कांग्रेस नेता की भारतीय दूतावासको एजेन्ट ? विमलेन्द्र निधिबारे पूर्वराजदूत रेले खोले पोल

diyopost.com
दियो पोस्ट  सोमबार, आश्विन १८, २०७८ | ११:२४:१५

 

काठमाडौं । नेपालमा भारतीयहरु कसरी माइक्रो म्यानेजमेन्ट गर्छन् भन्ने विषयमा पत्रकार सुधिर शर्माले लेखेको प्रयोगशाला पुस्तकमा सविस्तार बयान गरिएको छ । नेपालका राजनीतिक दल भित्र भारतीय एजेन्टहरु कसरी सक्रिय छन् भन्ने विषयमा भने नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेको पुस्तकले खुलाशा गरेको छ । उनको पुस्तकमा एक जना नेपालको प्रभावशाली नेताले पदमा रहँदा कसरी भारतीय दूतावासको गुलामी गरेको गर्थे भन्ने विषयमा एउटा घटना सार्वजनिक गरेका छन् ।

नेपाली कांग्रेसका उपसभापति तथा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पदमा रहँदा कसरी भारतीय दूतावासको तावेदारी गरेका थिए भन्ने विषयमा राजदूत रेले सविस्तार लेखेका छन् ।

उनले आफू गृहमन्त्री रहँदा नेपाल प्रहरीको प्रमुख ‘आइजी’ कसलाई बनाउने भनेर भारतीय दूतावासलाई सोधेको र दुतावासकै सल्लाहका आधारमा नवराज सिलवालको नाम सिफारिस गरेको पाइएको छ ।

हाल नेकपा एमालेका सांसद रहेका सिलवाललाई गृहमन्त्री निधिले आइजीपी बनाउन चाहेको तर तत्कालिन कांग्रस सभापति तथा हालका प्रधानमन्त्री शेर बहादुर देउवाले जय बहादुर चन्दलाई आइजी बनाउन चाहेको उनको पुस्तक ‘काठमाडौं डिलेमा (रिसेटिङ इन्डिया–नेपाल टाइज)मा लेखेका छन् ।

२०७३ फागुनमा भएको नेपाल प्रहरीको आइजीपी नियुक्तीको विवादमा तत्कालिन गृहमन्त्री निधिले दूतावासलाई सोधेर लाचार भूमिका देखाएको पुष्टि भएको हो ।

निधिले राजदूत रेलाई फोन गरेर आइजी नियुक्तीमा दूतावासको राय मागेका थिए । ‘मैले वरिष्ठता र मेरिट आधारमा जुन उम्मेद्वार अघि आउँछ, त्यही छानिनू उपयुक्त होला भनेर सुझाएको थिएँ, ’ पूर्व राजदूत रेले आफ्नो पुस्तकमा लेखेका छन् ।

त्यतिबेला आईजीपीका उम्मेदवार चारै जना प्रहरी नायब महानिरिक्षक (डीआईजी) नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी भारतीय दूतावास पुगेको उनको दाबी छ । उनका अनुसार त्यसबेला गृहमन्त्री निधीले चाहेका आईजीपी उम्मेद्वार नवराज सिलवाल थिए । गृहमन्त्री निधिले त्यतिबेला सिलवाललाई नै आइजीपी बनाउन सिफारिस गरेका थिए । तर, मन्त्रिपरिषदले भने तत्कालिन डिआइजी जय बहादुर चन्दलाई आइजीपी नियुक्त गरेको थियो ।

सिलवालले किर्ते कार्यसम्पाद मुल्यांकन तयार पारेर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको खुलाशा भएको थियो । सरकारी कागजात किर्ते गरेको अभियोगमा उनलाई पक्राउ गरेर मुद्दा चलाउनु पर्ने भएपनि शक्ति केन्द्रको आडमा उन्मुक्ति पाउँदै आएका छन् ।

सम्बन्धित खबर