
धादिङ । काठमाडौंदेखि धादिङ र धादिङदेखि काठमाडौं यात्रामा आउने सर्वसाधरणमाथि यातयात कम्पनिहरुले चरम ठगी गर्दै आएका छन् । यसरी ठगी गर्नेमा धादिङमा रहेको ग्रामिण यातयात सहकारीद्वारा संचालित यातयातहरु अत्याधिक देखिएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङले अनुगमनका क्रममा यस्तो भेटेपछि ग्रामिण यातयातलाई कारबाही गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र प्रहरी प्रमुख एसपी दिपेन्द्र शाहीसहितको नेतृत्वमा भएको अनुगमनमा चर्को भाडा असुली गर्ने र सवारी साधन समेत ठीक अवस्थामा चलाएको नपाइएपछि कारबाही गरिएको हो ।
बागमती प्रदेश सरकारले तोकेको भाडादरभन्दा बढी भाडा असुली गरेको पाइएपछि अनुगमन समितिले कारबाही गरेको हो । जिल्लास्थित उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको धादिङ कार्यालयले अनुगमन गरिरहेको छ ।
ग्रामिण सहकारीद्वारा संचालित बागमती प्रदेश ०३—००१ज—०७२६ को इलेक्ट्रिक माइक्रोले तोकिएको भन्दा बढी भाडा लिएपछि ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । त्यस्तै गाडी सरसफाई नै नगरी तोकिएको भन्दा बढी भाडा लिने ग्रामिण यातयात सहकारीद्वारा संचालित बा ०३—००१ ज ०८१० नम्बरको माइक्रोलाई पनि ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । पृथ्वी राजमार्गमा संचालित ग १ ख ५३९५ नम्बरको माइक्रोले पनि सिट क्षमताभन्दा बढी भाडा असुलेको पाइएपछि ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
मालिका यातयात लेखिएको प्रदेश ०३—०३—००१ ख ०१३८ नम्बरको बसलाई पनि ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यो गाडी काठमाडौंबाट धनगढी जाँदै थियो । तोकिएको भन्दा बढी भाडा असल्ने ग्रामिण सहकारीद्वारा संचालित प्रदेश ०३—००१ ज ०६३५ नम्बरको गाडीलाई पनि तोकिएको भन्दा बढी भाडा लिएको सरसफाई नभएको आरोपमा ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
होटललाई पनि कारबाही
त्यस्तै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको समुहले जिल्लाको राजमार्ग क्षेत्रमा विभिन्न होटलमाथि समेत कारबाही गरेको छ । जिल्लाको गल्छी गाउँपालिका ७ मा रहेको अल कान्तिपुर थकाली किचेन एण्ड लजका संचालक भवानी अर्याल भण्डारीलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त होटलले तोकिएको भन्दा बढी मुल्यमा सामग्री विक्री गरेको, मिनिरल पानीको बोटलमा बाहिरको पानी हालेर विक्री गरेको, किचन सरसफाई नगरेको, मुल्यसुची नराखेको भन्दै जरिवाना गरिएको हो । गजुरी ६ स्थित रहेको विग जोन होटल एण्ड लजकी संचालक मञ्जु घलेलाई पनि २० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त होटलले पनि तोकिएको भन्दा बढी मुल्य लिने, किचन भने सरसफाई नगर्ने, झ्यालमा जाली नहाल्ने, खानेकुरा खुल्ला राख्ने गरेको पाइएको छ । जरिवाना गरिएको पत्रमा प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी प्रमुख शाह लगायतले हस्ताक्षर गरेका छन् ।