दियोपोस्ट संवाददाता,
धादिङ, १५ असोज । धादिङवेशीको सर्वसाधरणलाई खानेपानी वितरण गर्दै आएको धादिङवेशी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिमाथि निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले हस्तक्षेप गरेका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित मेयर ढुंगानाले खानेपानी उपभोक्ता समितिमा समेत राजनीतिक हस्तक्षेप गरेको भन्दै चौतर्फी विरोध भएको पाइएको छ । ढुङ्गानाको निर्देशनमा नगरपालिकाले खानेपानी उपभोक्ता तथा सरसफाई समिति नै गैरकानुनी रुपमा विघठन गरिदिएको पाइएको छ ।
गत असोज ११ गते नगरपालिकाले उपभोक्ता समिति विगठन गर्ने धम्की दिँदै पत्राचार गरेको पाइएको छ । उक्त पत्र अनुसार नगरपालिकाले ६ दिन भित्र उपभोक्ता समिति विघटन गरि तदर्थ समिति बनाउन सक्ने धम्की दिएको थियो । उक्त पत्रको जवाफ दिँदै धादिङवेशी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिले नगरपालिकाले जलस्रोत नीतिको उलंघन गरेको घुमाउरो तरिकाले आरोप लगाएको छ ।
नगरपालिकाले नेपाल सरकारले जारी गरेको जलस्रोत ऐन २०४९ लाई समेत उलंघन गरेको पाइएको छ । देशै भर रहेका खानेपानी उपभोक्ता सरसफाई समितिहरु जिल्ला जलस्रोत समिति मार्फत दर्ता भएका हुन् । तर, नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले राजीतिक प्रतिशोधका आधारमा आफूलाई कानुनले नै नदिएको अधिकार प्रयोग गर्दै उपभोक्ता समिति विघटन गरेको आरोप छ ।
केन्द्र सरकारलाई कर तथा राजश्व बुझाउँदै आएको यो समितिलाई मेयर ढुंगानाले आफू अनुकुल प्रयोग गर्न नपाएपछि यस्तो पत्र पठाइएको आरोप छ ।