काठमाडौं । मुलुक चुनावमय भइरहेका बेला विप्लव नेतृत्वको नेकपाले निर्वाचन विरोधी कार्यक्रमको घोषणा गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने घोषणा गरेको हो ।
पार्टीका अनुसार मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको छ । खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ । यसबाहेक जनतालाई चुनावमा भाग नलिन अपिल गर्ने निर्णय समेत गरेको छ ।
साथै आज विहान प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटघाट भएको थियो । आधा घण्टाको भेटघाटमा के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन ।