काठमाडौं । व्यवसाय र राजनीति फरक विषय हुन् । राजनीति समाज सुधार र समाज बदल्नका लागि गरिन्छ तर यता व्यक्तिगत धन आर्जन गरेर सुख भोग गर्नु नै व्यवसायीको मूल लक्ष हुन आउँछ । पश्चिमी मूलुकहरुमा व्यवसायीले राजनीतिमा हात मात्रै हाल्दैनन् सत्ताको नेतृत्वमा समेत आउँछन् । यसअघि अमेरिकाको राजनीतिमा उदाएका डोनाल्ड ट्रम्प अर्बौं डलरको धनाड्य भएपछि राजनीतिमा प्रवेश गरेका पात्र हुन् । हिजो आज नेपालको राजनीतिमा व्यापारीहरु सक्रिय हुन थालेका छन् ।
समाज बदल्ने विभिन्न आन्दोलन र संघर्षबाट उदाएका नेताहरुलाई पछि पार्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा बहुसंख्यक व्यापारीले टिकट हत्याएका छन् । दलित, जनजाती, उत्पीडित पिछडिएको क्षेत्र, र समुदायको लागि भनेर संविधानले परिकल्पना गरेको समावेशी सिद्दान्तलाई समेत यी व्यापारीहरुले खिल्ली उडाइदिएका छन् । फलस्वरुप नेकपा एमाले तर्फको समानुपातिक उम्मेदवारको सूचीमा प्रभू समूह नामक व्यापारीक घरानाको अध्यक्ष देवि भट्टचन पहिलो नम्बरमा छन् ।
मोती दुगड लगायत ट्रेड मार्क चोरी जस्तो गम्भिर अपराधमा मुछिएका व्यक्तिहरु एमालेबाट समानुपातिक सांसदको सूचीमा छन् । सत्तारुढ दल नेपाली कांग्रेस पनि कम छैन । काँग्रेसले यो पटकको चुनावमा सबैभन्दा बढी व्यापारीलाई उम्मेदवार बनाएको छ । ‘क’ वर्गका ठेकेदारहरुको हातमा आसन्न मंसिर ४ गते हुने आम निर्वाचन टिकट कब्जामा छ ।
पहिलो पटक प्रत्यक्ष चुनावी मैदानमा चौधरी
नेपालको एक मात्रै डलर अर्बपति हुन् विनोद चौधरी । चौधरीले नवालपरासी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ०७४ को निर्वाचनमा समानुपातिकबाट सांसद बनिसकेका चौधरी पहिलो पटक प्रत्यक्ष चुनावी मैदानमा होमिएका हुन् । नेपाली कांग्रेससहितको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका चौधरीले राजनीतिक योगदानभन्दा आर्थिक प्रभाव बलियो भएपछि सिफारिसमा अन्य नेताहरु देवकरण कलवार, विक्रम खनाल, कुलदीप आचार्य र उषा बास्तोलालाई पछि पारेको देखिन्छ ।
करोडौंको गाडीमा चडेर मात्रै हिड्ने चौधरी कार्यकर्ताको मोटरसाइकल र अटो रिक्साका पछाडि बसेर नाटकीय चुनावी प्रचार प्रसारमा सक्रिय छन् । चौधरीको यस क्षेत्रमा नेकपा एमालेको समर्थनमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसँग मुख्य प्रतिस्पर्धा हुने छ । निर्वाचनमा चौधरीले करोडौँ रकम खन्याइरहेको आंकलन छ ।
चितवन २ बाट संसद छिर्ने बाटो खोज्दै व्यवसायी श्रेष्ठ
०७४ मा नै समानुपातिक तर्फबाट सांसद् बनेर स्वास्थ्य राज्यमन्त्री समेत बनिसकेका व्यवसायी उमेश श्रेष्ठ चितवन–२ बाट प्रत्यक्ष निर्वाचनमा होमिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठसँग एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने मुख्य प्रतिस्पर्धी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री रहेका श्रेष्ठको स्वास्थ्य, शिक्षा, जलविद्युत, हस्पिटालिटी लगायतमा लगानी छ । उनले पछि पारेका नेताहरुको राजनीतिक संघर्ष सामान्य छैन । जिल्लाको सिफारिस सूचीमा उनीभन्दा आघि कांग्रेसका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनाल थिए । तर आर्थिक प्रभावले उनी अघिल्लो नम्बरमा परे । विवादित व्यापारीक पृष्ठभूमिका कारण श्रेष्ठको जितको संभावना न्युन रहेको विश्लेषण छ ।
विक्रम पाण्डेलाई भ्रष्टाचारको दाग मेटाउने चुनौती
