काठमाडौं, २४ असोज । राजधानीको धापासीमा रहेको त्रियोग उच्च माध्यमिक विद्यालयले अभिभावकहरुलाई कोरोना महामारीबीच विद्यालय नै नखुलेको समयको समेत शुल्क बुझाउन धम्की दिएको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीका ज्वाइँ उमेश थापाद्वारा सञ्चालित उक्त विद्यालयले अभिभावकहरुलाई चर्को शुल्क असुली गरिरहेको पाइएको हो ।
शक्तिको आडमा उक्त विद्यालयले अभिभावकलाई अनलाइन कक्षाको मासिक शुल्क ७ हजार रुपैयाँभन्दा बढी असुल्दै आएको पाइएको छ । कक्षा केजीदेखि ५ सम्मका विद्यार्थीका अभिभावकलाई समेत अनलाइन कक्षाको नाममा त्रियोग विद्यालयले मासिक ७ हजार २ सय १५ रुपैयाँ बुझाउन धम्कीपूर्ण सन्देश दिएको छ ।
अभिभावकहरुलाई त्रियोग विद्यालयको खाता प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा रकम पठाउन उर्दी जारी गरेको पाइएको छ । इसेवा र खल्ती नामक अनलाइन माध्यमबाट समेत उक्त रकम पठाउन उपभोक्तालाई उर्दी गरिएको छ । प्रधानाध्यापक निलाद्रि परियालको नामबाट पठाइएको पत्रमा जेष्ठ र असार महिनाको शुल्क १४ हजार ४ सय ३० रुपैयाँ तिर्न भनिएको छ । जबकी उक्त महिनाभर विद्यालयले कक्षा समेत लिएको थिएन ।
श्रावण महिनामा भने विभिन्न शिर्षक राखेर १२ हजार भन्दा बढी रुपैयाँ अभिभावकबाट असुल गरिएको छ । सरकारले भदौ देखि मात्रै अनलाइन कक्षाको माध्यमबाट विद्यार्थीलाई पठन पाठन गराउन भनेको थियो । तर, त्रियोगले भने त्यसअघि नपढाएको समयको समेत शुल्क लिँदै आएको छ । ‘अनलाइन कक्षा नै नभएको समयको पनि हामीले पैसा तिरेका छौँ । ट्युसन फिको नाममा मात्रै मासिक २ हजार रुपैयाँ भन्दा बढी असुल गरिएको छ,’ एक अभिभावक भन्छन्,‘सञ्चालक राष्ट्रपतिका ज्वाईँ पर्नु भयो । कसले कारबाही गर्ला र ?’
उक्त विद्यालयले को–करिकुलरको नाममा मासिक ३४ सय १० रुपैयाँ असुल गर्दै आएको छ । त्यस्तै प्रोग्रेसिभ इन्टिग्रेटेड लर्निङको नाममा मासिक ४४ सय रुपैयाँ असुल गर्दै आएको छ । ट्युसन फिको नाममा २३ सय ६३ रुपैयाँ अभिभावकले तिरेका छन् । कन्भेयान्सको नाममा २७ सय ५० रुपैयाँ असुल गरिएको छ ।
विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयले शुरुमा अनलाइनको माध्यमबाट हुने कक्षाको नाममा शुल्न उठाउन प्रतिबन्ध लगाएको थियो । तर, नीजि शैक्षिक माफियाहरुको दबावपछि शिक्षा मन्त्री गिरिराजमणी पोखरेल घुँडा टेक्न बाध्य भएका थिए ।
उनले केही दिनअघि मात्रै अनलाइनका माध्यमबाट हुने पठन पाठनको शुल्क उठाउन पाइने घोषणा गरेका थिए । अनलाइनबाट हुने पठनपाठनको शुल्क लिनका लागि स्थानिय निकायसँग सहकार्य गर्नुपर्ने मन्त्रालयको भनाई । सोही व्यवस्थालाई टेकेर त्रियोग स्कुलले सरकारले नियम ल्याउनुअघिको समयमा समेत अभिभावकले शुल्क बुझाउनुपर्ने उर्दी जारी गरेको छ ।
अभिभावक संघका अध्यक्ष केशव पुरीका अनुसार त्रियोग स्कुलले लामो समयदेखि विद्यार्थी र अभिभावकमाथि ज्यादती गर्दै आएको छ ।
‘शक्तिको आडमा उनीहरुले कोरोना र लकडाउन अवधिको समयमा स्कुल नै नखुलेको अवधिको समेत पैसा देउ भनेर अभिभावकलाई धम्काएका छन्,’ पूरीले भने,‘अविभावकलाई चौतर्फी मार परेको छ । यस्तो त्रियोग स्कुलको विषय यसअघि पनि आएको हो ।’
उनका अनुसार शिक्षा मन्त्रालयकै लापरबाहीका कारण यस्ता विद्यालयहरुले मनोमानी शुल्क उठाइरहेका छन् ।
राष्ट्रपति विद्यादेवि भण्डारीकी पुत्रि उषाकिरण भण्डारीका श्रीमान उमेश थापा राजधानीमा रहेका केही नीजि विद्यालयका मालिक हुन् । ट्रनिटि कलेजक मालिक रहेका उनी त्रियोग स्कुलका समेत मालिक हुन् ।