साहुले १६ लाख बार्गेनिङ गरेको पोल खुलेपछि नेपाली पब्लिकका पत्रकारद्वारा सामुहिक राजिनामा !

दियो पोस्ट  

काठमाडौं, ७ कार्तिक । केही महिनाअघि निकै तामझामसहित शुरु भएको नेपाली पब्लिक नामक अनलाइनमा काम गर्ने सम्पादक सहितका पत्रकारले विहिबार सामुहिक राजिनामा दिएको सार्वजनिक भयो ।


उनीहरुले आफ्नो राजिनामा पत्रमा ‘सम्पादकिय’ स्वतन्त्रता नभएका कारण राजिनामा दिएको बताएका छन् । सम्पादक कला अनुरागीद्वारा हस्ताक्षेरित राजिनामा पत्रमा भनिएको छ,‘व्यवस्थापनले रुचि लिएका विभिन्न समाचार सामग्रीहरुका सन्दर्भमा सम्पादकीय स्वतन्त्रताको सिद्दान्तलार्य आत्मसाथ गरी सञ्चारमाध्यमका सञ्चालक र व्यवस्थापकले समाचार संकलन, सम्पादन, प्रस्तुति र सम्प्रेषणमा कुनै प्रकारको हस्तक्षेप वा प्रभाव नपारी सम्पादकीय स्वतन्त्रताको उच्च सम्मान, संरक्षण र संवद्र्धन गर्नुपर्दछ भन्ने आचारसंहिता स्मरण गराइरहयौँ । त्यसका बाबजुत सम्पादकीय स्वतन्त्रतामाथि पूर्ण हस्तक्षेप भएपछि सम्पादकीय स्वतन्त्रताको पक्षमा अडिग रहँदै हामीले यो सामुहिक राजिनामा पेश गरेका छौँ ।’


कान्तिपुर दैनिक छाडेर नेपाली पब्लिक नामक नामै नसुनेको अनलाइनमा देखा परेका अनुरागीले करिब १०० दिन यो अनलाइनको सम्पादकीय नेतृत्व सम्हाले । आखिर कुन त्यस्तो घटना थियो जसले सम्पादकीय स्वतन्त्रताको चिरहरण गर्यो र पत्रकारहरुले सामुहिक राजिनामा दिए ।
गत कार्तिक ४ गते नेपाली पब्लिकको अनलाइनमा एउटा समाचार सार्वजनिक भयो ।

शिर्षक थियो,‘१२ करोडको सेटिङ मिलाउन अष्ट्रेलिया बस्ने नटवरलाल नेपालमा’ । नेपाली भाषामा दख्खल राख्ने अनुरागी सम्पादकदत्वमा प्रकाशित यो समाचामा भने शिर्षक नै असुद्ध देखिन्छ । अष्ट्रेलियाबाट नेपाल आएका भेष चौरासियाले १२ करोड रुपैयाँको सेटिङ गर्न नेपाल आएको समाचारमा उल्लेख छ । तर, शिर्षकमा भनिए जस्तो समाचारमा भने कुनै तथ्य देखिँदैन ।

तर, समाचार प्रकाशन भएपछि भेषले सम्पादक कला अनुरागीलाई सम्पर्क गरे । सम्पादकीय नेतृत्वमा रहेका कलाले उक्त समाचार प्रकाशन भएको विषयमा जानकारी समेत पाएका रहेनछन् । पत्रकारिता अध्ययन गर्नेहरुले सम्पादकलाई ‘गेटकिपर’ भन्छन् । तर, गेटकिपरलाई थाहा नै नभई समाचार बाहिर आएको खुल्यो । स्रोतका अनुसार सम्पादक अनुरागीलाई थाहा नै नदिई नेपाली पब्लिकका अध्यक्ष सुदिपचन्द्र बख्रेलले यो समाचार बाहिर ल्याएका थिए ।


अर्को आश्चर्य के पनि भेटियो भने समाचार सार्वजनिक हुनअघि बख्रेलले चौरासियासँग १६ लाखको बार्गेनिङ गरेको आरोप समेत लागेको छ ।


