धादिङ, २६ असोज । धादिङको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाको सिमाना भएर बहने मलेखु खोला दोहन गर्न बेनिघाट रोराङ गाउँपालिकाले नै अनुमति दिएको पाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराईले दिव्य ज्योति सकुरा जेभि नामक ठेकेदार कम्पनीलाई नदिजन्य पदार्थ उत्खन्न गर्ने अनुमति दिएको हो ।
वडा नम्बर ३ का अध्यक्ष भूवन त्रिपाठीको सिफरिसको आधारमा गाउँपालिकाले खोला दोहान गर्न अनुमति दिएको पाइएको छ ।
गाउँपालिकाले ८ सय घनमिटर ग्राबेल निकाल्न अनुमति दिएको पत्रमा उल्लेख गरेको भएपनि उक्त ठेकेदार कम्पनीले धेरै ग्राबेल निकालेको स्रोतको दाबी छ ।
गाउँपालिकाले वडा नम्बर ३ को सिफारिसको आधारमा ग्राभेल खन्ने अनुमति दिएपनि ठेकेदार कम्पनिले भने प्रहरी र स्थानिय बासीको नजर छल्नका लागि वडा नम्बर ४ अन्तर्गतको मलेखु खोलामा ग्राबेल निकालेको छ ।
स्रोतका अनुसार खोलामै डोजर चलाउन अनुमति पाउने ठेकेदार कम्पनिमा वडाध्यक्ष भूवन त्रिपाठीका भाई कृष्ण प्रसाद त्रिपाठी समेत साझेदार छन् । उनीहरुले खोलाबाट निशुल्क रुपमा ग्राबेल पाएका छन् ।
दिव्य ज्योति सकुरा जेभिका मालिक शिवराम भण्डारी हुन् । यस विषयमा बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराईलाई सम्पर्क गर्दा उनले ८०० घनमिटर ग्राबेल निकाल्न गाउँपालिकाले अनुमति दिएको स्विकार गरे ।
यद्धपी जिल्ला प्रशासन कार्यालय धादिङले भने नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको थियो ।
यस विषयमा प्रतिक्रिया लिन धादिङका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेललाई सम्पर्क गर्दा उनले आफुले गाइँगुइँ सुनेपछि बन्द गर्न लगाएको जानकारी दिए । यद्धपी स्रोतले भने हालसम्म पनि बन्द नभएको जानकारी दिएको छ । सिडियो पौडेलले स्थानिय निकायलाई नै दोष दिँदै आफू आफ्नो जिम्मेवारीबाट भाग्ने कोशिष गरे ।