मोरङ ३ः मुख्य प्रतिस्पर्धीबीच ‘नोटिस’मा रेखा थापा, रोचक बन्दै माहोल

दियो पोस्ट  

मोरङ । दुई दशकभन्दा लामो समय चलचित्र क्षेत्रमा रमाइरहेकी रेखा थापा अहिले राजनीतिमा होमिएकी छन् । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको मिति नजिकिए सँगै उनी घरदैलो अभियानमा व्यस्त छिन् । प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नं ३ बाट उम्मेदवारी दिएकी छन् । यस क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा, एमालेका उम्मेदवार पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, र राप्रपा नेता रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

यो प्रतिस्पर्धामा राप्रपा नेता एवं अभिनेत्री रेखा थापाको प्रवेशले रौनकता थपिएको छ । मोरङ–३ मै पर्ने सुन्दरहरैंचा नगरपालिकाको सलकपुर घर भएकी थापा भदौ दोस्रो सातादेखि नै निर्वाचन क्षेत्रमा खटिएकी हुन् । लामो समयसम्म राजनीति गरेका दल र नेताहरूले जनताको लागि काम नगरेकाले त्यसको विद्रोह स्वरुप आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

उनले भनिन्,“२१ वर्ष भयो मैले राजनीति गर्न लागेको । केही समय स्वतन्त्र रुपमा नै गरें र १० वर्ष जति भयो दलमा आवद्ध भएको । चलचित्रको माध्यमबाट पनि मैले समाज परिवर्तनको काम गरिरहेकी थिएँ तर, यो क्षेत्रको अवस्था देखेर मैले उम्मेदवारी दिएकी हुँ । अरु राजनीतिक दलका नेताहरुले केही नगरेपछि त्यसको विद्रोह स्वरुप मेरो उम्मेदवारी हो ।”
चुनावी माहौलमा देखिएको दृश्यका कारण राप्रपाका नेताहरु मोरङ–३ लाई जित्ने सम्भावना भएको क्षेत्र भन्न थालेका छन् ।

हुन पनि चुनावी अभियानमा रेखाले माहौल बनाएकी छन् । पार्टीका युवालाई लिएर टोलटोलमा जाने उनी महिला, किशोरीलाई भेट्छिन्, उनीहरुका गुनासो धैर्यपूर्वक सुन्छिन् । स्थापित अभिनेत्री उम्मेदवार बनेर आउँदा उनलाई सुन्ने, भेटेर तस्वीर खिच्ने र आफ्नो भावना खुलेर राख्नेहरु पनि प्रशस्तै भेटिन्छन् ।