काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बुधबार हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
आजको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए ।
यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । बयान लिएर सकेपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर आज थुनछेक बहस भएको हो । १७ वर्षीय नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।