काठमाडौं, २६ असोज । राजस्व अनुसन्धान विभागले काुननविपरीत विदेशी विनिमय अपचलन गरेको भन्दै हाइटेक इन्टरनेशनल प्रालिविरुद्ध करिब पौने दुई अर्ब रुपैयाँ बिगोसहित जरिवाना माग गरेको छ । उनी भन्सार चोरी पैठारीका ठूलामाछा ‘अभियुक्त’ हुन् ।
विभागले हाइटेकले भन्सार चोरी पैठारी गरेका मालवस्तुहरुको भुक्तानीको लागि गैरकानुनी रुपमा विदेशी मुद्रा विदेश पठाई विदेशी विनिमय अपचलन गरेको हुँदा एक अर्ब ७१ करोड ५६ लाख २८ हजार रुपैयाँ बिगो असुलउपर गरी बिगोको तीन गुणासम्म जरिवाना र तीन वर्ष कैद सजाय समेत माग गरेको बताएको छ । कम्पनीका सञ्चालक (स्थायी लेखा नं. ३०५०३७८९५) हरि कुमार श्रेष्ठ हुन् ।
उनी तथा कम्पनीविरुद्ध बिगोको तीन गुणसम्म जरिवाना र तीन वर्ष कैद सजाय समेत माग गर्दै काठमाडौं जिल्ला अदालतमा गत बिहीबार मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।
हाइटेकले भन्सार विन्दुबाट मालवस्तु पैठारी गर्दा लुकाइछिपाइ गरी चोरी पैठारी गरी नेपाल ल्याई त्यसरी ल्याएको मालवस्तुको यथार्थ कारोबार नदेखाई यथार्थ र वास्तविक कारोबारको छुट्टै लेजरमा अभिलेख राखी राजस्व चुहावट समेत गरेको र त्यस्ता चोरी पैठारी गरी ल्याएको मालवस्तुको भुक्तानीको लागि बैंकको स्वीकृति समेत नलिई गैरकानुनी रुपमा अवैध किसिमले विदेशमा रकम पठाई विदेशी विनिमय अपचलन गरेको विभागको भनाइ छ ।
यसरी हाइटेकाले गैरकानुनी काम गरेको भन्दै विदेशी विनिमय अपचलन गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४, दफा ८(२) र दफा ९(ग) बमोजिम कसुर गरेको देखिँदा उसलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७(१) बमोजिम जफत वा असुलउपर गर्न र निज प्रतिवादीलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ (१), बमोजिम बिगोको तीन गुणासम्म सजाय र दफा १७(८) र तथा १७(९) बमोजिम विभागले अदालतसमक्ष ३ वर्षसम्म कैद सजाय समेत हुने गरी मुद्दा दर्ता गराएको छ ।