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्माण व्यवसायी विक्रम पाण्डे यस पटक पनि प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । उनी चितवन–३ मा उम्मेदवार छन् । पाण्डे २०७४ सालको निर्वाचनमा चितवनबाटै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका थिए । यस पटक पाण्डेले सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारी र एमालेको समर्थनमा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालासँग प्रतिस्पर्धा गर्दैछन् । उनको कालिका कन्स्ट्रक्सन, कालिका एफएम, कालिका पावर कम्पनी र कालिका टावर समेत छ । साथै पूर्वमन्त्री समेत रहेका पाण्डेलाई राष्ट्रिय गौरबको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा २ अर्ब बढीको भ्रष्टाचार मुद्दा लागेको थियो । अर्बौंको भ्रष्टाचारको आरोपी पाण्डेले सेटिङ गरेर उन्मुक्ति पाएको चर्चा हुने गरेको छ ।
शंकाष्पद ‘कालोधन’ ओसार पोसारमा मुछिएका राजेन्द्र बजगाइँ
पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन् । बजगाईं गोरखा– १ बाट सत्ता गठबन्धनका उम्मेदवार हुन् । यसअघि २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेका उनी थोरै मतान्तरले पराजित भएका थिए । कांग्रेसका उम्मेदवार बजगाईंको १ अर्ब १६ करोड लगानीको वर्णबास होटल छ । उनले कालोधनको शंकाष्पद ओसार पसार गरि विदेशमा अवैध रुपमा लगानी गरेको भन्दै खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेले लामो रिपोर्ट नै प्रकाशन गरेको थियो । उक्त रिपोर्ट विरुद्ध बजगाइँले ललितपुर जिल्ला अदालतमा पत्रकार शिव गाउँलेलाई मुद्दा हालेका थिए । तर, पत्रकारलाई दुख दिने नियतले मुद्दा हालेपनि बजगाइँको मुद्दा जिल्ला अदालतले खारेज गरिदिएको थियो ।
रसुवामा दुई ठेकेदारको भिडन्त !
जिल्लामा एक मात्र निर्वाचन क्षेत्र भएको रसुवामा गठबन्धनका तर्फबाट निर्माण व्यवसायी कांग्रेसका पूर्वसांसद मोहन आर्चाय दोस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । आर्चायको मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवार जनार्दन ढकालसँग हुने छ । एमालेका उम्मेदवार आर्चाय पनि निर्माण व्यवसायी नै हुन् । यो जिल्लामा जसले जितपनि व्यवसायी नै संसदमा छिर्ने पक्का छ । मोहनको रसुवा कन्स्ट्रक्सन छ ।
मोरङ ३ः चुनाव जित्नकै लागि समाज सेवाको चटक
मोरङ ३ मा २०७४ मा वाम गठबन्धन बन्दा समेत मात्र १ हजार ९०५ मतले पराजित भएका कांग्रेसका उम्मेदवार सुनिल शर्माले बितेका ५ वर्षमा चुनाव लक्षित मिहेनत राम्रै गरेका छन् । विराटनगरमा मेडिकल कलेज चलाएर बसेका उनले उक्त क्षेत्रका बासिन्दाका लागि ‘उपचार अफर’ नै चलाएका छन् । स्वास्थ्य व्यवसायी शर्मा अघिल्लो चुनावमा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए । शर्माको एमालेका उम्मेदवार भानुभक्त ढकाल र राप्रपाकी उम्मेदवार रेखा थापासँग मुख्य प्रतिस्पर्धा हुने छ । एमबिबिएस पढ्ने विद्यार्थीलाई चर्को शुल्क लिएको अभियोगमा उनी विरुद्ध पक्राउपूर्जी समेत जारी भएको थियो । तर, कांग्रेसको शक्तिशाली समुहसँग नजिक रहेका उनलाई सरकारले पक्राउ गर्ने आँट समेत गर्न सकेन ।
खड्का र गौतम बिच ‘बेष्ट अफ थ्री’को रोचक भिडन्त
पूर्वी पहाडी जिल्ला संखुवासभामा प्रतिनिधिसभाका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिपक खड्का उम्मेदवार बनेका छन् । जलविद्युत लगायत व्यावसायिक क्षेत्रमा लगानी गरेका खड्का २०७४ मा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गरेका थिए । तर निर्वाचित हुन सकेनन् । खड्का र नेकपा एमालेका राजेन्द्र गौतम बिच ‘बेष्ट अफ थ्री’को रोचक भिडन्त हुने छ ।
बाम गठबन्धनसँग हारेका कान्छारामलाई सत्ता गठबन्धनले जिताउला ?
