सिन्धुली । जिल्लाको सुनकोशी गाउँपालिकामा रहेको ग्रामकाली माध्यामिक विद्यालयमा शिक्षकको कुटपिटबाट एक छात्राको मृत्यु भएको छ ।
सुनकोशी गाउँपालिका–६ अमारेकी कक्षा ७ मा अध्ययनरत १३ वर्षीया छात्रा गोमा वि.क लाई सामाजिक विषयका शिक्षक मिलन दाहालले गृहकार्य नगरेको भन्दै कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
शिक्षक दाहालले पाँचौ घण्टीमा वि.क सहित ५ जना विद्यार्थीलाई कुटपिट गरेका थिए । शिक्षकले कुटेपछि मृतक छात्राले घरमा आएर झुण्डिएर आत्महत्या गरेको भन्ने छ तर यथार्थ के हो भन्ने प्रश्नमा प्रहरी स्रोत नै बोल्न चाहेको छैन ।
मृतक छात्राको हात, नाडी र ढाडमा शिक्षकले कुटेको निलडाम छ । मृतक छात्रा गोमा सहित ६ जना छात्रा र २ जना छात्रालाई शिक्षकले कुटपिट गरेको स्थानीयले बताएका छन । बालबालिकालाई सतिवेरको लौरोले कुटेको विद्यार्थीहरुले बताएको स्थानीयले जानकारी दिएका छन । कुटपिट गर्ने शिक्षक अहिले फरार छन ।
कुटपिट गर्ने शिक्षक प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं.२ का गठबन्धनका उम्मेदवार साथै माओवादी केन्द्रका नेता लेखनाथ दाहाल (राजन)का भाई हुन ।