दियोपोस्टको सम्पर्कमा आएका भेष चौराशियाले आफूलाई नेपाली पब्लिकका मालिक सुदिपचन्द्र बखरेलले १६ लाख रुपैयाँ बार्गेनिङ गरेको आरोप लगाए । उनले दियोपोस्टको इमेलमा सम्प्रेषण गरेको पत्रमा भनेका छन्–‘आफूलाई न्युज रिपोर्टर बताउने बखरेलले मलाई १६ लाख नेपाली रुपैयाँ दिन दबाव दिएका छन् । उनले मलाई एनएमबी बैंक र किया मोटर्ससम्म पछ्याए । मलाई १६ लाख दिन जबरजस्ती गरे तर मैले दिइन । उनको भनाई थियो ‘आइ वील शो यु मिडिया पावर’ ।


चौरासियाले आफूसँग नेपाली पब्लिकका अध्यक्ष बखरेल घर पास गर्न १६ लाख रुपैयाँ माग्दै धम्की दिएको बताए ।

‘मसँग पैसा मागेका हुन् । मसँग उनीहरुले पठाएको म्यासेजको स्क्रिन सर्ट पनि छ । मैले यो कुरा सम्पादक अनुरागीलाई पनि देखाएँ,’ उनले भने,‘उहाँहरुले त्यसै प्रमाण नभई सामुहिक राजिनामा दिनु हुँदैन ।’


आफू र उक्त अनलाइनका मालिक बखरेल लामो समयदेखि साथी नै रहेको समेत उनले बताए । ‘म अष्ट्रेलियाबाट नेपाल आएपछि हामी भेटेका हौँ । भेटको अर्कोदिन मलाई १६ लाख रुपैयाँ चाहियो भन्नु भयो । मेरो एउटा सुरज अधिकारी भन्ने मान्छेको जग्गा पास गर्नुपर्ने छ त्यो जग्गा पास गर्न पैसा पुगेन १६ लाख रुपैयाँ देउ भन्नु भएको थियो,’ चौरासियाले घटनाको पृष्ठभूमि सुनाए ।


आफूले अष्ट्रेलियाबाट नेपाल फर्किएपछि गाडी किन्न चाहेको र गाडी किन्ने विषयमा समेत बखरेलसँगै सल्लाहा मागेको उनको भनाई छ । ‘मैले गाडी किन्ने सल्लाहा मागेँ । उहाँले किया मोटर्समा मैले चिनेको मान्छे छ भन्नुभयो । म त्यहाँ गएर क्यासमा गाडी किन्न खोजेँ । त्यहाँ नै उहाँले मसँग १६ लाख रुपैयाँ मागे । मैले अहिले दिन सक्दिनँ भनेँ,’ चौरासियाले दियोपोस्ट सँग भने,‘मेरो बैंक खाता रहेको एनएमबी बैंक तर्फ जाँदै थिएँ । त्यहाँसमेत उहाँले मलाई पछ्याउनु भयो । बैंकको गेट बाहिरै आएर पैसा दिनैपर्छ भनेर धम्काउनु भयो । मैले नजिकै रहेको प्रहरीलाई भन्छु तिमीहरु यहाँबाट जाउ म पैसा दिन्नँ भनेँ । म त्यहाँबाट किया मोटर्समा गएँ । त्यहाँ पनि मलाई पछ्याइयो । मलाई कल र एसएमएस गरेर धम्काए । आइ वील शो यु मिडिया पावर । तैँले १२ करोड अवैध पैसा लिएर आएको छस् भन्दै धम्की दिए ।’


उनका अनुसार धम्की दिएपनि उनले पैसा नदिएपछि नेपाली पब्लिकले समाचार छापेको थियो ।
‘समाचार छापेपछि यो सबै कुरा र प्रमाणहरु सम्पादक कलाजीलाई देखाएँ । यतिसम्मकी बखरेलले अष्ट्रेलियास्थित म काम गर्ने ठाउँसम्म पनि मेल गरेको रहेछ,’ उनले भने ।

सम्पादकबाट राजिनामा दिएका अनुरागीले दियोपोस्टसँगको कुराकानीका क्रममा कार्तिक ४ गते प्रकाशित समाचरकै कारण आफूहरुले सामुहिक राजिनामा दिएको बताए ।

