धादिङ, ६ असोज । जिल्ला अस्पताल धादिङमा मंगलबार निधन भएका एक मृतकलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण परिक्षण रिपोर्ट नआउँदै सडकमै ठेलागाडामा राखेर दाहसंस्कार गरियो । तर, उनको अन्त्यष्टि गरेपछि भने उनलाई कोरोना संक्रमण पुष्टि भयो । सर्वसाधारणका लागि कोरोना भाइरस संक्रमण परिक्षण पिसिआर परिक्षण रिपोर्ट आउन मृत्यु नै कुर्नुपरेको घटनाले नेपालको स्वास्थ्य क्षेत्रको हविगत देखाउँछ । कोरोना भाइरस संक्रमण परिक्षणका लागि जिल्ला अस्पता लले स्वाव नै संकलन नगरिदिएपछि मार्पाकका पुराना शिक्षक केसरी प्रसाद पन्तले धादिङ बजारमा एम्बुलेन्स समेत पाएनन् ।
एम्बुलेन्स नपाएपछि सदरमुकामबाट झण्डै ६ घण्टाको कच्चि सडक पारगर्दै मारपाकबाटै एम्बुलेन्स मगाएर उनी काठमाडौं आउनुपरेको छ । तर, सत्ता र शक्तिमा हुनेहरुलाई भने २४ घण्टामा २ पटकसम्म पिसिआर परिक्षणको सुविधा दिइएको पाइएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले पहिलो परिक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएपछि थप दोस्रो पटक परिक्षण गराएका छन् । बुधबार उनलाई कोरोना परिक्षण रिपोर्टमा कोभिड १९ संक्रमण देखिएको थियो । तर, पौडेलले जिल्ला अस्पताल धादिङलाई दबाव दिँदै फेरी अर्को परिक्षण गराएका छन् । उक्त परिक्षणमा भने उनले आफूलाई कोरोना संक्रमण नदेखिएको भन्दै प्रचार गराएका छन् ।
सिडिओ पौडेलले जिल्ला अस्पताल धादिङमा आफ्नो परिवारलाई समेत कोरोना परिक्षण गर्न दबाव दिएको स्रोतले जनाएको छ । उनको परिवार सहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीको समेत निशुल्क कोरोना परिक्षण गर्न दबाव दिएको अस्पताल सञ्चालक समितिका एक अधिकारीले जानकारी दिए । दबावपछि उनको परिवार र केही उनी निकट कर्मचारीको कोरोना परिक्षण गरिएको थियो । मंगलबार उनीसहित ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।