काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीको हिरासतमा रहेका सिभिल समुहका अध्यक्ष तथा संविधान सभा सदस्य इच्छाराज तामाङलाई अर्को ‘झड्का’ लागेको छ ।
सिभिल सहकारीमा सर्वसाधरणको ८ अर्ब भन्दा बढी रिकम हिनामिना गरि ठगी गरेको अभियोगमा थुनामा रहेका उनको अर्को एक हाउजिङ कम्पनिको नाममा रहेको जग्गा समेत रोक्का भएको छ ।
प्रदेश नम्बर १ का पूर्व भौतिक पूर्वाधार मन्त्री अम्बिर बाबु गुरुङले जिल्ला अदालतमा दायर गरेको मुद्दाको आधारमा उनको जग्गा रोक्का भएको हो ।
अभियुक्त तामाङले गुरुङलाई दिएको चेक बाउन्स भएपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । पूर्वमन्त्री गुरुङकी श्रीमती रेनुका गुरुङलाई तामाङले दिएको चेक बाउन्स भएको थियो ।
तामाङले सिभिल होम्ससँगै बौद्ध हाउजिङ समेत सञ्चालन गरेका थिए । उक्त हाउजिङको नाममा रहेको प्रभु बैंकको चेक रेनुका गुरुङलाई दिएका थिए । सोही चेक पटक पटक बैंकमा नसाटिएपछि पीडित परिवारले अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरुले दायर गरेको मुद्दाको आधारमा जिल्ला अदालत काठमाडौंले यही कार्तिक ५ गते तामाङको नाममा रहेको जोरपाटीस्थित ७ स्थानको जग्गा रोक्का भएको हो ।
सिभिल सहकारीको ८ अर्ब रकम सिभिल होम्स लगायत हाउजिङ कम्पनिमा ऋण अपचलन गरि ठगी गरेको अभियोगमा सिभिल समुहका अध्यक्ष तामाङलाई गत असोज १८ गते सिआइबीले पक्राउ गरेको थियो ।
उनीसहित सहकारीका अध्यक्ष तथा तामाङका मामा ससुरा केशवलाल श्रेष्ठलाई पनि सिआइबीले पक्राउ गरेको थियो । पक्राउ परेका १२ जनालाई प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्न थप १८ दिनको म्याद पाएको छ ।