
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सत्ता गठबन्धनका उम्मेदवारले बागलुङका सबै क्षेत्रमा चुनाव जित्ने दाबी गरेका छन् ।
तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा बिहीबार भएको चुनावी सभामा बोल्दै उनले पाँचदलीय गठबन्धनका उम्मेदवार भारी मतान्तरसहित विजयी हुने बताए। ‘गठबन्धनका मतले मात्रै जित हासिल गर्न सकिन्छ, तर त्यतिले मात्रै पुग्दैन। अत्यधिक मतसहित गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ’, उनले भने।
संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए। मुलुकको आवश्यकताका आधारमा पाँचदलीय गठबन्धन बनेको उनले बताए। चुनाव जितेपछि बन्ने गठबन्धनको सरकारले नै मुलुकलाई विकास, समृद्धि र स्थिरतातिर लैजाने उनको भनाइ छ।
नेकपा माओवादी केन्द्रका सचिव पौडेल बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्।
उनी २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए।