दशैं आयो, पत्रकारलाई बोनस नदिने टेलिभिजनका साहुजीहरुको दाऊ !

दियो पोस्ट  

काठमाडौं, २६ असोज । नेपालका निजी टेलिभिजन च्यानलहरुले पत्रकारहरुलाई यसपटक दशैं खर्च नदिने आन्तरिक अनौपचारिक सहमति गरेको गाईंगुईं चलेपछि टेलिभिजन पत्रकारहरुको ध्यान पनि तानिएको छ ।
दशैं खर्चको मामिलामा सरकारी नेपाल टेलिभिजनमा कुनै समस्या छैन । निजी च्यानलहरुको हकमा केहीले पत्रकार खुसी पारेरै दशैंमा घर पठाउँदैछन् भने केहीले केही महिनादेखि तलब नै दिएका छैनन् ।
कान्तिपुर टेलिजिभनले हरेक महिनाको ६ गतेसम्ममा तलब हालिसक्छ भने दशैंमा पनि नियमानुसार खर्च दिने गर्छ । यसपटक पनि यो क्रममा खासै फरक नपर्ने बुझिएको छ । तर कान्तिपुरले निकालेका पत्रकार–कर्मचारी अहिले कामबाट निकालेको भनेर आन्दोलनमा छन् । हिमालय टेलिभिजनले स्थायी भइसकेका पत्रकारहरुलाई पनि करार सम्झौतामा हस्ताक्षर गर्न बाध्य पारेपछि टेलिभिजनको वातावरण धमिलो भएको छ । तर यो टेलिभिजनले तलब दिने मामिलामा महिना कटाएको छैन । दशैं खर्च के कसरी दिन्छ वा दिँदैन भन्ने विषयमा कुनै निर्णय भइनसकेको बुझिएको छ ।


नयाँ टेलिभिजन भएर पनि चर्चामा रहेको योहो टेलिभिजनले भदौं महिनाको तलब र दशैं खर्च एकै पटक दिने निर्णय नै गरेको सम्बद्धस्रोतको दावी छ । योहोले एक महिना बाँकी राखेर हरेक महिनाको १५ गतेभित्र तलब निकासा गर्दै आएको छ ।

ठूलो तामझामसहित बजार प्रवेश गरेको एपी वान टेलिभिजनको पछिल्लो स्थिति राम्रो छैन । दुई महिनादेखिको तलब रोकिएको छ भने दशैं खर्च दिने नदिने टुंगो लागेको छैन । कोरोनालाई देखाएर दशैं खर्च चाहिँ नदिने योजनामा व्यवस्थापन रहेको गाईंगुईँ चलिरहेको छ ।


पहिलो लकडाउनको बेला पत्रकारहरुलाई बस्ने खाने सुविधा दिएर २४ सै घण्टा काममा लगाएको न्युज २४ ले पनि केही महिनादेखि तलब नदिएको बुझिएको छ । लकडाउनकै बेलाको ओभरटाइमसहितको तलबको भार मिलाउन नसक्दा न्युज २४ ले पनि दशैंमा पेश्की नदिने तयारी गरिरहेको बुझिएको छ ।


प्राइम टाइम्स टेलिभिजनले साउनदेखिको तलब नै दिएको छैन भने दशैं खर्च नदिने अनौपचारिक सन्देश जारी भएको छ । उता सयौं व्यक्तिको सेयर रहेको जनता टेलिभिजनको स्थिति पनि उति राम्रो छैन । असार महिनादेखि पत्रकारले तलब पाएका छैनन् । दशैं खर्च पनि अनिश्चित रहेको बुझिएको छ ।

तुलनात्मक रुपमा अन्य टेलिभिजनहरु भन्दा पत्रकारलाई तलब सुविधामा नियमित मानिने इमेज च्यानलमा समेत पछिल्लो समय साउनदेखिको तलब बाँकी छ । इमेजमा वर्षौंदेखि काम गरिरहेका पत्रकार–कर्मचारीहरु समेत छन् । दशंै खर्चका सम्बन्धमा यसपटक यो च्यानलमा पनि धरमर रहेको बताइन्छ ।


माउन्टेन टेलिभिजनले असारदेखिकै तलब बाँकी राखेको छ । दशैंको छेउमा दूई महिनाको तलब हालेर पेश्की ओझेलमा पार्ने पुरानै चलन यसपटक पनि माउन्टेनमा दोहोरिने सम्भावना छ । अहिले तलब हालेपछि अर्को किस्ता पुस १५ तिर पुग्न सक्छ ।

सगरमाथा टेलिभिजनले कोरोना महामारी देखाएर न्युज एंकरहरुलाई हप्तामा पाँच दिन मात्रै काममा लगाएको छ । तलब पनि सोहीबमोजिम दिइरहेको बुझिएको छ । दशैंमा पेश्की दिने नदिने टुंगो सगरमाथामा पनि लागेको छैन ।


कुनै बेला नौ महिनासम्मको तलब बाँकी राख्ने गरेको एभिन्युज टेलिभिजनले पछिल्लो समय यो भार घटाएर दुई महिनामा झारेको छ ।

सम्बन्धित खबर