यी हुन् संसदमा मर्यादा पालकको पाखुरा टोक्ने एमाले सांसद (बयानसहित)

diyopost.com
दियो पोस्ट  आइतबार, भाद्र २७, २०७८ | ०:०२:२५

काठमाडौं, २६ भदौ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा मर्यादा पालकलाई टोक्ने नेकपा एमालेको सांसदको पहिचना भएको छ । उनी बाजुराबाट नेकपा एमालेबाट निर्वाचित सांसद लाल बहादुर थापा रहेको पाइएको छ ।


उनले शुक्रबार प्रतिनिधि सभा बैठकमा मर्यादा पालकलाई टोक्दै गरेको तस्विर फेला परेपनि पहिचान भने हुन सकेको थिएन । संसद सचिवालय स्रोतका अनुसार थापाले एक मर्यादा पालकको पाखुरामा टोकेका थिए । उनी हाप कोट र सर्ट लगाएर प्रतिनिधि सभा बैठकमा प्रवेश गरेको भिडियोमा देख्न सकिन्छ ।

शुक्रबारको बैठकमा महेश बस्नेत, निरु पाल लगायत पूर्व युवा संघका नेताहरुले चर्को नाराबाजी गरेका थिए । ती मध्ये थापाले भने मर्यादा पालकलाई अपशब्द बोल्ने काम गरेको एक मर्यादा पालकले दियोपोस्टलाई बताए । उनले रोस्टम अगाडी सुरक्षामा बसेका मर्यादा पालकलाई अपशब्द बोल्दै पछि हट्दै गरेको ती मर्यादा पालकको भनाई छ ।


सांसद थापा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्न लागेपछि भने मर्यादा पालकको पाखुरामा टोकेको ती मर्यादा पालकको भनाई छ । सांसद थापाको टोकाईबाट पाखुरामा गम्भिर चोट लागेपनि कोटका कारण जोगिएको ती मर्यादा पालकले बताए ।


सभामुख अग्नि सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेको भन्दै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । पाखुरामा टोकेको विषयमा सांसद थापालाई सम्पर्क गर्दा उनले ती मर्यादा पालकलाई चिनाइदिन र भेटेरै छलफल गर्ने बताए ।


‘हामीले एक जना मान्छेलाई माथि चढाउन खोजेका थियौँ । उसले (मर्यादा पालकले) माननीयको ब्याचमै समातेर उ गर्यो । लकेटमा समात्ने हो भन्दै मैले उसको हात खोसेको हो । म दाँतले टोक्छु ? कस्तो कुरा गरेको हो ?,’ दियोपोस्टसँगको कुराकानीमा थापाले भने,‘नजिकै थियो । पछाडी बाटा फोटो खिच्दा त्यस्तो देखिएको होला । क्यामेराको कमाल होला ।’


आफूले उक्त मर्यादा पालकलाई नचिनेको समेत थापाले बताए ।


‘ती मान्छे को हुन् मैले ती मर्यादा पालकलाई चिन्दा पनि चिन्दिनँ । उसले अहिले यसो गर्यो उसो गर्यो भन्दै मर्यादा भन्दा बाहिर गएको मैले बुझ्छु । त्यो मान्छेको फोटो चाहियो मलाई । त्यसलाई मैले छलफल गराउनुपर्छ कहाँ गराउनुपर्छ,’ थापाको धम्की छ,‘उसले त आफ्नो चेन बनाएर बस्ने हो । उसले माननीयको लकेट समातेपछि मैले आफ्नो मर्यादा भन्दा बाहिर जाने भन्दै हात खोसेँ । पछाडीतिरबाट क्यामेराले उ गर्यो होला । सबैभन्दा बढी प्रजातन्त्रकी लोकतन्त्र भन्ने पत्रकारलाई नै लागेको छ । त्यो मर्यादा पालक को हो त्यसलाई मलाई चिनाउनुस् म के गर्नुपर्छ गर्छु ।’

सम्बन्धित खबर