दियोपोस्ट संवाददाता,
धादिङ, १८ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मा पर्ने मलेखु बजार राजमार्गमा यात्रा गर्नेहरुका लागि ‘माछा बजार’को रुपले पनि चर्चित छ । आन्तरिक पर्यटकलाई आकर्षण गर्न भन्दै गजुरी गाउँपालिकाले केही महिनाअघि मलेखुबजारमा मत्स्य गेट ‘माछाको मूर्ति भएको प्रतिमा’ निर्माण सम्पन्न गरेको थियो ।
गजुरी गाउँपालिकाले १२ लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरेर निर्माण गरेको मत्स्य गेटमा चरम अनियमितता भएको पाइएको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, मत्स्य गेट निर्माण गर्न गठित उपभोक्ता समितिका उच्च अधिकारी र कर्मचारीको मिलेमतोमा गेट निर्माणमा चरम भ्रष्टाचारको भएको प्रमाण दियोपास्टले फेला पारेको छ ।।
शुरुमा गाउँपालिकाले मत्स्य गेट निर्माणका लागि भन्दै ५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । तर, गाउँपालिका अध्यक्ष बस्नेतको योजनामा निर्माण भएको उपभोक्ता समितिले बजेट नपुग्ने भन्दै थप ६ लाख माग गरेको थियो । उपभोक्ता समिति अध्यक्ष गजुरी २ का काजिमान शाक्य अध्यक्ष हुन ।
सचिव भरत बराकोटी र कोषाध्यक्ष जानुका रावललाई बनाइएको थियो । उनीहरुकै मिलेमतोमा लागत अनुमान, प्राविधिक मुल्यांकन नै सेटिङम तयार भूक्तानी समेत लिइएको पाइएको छ ।
मत्स्य गेट निर्माणमा प्रयोग भएको सामग्री, माछाको मूर्ति र ज्यालामा समेत मानोमानी रुपमा बिल पेश गरिएको छ ।
उपभोक्ता समितिले माछाको मर्ति बनाउन ललितपुरको विद्याधरी हस्तकला सेन्टरलाई छनौट गरेको कागजातबाट देखिन्छ । उक्त कम्पनिले १५ दिनमा ५८ इन्चको करिब २३ किलोग्राम बराबरको माछाको मूर्ति तयार गरेको थियो ।
सामान्यतया तामाको भाउ बजारमा तामाको प्रकृति अनुसार प्रतिकिलो ३ सय रुपैयाँदेखि १४ सय रुपैयाँसम्म पर्न आउँछ । उक्त कम्पनिले माछाको मूर्तिलाई ६ लाख ५० हजारको बिल पेश गरी भूक्तानी लिएको छ । यद्धपी गाउँपालिकाकै उच्च अधिकारी र उपभोक्ता समितिको मिलेमतोमा यस्तो बिल बनाइएको आरोप छ ।
हामीले उक्त माछाको मूर्तिको तस्विर ललितपुरकै एक बरिष्ठ हस्तकला व्यावसायीलाई देखायौँ । उनले उक्त माछाको प्रतिमा न्युनतम एकलाख रुपैयाँदेखि ढेडलाख रुपैयाँमा तयार पारिदिने बताए ।
‘म ५८ इन्चको होइन ७० इन्चको माछाको मूर्ति तपाईंले भनेकै डिजाइनमा एक लाख रुपैयाँ देखि डेढलाख रुपैयाँसम्म तयार पारिदिन्छु,’ विगन १० वर्षदेखि हस्तकला व्यावसायमा रहेका उनले भने,‘यति धेरै महँगो बिल त नहुनुपर्ने हो कसरी यस्तो बनाइएको हो मलाई चाहीँ मिलेमतोमा बिल तयार पारे जस्तो लाग्छ ।’
त्यसो त विद्याधरी हस्तकलाले गाउँपालिकामा रकम भुक्तानीका लागि भ्याट बिल समेत पेश गरेको छैन । गाउँपालिकाले उपभोक्ता समितिले पालना गर्नुपर्ने शर्तमै २० हजार रुपैयाँ भन्दा माथिको सामग्री खरिदमा भ्याट बिल अनिवार्य गरेको छ । तर, ६ लाख ५० हजार रुपैयाँको मूर्ति बनाउने कम्पनिभने भ्याटमै दर्ता नभएको पाइएको छ ।
