काठमाडौं, २८ भदौ । पशुपतिनाथ मन्दिरमा रहेको शिवलिङ्गको जलहरीमा भएको ११ किलो सुन गायब प्रकरणमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली समेत मुछिएका छन् ।
जलहरी निर्माणमा सुन घोटला सम्बन्धी समाचार आएपछि पशुपति क्षेत्र विकास कोषले विज्ञप्ति निकालेर तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई मुछिएको हो ।
प्रकाशित समाचारको खण्डन गर्ने नाममा कोषले निकालेको विज्ञप्तिमा ओलीकै निर्देशनमा जलहरी राखिएको बताइएको छ ।
‘श्री पशुपतिनाथको मन्दिरको गर्भगृहमा रहेको शिवलिंगको जलहरी जीर्ण भएकाले कोषको पूर्वनिर्धारित कार्यक्रम अनुसार यस कोषको संरक्षक तथा तत्कािलन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेपाल सरकार तथा कोषको लागतमा स्थापना गरिएको जलहरी पदाधिकारी, मूल भट्ट, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष निगरानीमा सीसी क्यामेराहरु समेत प्रयोग गरि जलहरी निर्माण तथा स्थापना सम्पन्न भएको हो,’ कोषले निकालेको विज्ञप्तीमा भनिएको छ । तर, जलहरीको मुचुल्कामा भने त्यहाँ कार्यरत कुनै पनि सुरक्षा निकायका अधिकारीलाई सहभागी नगराइको आइतबार प्रकाशित कान्तिपुर दैनिकमा खबर छ ।
कोषले २०७७ साल फागुन १२ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट १०८ किलोको सुनको जलहरीको पुजाआजा गरेर उद्घान गरेको थियो । तर, २०७७ फागुन ११ गते राती निर्माण सम्पन्न भएको जलहरी मुचुल्कामा भने ९७ किलो मात्रै कायम गरिएको थियो । स्रोतका अनुसार सुनमा तामा मिसाएर ११ किलो सुन गायब पारिएको थियो ।
कोषले पटक पटक प्रधानमन्त्री ओलीकै निर्देशनमा जलहरी राख्ने काम भएको बताउँदै आएको छ ।
यद्धपी सुन घोटालामा अख्तियारको अनुसन्धानमा रहेका तत्कालिन कोषाध्यक्ष तथा हाल सदस्य सचिव रहेका मिलन कुमार थापाकै मुख्य भूमिका रहेको स्रोतको दाबी । उनको सम्बन्ध तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग अत्यन्त राम्रो रहेको छ ।