‘कार्तिक ५ गते प्रकाशित समाचार हामी सम्पादकीय समुहलाई पुरै बाइपास गरेर प्रकाशित भयो । अफिसकै एडमिन प्रयोग गरेर अरु कसैले समाचार प्रकाशित गरेको पाइयो,’ उनले भने,‘मैले सच्याएर अपडेट गर्दा अध्यक्षकै नाम देखियो । मैले यो समाचारको तथ्य के हो भनेर प्रश्न गरेपछि उनीहरु सम्पर्कमा आएनन् । भोलीपल्ट हामीसँग प्रमाण छ भने । तर, प्रमाण भएपनि सम्पादकीय टिमलाई क्रस गर्न पाइँदैन । जसले खण्डन गरेको छ त्यो समेत छाप्न अस्विकार गरियो ।’


को हुन् बखरेल ?


नेपाली पब्लिकका प्रकाशक सुदीपचन्द्र बखरेल पेशाले कन्सल्टेन्सी व्यापारी हुन् । उनले राजधानीको पुतलीसडकमा रहेको स्टार मलमा कार्यालय राखेर अनलाइन र एमजी ग्रुप नामक कन्सल्टेन्सी चलाउँदै आएका छन् ।

केही वर्षअघि महानगरीय प्रहरी अपराध महासाखाको प्रमुख भएर आएका पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले ठगी आरोपमा उनलाई पक्राउ गरेको थिए । उनीमाथि विभिन्न व्यक्तिलाई ठगी गरेको आरोप छ ।


बखरेल भन्छन्,‘साथीको घर पास गर्ने कुरा गरेको हुँ’


म भेष चौरासियाको विषयमा भर्खरै एउटा रिपोर्ट तयार पार्दैछु । इन्भेष्टिकेशन भइसकेको छ । फलोअप र प्रमाण भइसकेको छ । हामी यसलाई ठोक्दै छौँ । १६ लाखको शब्द मैले कतै बोेलेको छैन । उसको साथीको साथी माध्यमबाट मैले यसलाई भेटेको हुँ । मैले यसलाई काउन्टमा राखिसकेको थिएँ । मैले यसलाई के छ त तेरो पैसा सैसा मेरो एउटा साथीको घर पास गर्नुपर्ने थियो । छ भने देउ म चेक दिन्छु भनेको हुँ । त्यो म्यासेजमा पनि छ । मैले १६ लाख लिएको छैन । हामी प्रमाण बिना बोल्दैनौँ । यसले गरेको हुण्डीको कारोबार, अष्ट्रेलियामा गरेको ठगी सबै हेर्दै छौँ । मैले १२ करोड होइन ३० करोडसम्म पत्ता लगाइसकेको छु ।

हुण्डी कारोबारको भोइस रेकर्ड पनि छ । अपराधमा यसको फाइल रेडि भइसकेको छ । सिआइबी, सम्पत्ति सुद्धिकरणमा सुचना दिएको छु । म आफै पत्रकारिता गरेको व्यावसायी मान्छे १६ लाख रुपैयाँ किन माग्नु पर्छ र ? मैले ब्ल्याकमेल गरेको हुँ भने संसारको कुनैपनि कानुनले बचाउन सक्दैन । म सुचना संकलनका लागि उसको हरेक ठाउँमा पुग्नुपर्छ । कहाँ निर ३० लाखको घडी लगाउँदा रहेछ ।


म विगत १० वर्षदेखि पत्रकारितामा छु । हाम्रो अध्यक्ष सुरज खनाल पनि पत्रकारितामै हुनुहुन्छ । अध्यक्ष र सम्पादकबीच उहाँहरुबीच मौखिक सहमति भएको थियो । तपाईं पनि लेख्ने म पनि लेख्ने मिलेर जाने भन्ने थियो । पहिलेदेखि नै खनालजीले न्युज लेख्नु हुन्थ्यो । तर, सम्पादकहरु कला साहित्यमा जानु भयो । हामीले अलि डिप्ली जाउँ भनेको हुँ । हाम्रो अध्यक्ष ज्युले नै अस्ति ५ गते बेलुका ९ बजे यो समाचार हाल्नु भएको हो ।

सम्बन्धित खबर