काठमाडौँ, कात्तिक ८ । ब्रेन ट्युमरलाई आजभोलि सामान्य रूपमा लिन थालिएको छ । अर्थात् समाजमा ब्रेन ट्युमरबाट धेरैजना पीडित भएको सुन्न पाइन्छ । ब्रेन ट्युमर मस्तिष्कमा मासु पलाउने एक खतरनाक रोग हो । तर, समयमै उपचार भएमा यो निको हुन सक्छ । विशेषगरी, ब्रेन ट्युमर भएमा मस्तिष्कको एउटा कोषिका वा अन्य धेरै कोषिकाहरू असामान्य रूपमा बढ्न थाल्छन् । जसका कारण अन्य कोषिकामा प्रत्यक्ष असर पर्न थाल्छ ।
ब्रेन ट्युमरको खास कुनै कारण हुँदैन । ब्रेन ट्युमर वंशाणुगत कारणले पनि हुन सक्छ भने कुनै रेडिएसनमा एक्सपोज हुनाले पनि हुन सक्छ । कतिपय अवस्थामा मानिसलाई ब्रेन ट्युमर भएकोसमेत थाहा हुँदैन । ब्रेन ट्युमरका विभिन्न लक्षण हुन्छन् :
टाउको दुख्नु
टाउको दुख्नु ब्रेन ट्युमरको पहिलो र सामान्य लक्षण हो । सुरुसुरुमा टाउको दुख्ने समस्या बिहानको समयमा बढी हुने गर्दछ र पछि लगातार रूपमा हुने गर्दछ । कतिपय अवस्थामा अत्यधिक दुखाइका कारण मानिसले आफ्नो मानसिक सन्तुलन पनि गुमाउन सक्छ ।
स्मरणशक्ति कमजोर हुनु
स्मरणशक्ति कमजोर हुनु पनि ब्रेन ट्युमरको प्रमुख लक्षण हो । अस्वाभाविक रूपमा सामान्य कुरा पनि बिर्सने बानी भएमा ब्रेन ट्युमर भएको हुन सक्छ । यस्तो अवस्थामा चिकित्सककहाँ गएर सल्लाह लिनु आवश्यक हुन्छ ।
स्वभावमा असामान्य परिवर्तन
मानिसको स्वभावमा अनौठो तरिकाले परिवर्तन आउनु ब्रेन ट्युमरको लक्षण हुन सक्छ । बोल्न, सुन्न, खानमा कठिनाइ महसुस हुनु पनि यसको लक्षण हो ।
कमजोर महसुस हुनु
मस्तिष्कका कोषिकाहरूमा ट्युमर पलाउन थालेपछि मानिसको सम्झने शक्ति क्षीण हुँदै जान्छ । लगातार टाउको दुखिरहने भएकाले सम्पूर्ण कोषिकाहरू प्रभावित हुन पुग्छन् । शरीरमा थकान महसुस हुन्छ ।
बान्ता हुनु
ब्रेन ट्युमर हुँदा धेरैलाई बान्ता हुने समस्या देखिन्छ । यस्तो समस्या बिहानको समयमा बढी हुन्छ । जब मानिस हिँडडुल गर्न थाल्छ तब बान्ता हुन सक्छ ।
उपचार
ब्रेन ट्युमरको उपचार पद्धति शल्यक्रिया हो । मस्तिष्कमा अनावश्यक रूपमा पलाउने मासुलाई काटेर फालेमा मात्र यो रोग पूर्ण रूपमा निको हुन्छ । यसबाहेक किमोथेरापी, रेडिएसनथेरापी पद्धतिबाट पनि ब्रेन ट्युमरको उपचार गर्न सकिन्छ । नयाँ पत्रिकाबाट