
काठमाडौं । तीन पुस्ता नेपालमै जन्मिएर नागरिकता नपाउने धेरै नेपाली छन् । उनीहरुले नागरिकताका लागि लामो संघर्ष गर्दै आएका छन् । नागरिकता सम्बन्धी समस्या समाधाना लागि सरकारले विभिन्न समयमा अध्यादेश मार्फत कानुनै बनाएपनि परम्परागत प्रशासनिक झमेलाका कारण ती नागरिकहरुले नेपाली नागरिकता पाउन सकेका छैनन् । तर, नेपालमा जन्म नभएका भारतीय सहरबाट नेपालमा आई विभिन्न विवादास्पद धन्दा गर्ने व्यक्तिहरुले सहजै नेपाली नागरिकता मात्रै लिएका छैनन् सोही नागरिकता देखाएर यहाँ बैध अवैध दुवै धन्दा गरिरहेका छन् । नक्कली बाबु बनाएर उनीहरुले नागरिकता मात्रै लिएका छैनन् सोही नागरिकता प्रयोग गरेर नेपालमा कम्पनि चलाई अर्बौंको कारोबार गरिरहेका छन् । यसरी झूटो विवरण दिएर नागरिकता बनाएको आरोप लागेका व्यक्ति हुन् —भारत घर भएका पवन कुमार साह ।

उनी तेली साह हुन् । तर, उनले नेपालमा ठकुरी शाह वंशीय कुलबाट जन्म भएको नेपाली बंशजको नागरिकता लिन सफल भएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटबाट उनले नक्कली बाबु बनाएर २०५२ साल मंसिर ७ गते नेपाली नागरिकता लिएको देखिन्छ । नागरिकता प्रमाण पत्र १७२९ रहेको सोही नागरिकता प्रयोग गरि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दोस्रो प्रतिलिलपी समेत निकालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता दिने अधिकारीको नाम उनको नागरिकतामा देखिँदैन । किनकी नागरिकता सम्बन्धी ऐन २०६३ को दफा २१ को उपदफा १ मा नागरिकता दिने अधिकारीलाई पनि ६ महिनादेखि ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सोही ऐनका कारण त्रसित कर्मचारीले नागरिकता दिने अधिकारीको नाम नै राखेको देखिँदैन । गृहमन्त्रलयको रेकर्ड अनुसार जारी गर्ने अधिकारीमा भने सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा उल्लेख छ ।
नागरिकतामा छैन बाबुको विवरण
यस्तै २०३२ साल मंसिर ६ गते जन्मिएको उल्लेखित यो नागरिकताको बाबुको नाम रघुनाथ प्रसाद शाह छ । रौतहटको चन्द्रनिगाहपुर वडा नम्बर ६ स्थायी घर भनिए पनि पवनकुमार त्यहाँ जन्मिएका होइनन् । उनको बाबुको नागरिकता प्रमाण पत्र समेत त्यहाँ उल्लेख छैन । पवनको जन्मस्थल र नागरिकताबारे जिज्ञासा राख्दा उनको प्रतिक्रियाले नै समाचारलाई पुष्टि गर्छ । उनले आफूहरु ३० वर्षदेखि नेपालमा बस्दै आएका बताए । तर, उनको नागरिकतामै उल्लेख भएको जन्ममिति अनुसार उनी अहिले ४९ वर्षका भए । ३० वर्षभन्दा अघि १९ वर्षसम्म उनी नेपालमै नरहेको र नेपालमै नजन्मिएको उनकै प्रतिक्रियाले समेत पुष्टि हुन्छ । त्यतिमात्रै होइन आफ्नो नागरिकताबारे विभिन्न समयमा छानबीन भएको समेत उनले बताए । तर, ती छानबीनमा के कारबाही भयो भनि दियोपोस्टले प्रतिक्रियाका क्रममा निर्णयको कागजात माग्दा उनले दिन समेत सकेनन् । स्रोतका अनुसार नागरिकता सम्बन्धी छानबीन हुँदा भक्तपुर घर भएका बस्नेत थरका एक बिचौलियाले सेटिङ गरेर उनलाई उन्मुक्ति दिलाउन सफल भएका थिए । त्यतिबेला बस्नेतले ठूलो आर्थिक लाभ शाहबाट लिएको आरोप छ ।

नक्कली बाबु बनाई नागरिकता बनाउने गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पक्राउ गर्दै आएको छ । केहीदिन अघि नक्कली बाबु बनाएर जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी भएको नागरिकताका आधारमा तिब्बतीयन नागरिक सोनाम तामाङसहित ५ जनालाई पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा जिल्ला प्रशासन कार्यालय धादिङका कर्मचारी कृष्ण प्रसाद रिजाललाई समेत पक्राउ गरेको छ । साहको पनि प्रहरीले अनुसन्धान गरे उनीसहित जारी गर्ने कर्मचारी समेत पक्राउ पर्ने र अनुसन्धानमा आउन सक्नेछन् ।
जिबि राईको सम्पत्ति पवन कुमार साहको नाममा
सहकारी ठगी प्रकरणमा प्रहरीको फरार सुचीमा रहेका गोर्खा मिडिया नेटवर्कका मालिक गितेन्द्र बाबु राईले खरिद गरेको केही जग्गा जमिन यीनै साहको नाममा रहेको पाइएको छ । ललितपुरको भैँसेपाटीमा करिब २३ रोपनी जग्गा मध्ये ३ रोपनी जग्गा साहको नाममा रहेको चेनी क्यापिटलमा राखिएको छ । जबकी यो कम्पनिको खाता र कारोबार अहिले रोक्का रहेको अवस्था छ । २०७९ भदौ १ गते बाजेको सेकुवाका मालिक समेत रहेका चेतन भण्डारी र विवादास्पद भारतीय नागरिक भएपनि नेपाली नागरिक लिन पवन कुमार साहको नाममा रहेको चेनी क्यापिटलको नाममा यो जग्गा नामसारी भएको हो । ललितपुरको सैँबुको २३ रोपनी ७ आना जग्गा मध्ये ३ रोपनी ४७ आना जग्गा धितो राखी २०७९ भदौ १४ गते हिमालयन बैंक न्युरोड शाखाबाट १६ करोड ८० लाख ऋण समेत प्रबाह भएको छ । करिब ३ रोपनी जग्गाको मुल्यांकन ५० करोड हाराहारी गरिएको छ । यो प्रकरणमा बैंक समेत मुछिएको छ । भारतीय मूलका नक्कली बाबु बनाएर नेपाली नागरिकता लिएका व्यक्तिलाई बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर राणाको रहस्यमयी साँठगाँठ देखिएको छ ।