काठमाडौं । पर्सा– ४ मा प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाललाई निर्वाचन आयोगले स्ष्टीकरण सोधेको छ ।
जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको विषयमा उनलाई आयोगले २४ घण्टाभित्र स्ष्टीकरण दिन भनेको हो ।
आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाएको विषयलाई लिएर उम्मेदवार रिजालले कार्कीलाई धम्की दिएको भनी आयोगमा उजुरी परेको थियो ।
निर्वाचन (कसुर तथा सजाय)ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) मा निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन नहुने उल्लेख छ । यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
आयोगले उम्मेदवार रिजाललाई कार्कीलाई किन धम्की दिएको भन्दै त्यसविरुद्ध प्रचलित कानून बमोजिमको कारबाही प्रक्रिया किन अगाडि नबढाइनुपर्ने हो भनेर सोधेको छ । ‘यदि तपाईंले निर्वाचनको काममा खटिएको कर्मचारीविरुद्ध ‘निर्वाचन आचारसंहिता विपरीतका कार्य गर्नुभएको हो भने तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ? भनी आयोगले स्पष्टीकरणमा सोधेको छ ।