सिभिल सहकारीको ८ अर्ब ठगी प्रकरणमा ईच्छाराज तामाङकी पत्निसहित २२ जना अझै ‘फरार’ !

diyopost.com
दियो पोस्ट  शुक्रबार, कार्तिक ०५, २०७८ | १५:०५:१८

काठमाडौं । सर्वसाधरणको ८ अर्बभन्दा बढी निक्षेप ठगीको आरोपमा हिरासतमा रहेका सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई थप १८ दिन हिरासतमा राख्न म्याद थप भएको छ । उनीहरुमाथि संगठित अपराध मुद्दामा कारबाही गर्न सिआइबीले अनुसन्धान गरिरहेको छ ।

सिभिल सहकारीको अर्बौं रकम हिनामिना गरि संगठीत रुपमा ठगि गरेको भन्दै विहिबारसम्म ११ सय भन्दा बढी व्यक्तिले जाहेरी दिइसकेका छन् । उनीहरुको उजुरीमा कुल ४ अर्ब ६१ करोड रुपैयाँ भन्दा बढी विगो नै पुगेको छ । अब केहीदिनमा यो संख्या अझै बढ्न सक्ने अनुमान छ । सिभिल समुहका अध्यक्ष तामाङ, उनका मामा ससुरा नाता पर्ने सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जना अझै थप १८ दिन हिरासतमा बस्नुपर्ने छ । संगठित अपराधमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

सिआइबी हिरासतमा रहेका १२ सहित सिभिल समुहका ३४ जना विरुद्ध जाहेरी दर्ता भएपनि २२ जना अभियुक्त अझै पक्राउ परेका छैनन् । फरार सुचीमा तामाङकी श्रीमती सृजना शाक्य तामाङ समेत छिन् । उनी सिभिल क्यापिटल मार्केटकी निर्देशक हुन् । सिभिल क्यापिटल मार्केटमा इच्छाराजले सहकारीको रकम हिनामिना गरि लुकाएको आरोप छ । उक्त कम्पनिमा यसअघि ऋण असुली न्यायधीकरणका न्यायाधीश रहेका गोकुल बुर्लाकोटी समेत बोर्ड सदस्य छन् । उनलाई समेत मुद्दा लगाउनुपर्ने माग पीडितहरुको छ ।

तामाङको ठगीधन्दामा बुर्लाकोटीले कानुनी संरक्षण गरेको आरोप पीडितहरुको छ ।

किटानी जाहेरीमा अध्यक्ष केशवलाल श्रेष्ठ, सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङ, प्रविण मुखिया, सुमननन्द बैद्य, मुकुन्द प्रसाद न्यौपाने, दानहिरा कंसाकार, गोपाल बहादुर श्रेष्ठ, हरिहर प्रसाद लामिछाने, रामकृष्ण पौडेल, केशव कुमार अमात्य, खेमनाथ डल्लाकोटी, इन्द्रराज हुमागाई, दुर्गा प्रसाद संग्रौला, नगेन्द्र बिमली, हरी प्रसाल रिसाल, सिर्जना शाक्य तामाङ, कृष्ण प्रसाद श्रेष्ठ, रामराज मास्के, प्रकाश कुमार बर्मा, जीवन राज बज्राचार्य, भगवान बहादुर सिंह, राकेश महर्जन, रञ्जना महर्जन, सुवाश कुमार श्रेष्ठ, शंकर प्रसाद पाठक, मायोनानी महर्जन, कौस्तुभ केतन ढुंगाना, बुद्धराज तामाङ, कान्ती लक्ष्मी उपाध्याय, लालकाजी गुरुङ, मिना गुरुङ र विजय बिक्रम शाह छन् । गत असोज १८ गते सिआइबीले सुन्धाराबाट ईच्छाराज तामाङ, केशवलाल श्रेष्ठ, भगवान बहादुर सिंह, मायोनानी महर्जन, ऐलिना तुलाधर, शंकर प्रसाद पाठक, संगिता श्रेष्ठ, राकेश महर्जन, बुद्धराज महर्जन, कौस्तुभ केतन ढुंगाना,विजय विक्रम शाह र हरिहर लामिछानेलाई पक्राउ गरेको थियो ।

फरारको सुचीमा लालकाजी गुरुङ र उनकी पत्नि मिना गुरुङ समेत छन् ।

 

सम्बन्धित खबर