फणिन्द्र नेपालले कब्जा गरेको नरेश न्यौपानेको घर प्रशासनको सहयोगमा खाली !

diyopost.com
दियो पोस्ट  सोमबार, भाद्र २१, २०७८ | १३:२३:१४

काठमाडौं, २१ भदौ । ग्रेटर नेपालको आवरणमा घरबेटीलाई पीडित बनाउँदै आएका फणिन्द्र नेपालले सञ्चालन गरेको स्कुलमा नगर प्रहरीले डोजर लगाएको छ ।

घरबेटी नरेश न्यौपानेलाई भाडा समेत नदिई घर कब्जा गरेर इडेन पब्लिक स्कुल खाली गराउन जिल्ला अदालत, काठमाडौं महानगरपालिकाको न्यायीक समितिले पटक पटक आदेश दिएको थियो ।

नेपाल दम्पत्तिले २०७२ साउन १ गतेदेखि भाडामा लिएपनि २ वर्षपछि भाडा तिर्न अस्विकार गर्दै आएका थिए ।

न्यौपानेले पटक–पटक घरभाडाका लागि पहल गर्दा समेत उनीहरुले नतिरेपछि अन्ततः यो मुद्दा स्थानीय सरकार हुँदै अदालतसम्म पुगेको थियो ।

मिति २०७५ मंसिर १३ गते काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोलको उपस्थितिमा रोहिका नेपाल र नरेश न्यौपानेबीच २०७५ साल चैत मसान्तभित्र घर खाली गर्ने र त्यसबेलासम्मको घर भाडा वापतको रकम २१ लाख ५० हजार तिर्ने सम्झौता भएको थियो ।

तर, चैत मसान्तसम्म पनि उनीहरुले भाडा तिर्नु त परको कुरा घर खाली पनि गरेनन् । न्यौपानेको घर हडपेर बसेका नेपाल दम्पत्तिले उल्टै अदालतमा मुद्दा हालेका थिए ।


वडा कार्यालय, काठमाडौं महानगरपालिका हुँदै अदालत पुगेको उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले २०७७ माघ २० गते बाँकी बक्यौता चुक्ता गरी घर खाली गर्न आदेश दिएको थियो ।

त्यसअघि २०७६ मंसिर २३ गते काठमाडौं महानगरपालिकाले नेपाल दम्पत्तिले घरभाडा नतिरेको प्रष्ट हुन आएको भन्दै प्रहरीको सहयोगमा घर खाली गरी जानकारी गराउन रोहिका नेपाल(प्रिन्सिपल इडेन पब्लिक स्कुल) लाई पत्र काटेको थियो ।


तर, उनीहरुले पटकपटकको ताकेता पश्चात पनि घर खाली नगरेपछि प्रशासनको सहयोगमा आइतबार घर खाली गरिएको हो ।

सम्बन्धित खबर