काठमाडौं, ३ कार्तिक । पूर्व राजा स्वर्गीय विरेन्द्र शाह तथा उनको परिवारको सम्पत्ति राष्ट्रिय हितमा प्रयोग गर्न गठित नेपाल ट्रष्टमा एक बोर्ड सदस्य नियुक्त भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य नन्द्र बहादुर रोकाया ‘नरेश’लाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो । यसअघिका सदस्य रहेका यति समुहका प्रतिनिधि सिताराम सापकोटाले राजिनामा दिएपछि उनको स्थानमा रोकायालाई नियुक्त गरिएको हो ।
उनलाई विहिबारको मन्त्रीपरिषदको बैठकले नियुक्त गरेको हो । बार्डकै एक कर्मचारीका अनुसार हाल बोर्डको सदस्यमा नियुक्त रोकायको नेपाल ट्रष्ट ऐनमा रहेको व्यवस्था विपरित योग्यता नभएका व्यक्ति हुन् ।
ट्रष्टको ऐनमा ‘समाजसेवा तथा व्यवस्थापन क्षेत्रमा काम गरेको अनुभव भएको व्यक्ति’ सदस्य हुने व्यवस्था छ । बोर्डका एक सदस्यका अनुसार १५ वर्ष सम्म यस्ता क्षेत्रमा क्रियाशिल व्यक्ति बोर्डसदस्य बन्न सक्छन् । अनेरास्ववियुको राजनीति गर्ने रोकायसँग त्यस्तो खालको अनुभव पत्र नभएपनि ओली सरकारले बोर्ड सदस्यको टिका लगाइदिएको छ ।
बोर्ड सदस्यमा सरकारले तीन जना व्यक्तिलाई स्वतन्त्र सदस्यको रुपमा नियुक्त गर्न सक्छ । यति समुहका कर्मचारी रहेका सापकोटा बोर्डमै रहेका बेला बिना प्रतिष्पर्धा गोकर्ण रिसोर्टको जग्गा लिज नविकरण भएको थियो । ट्रष्टको सम्पत्तिमा यति समुहले रजाइँ गर्दै आएको छ ।