भ्याट बिल नै नभएको कम्पनिलाई गाउँपालिकाले कसरी भूक्तानी दियो ? त्यो भने रहस्यकै विषय छ ।
उपभोक्ता समितिले गजुरीमा रहेको धादिङ मार्बल एण्ड सप्लायर्स नामक कम्पनिबाट मार्बल खरिद गरेको बिल पेश गरेको छ । बिल अनुसार ९० स्क्वायर मिटरको मार्बल स्ल्याब प्रयोग गरिएको छ ।
उक्त मार्बल स्ल्याबको मुल्य प्रति स्क्वायर फिट ८० रुपैयाँदेखि १ सय ९५ रुपैयाँसम्म पर्न आउँछ । उक्त सप्लायर्सको नाममा तयार पारिएको बिलमा प्रति स्क्वायर मिटर ६ सय ७८ रुपैयाँ उल्लेख गरिएको छ । ६० हजार एक सय २९ रुपैयाँको मार्बल र २९ हजार ३ सय २८ रुपैयाँको टाइल्स गरी एक लाख १ हजार ८६ रुपैयाँको बिल सप्लायर्सले पेश गरेको देखिन्छ । ९० स्क्वायर मिटर भनेको ९ सय ७९ स्क्वायर फिट मार्बल हो । उक्त गेटमा त्यति मार्बल नै प्रयोग नभएको स्रोत बताउँछ । न्युनतम २ सय देखि ३ सय स्क्वायर फिट मार्बल प्रयोग गरेर बिलमा भने बढि देखाइएको गाउँपालिका स्रोत बताउँछ ।
दियोपोस्टको सम्पर्कमा आएका उक्त सप्लायर्सका सञ्चालक सुजन रोकाले आफूले भ्याटमा मिलाउन यस्तो बिल तयार पारेको बताए । यद्धपी परिमाण र मुल्यको विषयमा भने उनले गञ्जागोल उत्तर दिए ।
उपभोक्ता समितिले पेश गरेको बिलमा ५५ बोरा सिमेन्ट किनेको उल्लेख छ । तर, यतिका सिमेन्ट समेत नलागेको निर्माण कार्यमा समलग्न एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
हामीलाई माछाको मूर्ति बनाउनेले ठग्यो : सचिव बराकोटी
मत्स्य गेट निर्माण समितिका सचिव हुन् गजुरी २ मलेखुकै भरत बराकोटी । बराकोटीका अनुसार उनैले निर्माणदेखि सबै काम गरेका थिए । उनै बराकोटीलाई दियोपोस्टले सम्पर्क गरेको थियो ।
‘मैले नै सबै काम गरेको हुँ । हामीलाई अलिकति माछावालाले ठग्यो हेर्नुस् । यसको विषयमा हामीलाई अनुभव पनि थिएन । लकडाउनका कारण हामी काठमाडौं जान पाएनौँ । त्यो माछा फिर्ता लैजाने विषयमा विद्याधरी हस्तकलासँग हाम्रो कुरा भइरहेको छ । तैले हामीलाई ठगिस् । तेरो कम्पनिलाई मुद्दा हाल्छु भनेको छु । सानो बनाइदिएर ठग्यो । क्याँस पैसा ६ लाख १० हजार रुपैयाँ दिएको भौचर मैसँग छ,’ बराकोटीले भने,‘हाम्रो कमजोरी त्यो सम्बन्धी अनुभव हो । हामीले मन्त्रीज्यूलाई भनेपछि त्यो हस्तकला कम्पनिले सहज भएपछि फूकालेर ल्याउनुस् कलर गर्दिन्छु । आकार पनि बढाइदिन्छु भनेको छ । पखेटा हाल्न मिस्टेक भएछ त्यो पनि हाल्छु भनेर कमिटमेन्ट गरेको छ । हामीलाई त्यसले ठगेको हो ।’
बराकोटीको भनाई अनुसार मिलेमतोमै लागत भन्दा बढि बिल पेश भएको पुष्टि हुन्छ । यद्धपी उनले उक्त स्तम्भमा आफ्नो २९ हजार रुपैयाँ बढी आफूले खर्च गरेको दाबी गरे । बिलमा लेखिएको विषयमा प्रश्न गर्दा उनले स्पष्ट उत्तर दिन सकेनन् ।
कार्यसम्पन्न प्रतिबेदन नै मिलेमतोमा तयार !
