धादिङ, ५ कार्तिक । बुधबार सार्वजनिक गरिएको तथ्यांक अनुसार धादिङमा पछिल्लो २४ घण्टामा १ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट केही विरामी सिकिस्त समेत छन् । तर, जिल्ला अस्पताल धादिङको लापरबाहीका कारण कोरोना संक्रमित सिकिस्त विरामी बोक्ने एम्बुलेन्सदेखि मृत्यु भएका शव बोक्ने शव बहान समेत हाहाकार भएको पाइएको छ ।
एम्बुलेन्स अभाव भएपछि बुधबार विहानैदेखि एक विरामी एम्बुलेन्स कुरिरहेका छन् । उनको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि काठमाडौं लैजानुपर्ने भनिएपनि एम्बुलेन्स अभावका कारण उनी धादिङमै अडिकएका छन् । त्यसो त अस्पताल व्यवस्थापनका नेतृत्वले भने कोरोना मैत्री एम्बुलेन्स तयारी अवस्थामा रहेको दाबी गर्दै आएको छ ।
त्यस्तै धादिङमा एउटा पनि शव बहान नहुँदा कोरोना संक्रमणबाट मृत्यु भएको शवलाई शव दाह गर्न लैजान समस्या भएको छ । कोरोना संक्रमित मृतकको शवलाई ठेलागाडामा राखेर शव दाह गृहसम्म पुर्याइएको तस्विर फेला परेको छ ।
बुधबार मृत्यु भएका एक कोरोना संक्रमितलाई आर्यघाटमा शवदाहका लागि लैजाने क्रममा सडकमा आममान्छेकै बीचमा ठेलागाडामा राखेर सहर परिक्रममा गराउँदै लगिएको पाइएको हो ।
धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाका अनुसार सडकमा ठेलागाडामा दाह संस्कारका लागि लगिएको शवको हिजो अन्त्यष्टि गरेपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनका अनुसार धादिङमा एउटा पनि शवबाहन छैन । अस्पतालमा रहेको एउटा मात्रै एम्बुलेन्सले सेवा दिइरहेको उनले बताए ।
उनका अनुसार अस्पतालमा भेन्टिलेटर समेत छैनन् । तर, निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगाना भने कोरोनाका महामारीबीच अस्पतालको सम्पर्कमा समेत छैनन् ।