काठमडौं । विभिन्न विभागका विभागीय प्रमुखको जिम्मेवारी हेरफेरको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र लफडा भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले खल्तीबाट नाम निकालेर नयाँ विभागीय प्रमुख तोकिदिएपछि पार्टीका अरु नेताहरु असन्तुष्ट बनेका हुन् । अध्यक्ष लिङ्देनले एकलौटी ढंगले विभागीय जिम्मेवारी हेरफेर गरेको भन्दै अरु नेताहरुले सामाजिक संजालमार्फत नै विरोध जनाइरहेका छन् । उनीहरुले पार्टी नेतृत्वको यो कदम मान्य नहुने भनिरहेका छन् ।
पार्टीका अरु नेताहरुले चर्को असन्तुष्टि जनाएपछि प्रवक्ता मोहन कुमार श्रेष्ठले अध्यक्षलाई पार्टीको विधानले दिएको अधिकार अनुसार जिम्मेवारी हेरफेर भएकोले विरोध गर्नुको कुनै तुक नरहेको भनेका छन् । उनले लेखेका छन्, ‘विभाग प्रमुख मात्रै होइन विभागका सदस्यहरुको समेत मनोनयन अध्यक्षले गर्ने प्रावधान छ र हाम्रो विगतदेखिको अभ्यास पनि यहि छ । पार्टीका जिम्मेवार नेताहरुले आफ्नो असहमति फेसबुकमा राख्ने कामले पार्टीको हित गर्दैन ।’
अध्यक्ष लिङ्देनले स्थानीय तह परिचालन विभाग प्रमुखमा पार्टीका वरीष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रदान, राजनीतिक विभाग प्रमुखमा वरीष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, पर्यटन विभाग प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद व्यवस्थापन विभाग प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटवाल र लेखा समिति प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई तोकिएको छ ।
यस्तै संगठन विभाग प्रमुखमा पार्टीका वरीष्ठ उपाध्यक्ष वुद्धिमान तामाङ तोकिएका छन् । यसअघि यो विभाग प्रमुखको जिम्मेवारीमा धवल शमशेर राणा थिए । अहिले उनलाई कुनै पनि विभागको जिम्मेवारी दिइएको छैन । धवल शमशेर राणाको संगठन विभाग प्रमुखको जिम्मेवारी खोसेर अध्यक्ष लिङ्देनले उनलाई कुनै पनि जिम्मेवारी नदिएकोमा राप्रपा नेतृ एवम् अभिनेतृ रेखा थापालेसमेत चर्को विरोध जनाएकी छिन् । उनले अध्यक्ष लिङ्देनलाई पाढेपजनीको आरोप लगाएकी छिन् ।
उनले लेखेकी छिन्, ‘जसले यो ठाउँमा पुर्याउन भुमिका खेल्यो, उहीँ माथी अमानवीय बर्बर आक्रमण, तल्लोस्तरको व्यबहार । यो सुन्दा, देख्दा र पढ्दा पनि हाँसोलाग्दो अनि आश्चर्यजनक छ । विधि, पद्धति र प्रणाली विपरित मनोमानी ढंगबाट भएको पाढेपजनी अस्वीकार्य छ । अतिले खति हुन्छ ।’

अध्यक्ष लिङदेनसँग रेखाले बेलाबखत असन्तुष्टि पोख्दै आइरहेकी छिन् । यो पटकको जिम्मेवारी हेरफेरका क्रममा धवलशमशेरको जिम्मेवारी खोसिएपछि रेखाले सामाजिक संजालमार्फत चर्को विरोध जनाएकी हुन् ।