नर्भिक अस्पतालको खण्डन,‘ कर्मचारीको रोजगारी नगुमोस् भन्ने कुरामा सदैव सचेत छौं’

दियो पोस्ट  

काठमाडौं, ३० असोज । नर्भिक अस्पतालले दियोपोस्ट डटकममा प्रकाशित समाचारको ध्यानाकर्षण गर्दै खण्डन गरेको छ ।


दियोपोस्ट डटकममा विभिन्न मितिमा प्रकाशित समाचारको विषयमा अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहदुर सिंहले खण्डन गरेका हुन् । उनीद्वारा प्रेसित खण्डनमा नर्भिकको आधिकारिक लेटरप्याड र कसैको हस्ताक्षर भने छैन ।

‘दियोपोष्टले प्रकाशन गरेको समाचारमा भनिएजस्तो नर्भिकले कोभिडको समयमा कुनै पनि कर्मचारीलाई बलजफ्ती निश्कासन गरेको छैन । ठूलो संख्यामा स्टाफ नर्सलाई विदामा राखिएको, सफाईकर्मीहरुलाई जबरजस्ती निश्कासन गरिएको भन्ने लगायतका व्यहोरामा कुनै सत्यता नभएको अनुरोध गर्न चाहन्छौ,’ नर्भिक अस्पतालको नाममा गरिएको खण्डनमा भनिएको छ,‘समाचारमा उल्लेख भएका यस्ता तथ्यहरु सत्यमा आधारित छैनन् । हामी हाम्रा कामदार तथा कर्मचारीको रोजगारी नगुमोस् भन्ने कुरामा सदैव सचेत छौं । कोभिड १९ को विषम परिस्थितिमा पनि हामीले यसैका कारण कसैलाई पनि रोजगारविहीन बनाउने काम गरेका छैनौं । बरु, कोभिड संक्रमण भएका कर्मचारी तथा उनका परिवारलाई समेत अतिरिक्त स्वास्थ्य सुविधा उपलब्ध गराइएको छ ।’

यस्तो छ खण्डनको पूर्णपाठ

                                           मिति : २०७७ असोज २९ गते 

श्रीमान सम्पादक ज्यू
दियोपोष्ट डटकम
काठमाण्डौ ।

विषय : खण्डन गरिएको बारे ।

प्रस्तुत विषयमा यहाँको लोकप्रिय अनलाइन पत्रिकामा केही दिनदेखि यस नर्भिक इन्टरनेशनल हस्पिटलको विषयमा प्रकाशित समाचारहरुको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा उल्लेख भएका तथ्यहरु सत्यमा आधारित नरहेका कारण यहाँको ध्यानाकर्षण होस् भन्ने हेतूले यो खण्डनपत्र लेखिएको हो ।

दियोपोष्टले प्रकाशन गरेको समाचारमा भनिएजस्तो नर्भिकले कोभिडको समयमा कुनै पनि कर्मचारीलाई बलजफ्ती निश्कासन गरेको छैन । ठूलो संख्यामा स्टाफ नर्सलाई विदामा राखिएको, सफाईकर्मीहरुलाई जबरजस्ती निश्कासन गरिएको भन्ने लगायतका व्यहोरामा कुनै सत्यता नभएको अनुरोध गर्न चाहन्छौ । समाचारमा उल्लेख भएका यस्ता तथ्यहरु सत्यमा आधारित छैनन् । हामी हाम्रा कामदार तथा कर्मचारीको रोजगारी नगुमोस् भन्ने कुरामा सदैव सचेत छौं । कोभिड १९ को विषम परिस्थितिमा पनि हामीले यसैका कारण कसैलाई पनि रोजगारविहीन बनाउने काम गरेका छैनौं । बरु, कोभिड संक्रमण भएका कर्मचारी तथा उनका परिवारलाई समेत अतिरिक्त स्वास्थ्य सुविधा उपलब्ध गराइएको छ ।

नर्भिक हस्पिटलले कोरोना र लकडाउनको कारण देखाई कसैलाई पनि सेवाबाट नहटाएको पुनः अनुरोध गर्न चाहन्छौ । साथै, यस हस्पिटलको आन्तरिक कर्मचारी व्यवस्थापन विनियम बमोजिम उमेरको हदबन्दी नाघेका र कार्य सम्पादनको आधारमा श्रम ऐन बमोजिम आवश्यक सुविधा दिई केही कर्मचारीहरुलाई सेवानिवृत मात्र गरिएको हो, यो अस्पतालको नियमित प्रक्रिया मात्र हो ।

नर्भिक हस्पिटलले यसअघि सम्पूर्ण कर्मचारीहरुको तलबसुविधा व्यक्तिगत खाता लक्ष्मी बैंकमा खोली जम्मा गरिँदै आएकोमा आगामी आश्विन महिनादेखि लक्ष्मी बैंकको सट्टामा युनाइटेड फाइनान्स कम्पनीमा खाता खोली कर्मचारीहरुको तलब जम्मा गरिदिने यस हस्पिटल व्यवस्थापन समितिको निर्णयअनुसार सुरु गर्न लागिएको हो ।

युनाइटेड फाइनान्स कम्पनीले अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा खातावालालाई राम्रो सेवा सुविधाका अतिरिक्त आकर्षक बीमा सुविधा समेत प्रदान गर्ने भएकै कारण त्यही संस्थामा कर्मचारीहरुको तलब बचत खाता सञ्चालन गरिने निर्णय भएको÷गरिएको स्पष्ट पार्न चाहन्छौं । /उक्त संस्थामा तलव भत्ताको खाता सञ्चालन गर्दा खातावालाले रु. १,००,०००/– (एक लाख बराबरको चिकित्सा उपचार बीमा, रु. ५,००,०००/– (पाँच लाख रुपैयाँ) बराबरको जटिल रोग उपचार बीमा र रु. ७,००,०००/– (सात लाख रुपैयाँ) बराबरको दुर्घटना बीमा प्राप्त गर्नुका साथै निःशुल्क ए.टि.एम., इन्टरनेट बैंकिग र डिम्याट खाताको सेवा सुविधा समेत प्राप्त गर्नेछन् । कर्मचारीहरुका लागि केवल रु. १,०००/– (एक हजार रुपैयाँ) बचत हुँदासाथ उनीहरु उपरोक्त बीमा सुविधाका लागि योग्य हुने व्यवस्था मिलाइएको छ । यसमा कुनै पनि कर्मचारीको थप आर्थिक भार नपर्ने साथै यस योजना लागू गर्नुमा नर्भिक र यस हस्पिटलका अध्यक्ष श्री वसन्त कुमार चौधरीज्यूको कुनै पनि व्यक्तिगत स्वार्थ नरहेको व्यहोरा जानकारी गराउन चाहन्छु ।

कोरोना महामारीको सुरुवातीमै नर्भिक हस्पिटलका अध्यक्ष श्री बसन्तकुमार चौधरीज्यूले आफ्नो निजी खर्चमा रु. ५०,००,०००/– नेपाल सरकारलाई कोरोना रोकथामको लागि, तथा रु.६८,००,०००/– बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नु भई एक अनुकरणीय सहयोग पुर्याउनु भएकोमा उल्टै उहाँको सामाजिक कार्यलाई अनर्थ लगाउने हिसाबले प्रेषित समाचारको खण्डन गर्दछौ ।

जहाँसम्म कर्मचारीको तलव काटेको भन्ने अर्को झुठ्ठा आरोप छ । सुरु सुरुको महिनामा कोरोनाको कहर बढ्दै गएकोमा लामो लकडाउनको अवस्थामा अस्पतालको व्यस्तता ज्यादै कम भएकोले श्रम ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार नै साप्ताहिक रुपमा ४८ घण्टाको सट्टा ३६ घण्टा काम गराएर सोहीअनुसार तलब दिइएको थियो । लकडाउन हटी हस्पिटलको व्यस्तता बढेपछि भाद्रदेखि फेरी सबै कर्मचारीहरुलाई साप्ताहिक ४८ घण्टाको काम लगाई सोही आधारमा तलब दिइँदै आएको छ । कामदार तथा कर्मचारीको श्रमको उचित मूल्यांकन गर्दै आएको नर्भिकले कोभिडको विषम परिस्थितिमा पनि यो मान्यतालाई रत्तिभर डगमगिन दिएको छैन ।

अतः हाम्रो यो खण्डनपत्र यहाँको लोकप्रिय सञ्चारमाध्यममा प्रकाशनका लागि स्थान दिनुहुने आशा राखेका छौं ।

धन्यवाद

TATA ADD