बराकोटीको भनाई अनुसार माछा निर्माणमा निर्माण कम्पनिले ठगी गरेको छ । तर, यस्तो अवस्थामा कसरी कार्यसम्पन्न प्रतिबेदन तयार भयो र भूक्तानी दिइयो ? भन्ने प्रश्न उठेको छ ।
गत असार २९ गते बसेको गाउँपालिकाकै उपाध्यक्ष सिता ढुंगाना नेतृत्वको अनुगमन समितिको बैठकले यथार्थ प्राविधिक मुल्यांकनको आधार मात्रै भुक्तानी गर्न भनेको छ ।
उक्त अनुगमन प्रतिबेदनमा गाउँपालिकाको बजेट किताबमा भएको रकम भुक्तानी गर्नु भनिएको छ । जुन किताबमा ५ लाख रुपैयाँ मात्रै छुट्याइएको थियो । तर, गाउँपालिका अध्यक्षको निर्देशनमा बजेट र लागत अनुमान नै बढाइएको खुलेको छ । जसमा फर्निसिङको बजेट रकमानान्तर गरेर भुक्तानी दिइसकेको छ ।
निर्माण कम्पनिले भन्यो,‘६ लाख १० हजारमा तयार भएको हो बिल चाहीँ बढिको बनाइएको हो’
माछाको प्रतिमा बनाउने कम्पनि विद्याधरी हस्तकलाका सञ्चालक अनिस महर्जनले आफूहरुले ६ लाख १० हजार रुपैयाँमा भनेको भन्दा ठूलो साइजको माछोको प्रतिमा तयार पारेको बताए । यद्धपी सचिव भरत बराकोटीले उक्त रकम भन्दा बढीको बिल बनाउन भनेका कारण ६ लाख ५० हजार रुपैयाँको बिल बनाइएको उनले बताए ।
आफूमाथि उपभोक्ता समितिले ठगीको आरोप उनले अस्विकार गरे । ‘उहाँले हामीलाई डिजाइन दिनु भयो । त्यो अनुसार नै गरेको हो । पैसा पनि पहिला नै फिक्स भएको हो । उहाँले ५७ इन्चको भन्नुभएको थियो । मैले दाई सानो हुन्छ भनेर ७ देखि ८ इन्च बढाएर बनाएको छु,’ उनले भने,‘६ लाख १० हजार रुपैयाँ लिएको हो । खै किन हो उहाँले बिलमा चाहीँ ६ लाख ५० हजार बनाउन भन्नु भएको रहेछ । किन हो हामीलाई थाहा भएन ।’
सरकारले हस्तकलालाई भ्याटमा छूट दिएको कारण आफूहरुले भ्याट बिल पेश नगरेको उनले बताए ।
मत्स्य गेट अनावरणमा गाउँपालिका अध्यक्ष नै !
गेट निर्माणमा चरम अनियमितता भएको माछाको प्रतिमामै घोटाला भएको भएपनि गाउँपालिका अध्यक्ष बस्नेतले अनावरण गरिसकेका छन् ।
जबकी उक्त कार्यक्रममा एउटै माछाको प्रतिमाको साढे ६ लाख रुपैयाँ परेको भन्दै सामाजिक सञ्जालमा खिल्ली नै उडाइएको थियो । ‘हाम्रो मलेखु, राम्रो मलेखु, मलेखुको सान, माछाको पहिचान’ भन्ने श्लोगान सहितको ब्यानरमा अध्यक्ष बस्नेतले गत साउन १० गते नै गेटको अनावरण गरेका थिए ।
यद्धपी गाउँपालिका अध्यक्ष बस्नेतले भने उपाध्यक्ष नेतृत्वको अनुमन समितिलाई दोष दिए । ‘म अनावरण गर्न गएको हुँ । तर मलाई अनियमितता भएको कुरा थाहा छैन । उपाध्यक्षज्युले त्यसको अनुगमन गर्ने हो । अनि भुक्तानी दिने हो,’ उनले भने,‘समितिको अध्यक्षलाई मैले हिजो फोन गरेर सोधेको छु । उहाँ अफिसमा आउँछु भन्नु भएको छ । मलाई जानकारी भएको हो ।’
अनुगमन समितिले भने यथार्थ प्राविधिक मुल्यांकनपछि मात्रै भुक्तानी दिनु भन्ने निर्णय गरेको थियो । तर, समितिको यो निर्णयलाई नै बाइपास गरेर कसरी भुक्तानी दिइयो भन्ने दियोपोस्टको प्रश्नमा उनले भने,‘संघीयताकै कुरा गर्ने हो भने चेक हामीकोमा आउँदैन । वडाले अनुगमन गर्ने, प्राविधिकले मुल्यांकन गर्ने र उपाध्यक्षको नेतृत्वको समितिले अनुगमन गरेपछि भुक्तानी हुनुपर्छ ।’
अनियमितता नै भएको भए कारबाही प्रक्रिया अघि बढाउने समेत उनले बताए । तर, निर्णय प्रक्रियामा आफै समलग्न भएका बस्नेतले कसलाई कारबाही गर्ने हुन् त्यो भने समयले बताउला । किनभने बस्नेतकै आदेशमा रमानान्तर भएको प्रमाण दियोपोस्टले फेला पारेको छ ।