संक्रमित भएका छन् ।
१८ हजार भन्दा बढी आइसोलेशनमा हुनुहुन्छ ।
२२ हजार भन्दा बढी व्यक्तिहरु निको भएर घर फर्कनु भएको छ । कोभिड १९ को जोखिमबीच फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीमाथि सबैभन्दा धेरै जोखिम हुन्छ ।
एक जना स्वास्थ्यकर्मीकै निधन भएको खबर आएको छ । यसले परिवार र आफन्तहरुमा चिन्ता हुनु स्वभाविक हो ।
जोखिमकाबीच २४ घण्टा विरामीको सेवामा खटिनु सामान्य विषय पक्कै होइन । हाम्रा लागि घर परिवार छोडेर विरामीको सेवामा खटिनु दायीत्व हो ।
ड्युटिमा स्वास्थ्यकर्मीलाई पनि संक्रमणको डर हुन्छ । घर फर्कदा परिवारलाई आफूबाट कोरोना संक्रमणको खतरा उस्तै रहन्छ ।
अस्पतालमा कोरोना संक्रमणको खबर सुनेर घर परिवारले अस्पतालको जागिर नै छाड्न दबाव दिएका घटना समेत आइरहेका छन् । हुन त स्वास्थ्यकर्मी कसैको दिदि, कसैको बहिनी, आमा, दाजु र भाइ नै हुन् नी । तर, स्वास्थ्यकर्मीले भने अस्पताल र विरामीलाई नै परिवार मान्नुपर्ने हुन्छ ।
स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने मास्क, फेस सिल्ड, पञ्जा, सेफ्टी गाउन, सुज कभर लगायर १२ देखि २४ घण्टासम्म लगाउँदा बस्दा पसिनाले शरिर भिज्छ ।
शारिरिक रुपमा हुने यस्ता असहजताका बावजुत पनि हामीले आफ्नो कर्म गर्नुको विकल्प छैन । विरामीलाई कुर्न आउने महानुभावहरु (कुरुवा) भने भेट्न आइरहन्छन् । उनीहरुले गर्ने भिडभाडले संक्रमण फैलने जोखिम हुन्छ ।
एकातिर स्वास्थ्यकर्मी जोखिम मोलेर कोरोना विरुद्धको युद्धमा छन् । अर्को तिर हाम्रो समाज भने उल्टो बाटोमा हिडेको जस्तो भान मलाई हुन्छ । केही सञ्चार माध्यमहरुमा आएका खबर अनुसार दिनानुदिन स्वास्थ्यकर्मीमाथि दुर्व्यबहार भइरहेको छ ।
देशको राजधानीमै यस्ता घटना हुनु दुखद हो । यो समयमा स्वास्थ्य कर्मीलाई हौसला दिएर उत्साह भरिदिने हो की बहिस्कार गरेर निरुत्साही गर्ने हो ? स्वास्थ्यकर्मीको मनोबल घटाएर कसलाई फाइदा हुन्छ ? घाटा हुने र भयाबह अवस्थाको सामना हाम्रै समाजले गर्नुपर्ने होइन र ?
हाम्रो समाजले जस्तै स्वास्थ्यकर्मीले उपचार सेवाबाट हात झिकिदिए भने के होला ? विरामी परेर अस्पताल जाँदा स्वास्थ्यकर्मीले अस्पतालको ढोका बन्द गरिदिए भने के होला ? अस्पताल उपचारको मन्दिर पनि हो ।
यो यस्तो महामारी हो । होटल, रेष्टुराँ, विद्याय, यातयात, हवाई उडान सबैजसो क्षेत्रमा ताल्चा मार्नु परेको छ ।
जतिबेला हाम्रो राज्यले सँधै खुलारहने मन्दिर, मस्जिद र गुम्बाहरुमा ढोका बन्द गर्नुपरेको छ । तर, अस्पतालका ढोकाहरु भने २४ घण्टा खोलिनुपर्नेछ । कोरोनासँग लड्ने स्वास्थ्यकर्मी यतिबेला सबैभन्दा अग्रपंक्तिमा योद्दा हुन् भन्ने कुरा हाम्रो समाजले विर्सनुहुँदैन ।
युद्धमा योद्धालाई जनताले साथ दिएन महामारी विरोधी यो युद्ध हामीले हार्नेछौँ । देशले हार्नेछ । महामारीसँग हारेको देशले भविष्यमा इतिहासको बरखी बार्नुपर्छ ।
तर, महामारी नियन्त्रणको सर्वोच्च निकाय हाम्रो ‘राज्य’ले भने यसलाई नबुझेको हो की जस्तो पनि लाग्छ ।
महामारीबीच स्वास्थ्यकर्मीमाथि सरकारले गरिरहेको व्यवहार भने निराशाजनक छ । सरकारले कोरोना महामारीबीच फ्रन्टलाइनमा खटिने सरकारी स्वास्थ्य सेवामा रहेका कर्मचारीका लागि विभिन्न राहत प्याकेज घोषणा गरेको छ ।
केही ठूलाबडा स्वास्थ्यकर्मीले लाखौँ भत्ता लिएको खबर समेत आइरहेका छन् । यसले सरकारी सेवामा रहेकाहरुलाई अवश्य नै केही राहतको महशुस गराएको होला । तर, नीजि अस्पतालमा कार्यरत लाखौँ स्वास्थ्यकर्मीका लागि भने हाम्रो सरकार आकाशको फल जस्तो बनेको छ ।
यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरुले आफै कार्यरत अस्पतालहरुबाट पाउनुपर्ने पारिश्रमिक पाएका छैनन् । ठूला अस्पतालमा दैनिक हजारौँको संख्यामा स्वास्थ्यकर्मीहरुले रोजगारी गुमाइरहेको खबर छ ।
यसैबीच सरकारले देशभरका सबै अस्पताललाई कोभिड अस्पतालको रुपमा घोषणा गरेको छ । तर, यसरी घोषणा गर्ने सरकारले नीजि क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीका लागि भने केही सम्बोधन गरेको छैन । आखिर नीजि वा सरकारी सबैले गर्ने त सेवा नै होइन र ?
नीजि क्षेत्रमा सबैभन्दा धेरै स्वास्थ्यकर्मीहरु कार्यरत छन् । बहुसंख्यक स्वास्थ्यकर्मीमाथि राज्यले किन केही नसोको होला ? यदि राज्य सबैको हो भने राज्यले पनि आम नागरिकको बारेमा सोच्नुपर्ने होइन र !
विरामीको सेवामा सेवाको लागि २४ घण्टा लाग्नु पर्ने यो समयमा पनि स्वास्थ्यकर्मीहरुले राज्यमाथि नै प्रश्न गरिरहनुपर्ने हो र ?
अन्त्यमा, कोभिड १९बाट जोगिन जुटेर होइन फूटेर (व्यक्तिगत दूरी कायम गरेर) बसौँ । हामी स्वस्थ्य भयौँ भने सबै कुरा रहन्छ । अन्धकारका लागि उज्यालो हो । विरामीका लागि नै स्वास्थ्यकर्मी हुन् । कोभिड १९ संक्रमितहरुलाई विभेद नगरौँ । तपाईंको स्वास्थ्य नै तपाईंको जीवन हो । जीवन रहनका लागि तपाईं जिवित रहनुपर्छ । तपाईंलाई जिवित रहन हामी सघाउने छौँ । हामीलाई बहिस्कार नगर्नुहोस् ।