निर्माण व्यवसायी पूर्णबहादुर (कान्छाराम) तामाङ रामेछापबाट सत्ता गठबन्धनका उम्मेदवार छन् । उनी दोस्रोपटक चुनावी मैदानमा छन् । यसअघि वाम गठबन्धनसँग पराजित भएका कान्छाराम यसपटक माओवादीको समर्थनमा चुनाव लड्दैछन् । केहि समय अघिमात्रै उनले हेलीकप्टर किनिसकेको र रामेछापका बिरामीलाई आफैं लगेर उपचार गर्दिन्छु भनेर जनतालाई झुठो आश्वासन दिएका थिए । कान्छाराम क वर्गका ठेकेदार समेत हुन् ।
विभिन्न आयोजनाका ठेकेदार बालकृष्ण शिवाकोटी
कालिन्चोक केबलकारका सञ्चालक तथा लगानी बोर्डका आमन्त्रित सदस्य व्यवसायी बालकृष्ण शिवाकोटीले दोलखाबाट उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका शिवाकोटी प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन् । उनले विभिन्न आयोजनामा ठेकेदारका रुपमा काम गरेका छन् ।
रामचन्द्र पौडेलका कारण लखेटिएका कृष्णकुमार श्रेष्ठ (किसान)
मन्त्रीसमेतत रहिसकेका ग्यास व्यवसायी कृष्णकुमार श्रेष्ठ (किसान)ले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन् । विभिन्न व्यवसायमा आवद्ध श्रेष्ठले यसअघि सांसद् बन्ने अवसर पाएका थिए । ०७४ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट तनहुँ १ मा रामचन्द्र पौडेललाई पराजित गरेर उनी चर्चामा आएका थिए । यसपटक उनी बारा पुगेका छन् । एमाले विभाजनपछि माधन नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनले तनहुँ क्षेत्र नम्बर १ मा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीपछि श्रेष्ठ बारातिर लखेटिएका हुन् ।
ओलीलाई हेलिकोप्टर सयर गराउँदै देवी भट्टचन
प्रभु समुहका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा परेका छन् । भट्टचन एमालेको आदिवासी जनजाति क्लस्टरबाट उक्त सूचीमा परेका हुन् । आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा रहेका भट्टचन संसद् छिर्ने सम्भावना अधिकतम देखिन्छ । उनी यतिबेला नेकपा एमालेका अध्यक्ष केपी ओलीले चढ्ने हेलिकोप्टरको डोनर भएका छन् । केहीदिन अघि बागलुङसहित विभिन्न जिल्ला पुगेका ओलीका लागि भट्टचनले नै सिम्रिक एयरको हेलिकोप्टर चार्टर गरिदिएका थिए ।
स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी आकर्षण पोखरेल
व्यवसायी आकर्षण पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पोखरेल केही वर्षअघि मात्र अमेरिकाबाट फर्किएका हुन् । हाल उनले कमलादीमा एसियाकै पहिलो स्काइवाक टावर निर्माण गरिरहेका छन् ।
वैदेशिक रोजगार व्यवसायी एलपी सावाँ लिम्बू
म्यानपावर व्यावसायी लालप्रसाद (एलपी) साँवा लिम्बू झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार हुन् । यसअघि पनि बारम्बार सांसद बनेका लिम्बूले वैदेशिक रोजगार व्यवसाय छोडेर जलविद्युत तथा ऊर्जा क्षेत्रमा लगानी गरेका छन् । उनी नेकपा एमाले निकट नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष पनि हुन् ।
पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे
नुवाकोट क्षेत्र नं २ बाट पर्यटन व्यवसायी सुमनविक्रम पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका पाण्डे साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटेल, रेष्टुराँलगायत विभिन्न विधाका व्यवसायका साथै ट्रेकिङ एजेन्टस एसोसियसन अफ नेपाल –टान)का अध्यक्ष, एयरलाइन अपरेर्टस एसोसियसन –आवान) को महासचिवसमेत हुन् । ऐतिहासिक कमलपोखरी हडपेर निर्माण भएको छायाँ सेन्टरका मालिक समेत रहेका उनलाई ठमेलबासीले भूमाफियाको रुपमा चिन्छन् ।
विरेन्द्र महतोलाई कसको आशिर्वाद ?
व्यवसायी डा. वीरेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट सिरहा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । डा महतो एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोका भाइ हुन् । महतोका पनि आफ्नै विभिन्न व्यवसाय छन् । उनी माछापुच्छ«े बैंकका अध्यक्ष समेत हुन् ।
ललितपुर ३ः मत तान्ने दाउमा वैदेशिक व्यवसायी अमृत खड्का
ललितपुर क्षेत्र नं ३ मा नेकपा एमालेका तर्फबाट अमृत खड्काले उम्मेदवार दर्ता गराएका छन् । २० औं वर्ष पार्टीबाट बाहिर रहेर वा पार्टी विरोधी गतिविधि समेत गरेर बसेका वैदेशिक व्यवसायी खड्का अकस्मात् प्रतिनिधि सभा सदस्यको उम्मेदवारको टिकट पाएपछि एमालेको एउटा पंक्ति आक्रोशित र निरास छ । यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा माओवादीकी उम्मेदवार पम्फा भुसाल अघि सरेकी छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसीमा कार्की पनि चर्चामा छिन् । यो क्षेत्र माओवादीलाई छाडेकोमा ललितपुर काँग्रेस असन्तुष्ट छ । प्रतिस्पर्धी खड्का काँग्रेसमा देखिएको असन्तुष्टिको लाभ उठाउने दाउमा छन् ।
समानुपातिकबाट एक नम्बरमा व्यवसायी मोतिलाल दुगडः
नेकपा एमालेले उद्योगी मोतीलाल दुगडलाई समानुपातिकतर्फ सांसद सिफारिस गरेको छ । दुगड यसअघि २०६४ सालको निर्वाचनमा नेपाल सद्भावना आनन्दिदेवीबाट समानुपातिक सांसद भएका थिए ।
२०७० सालमा भने उनले नयाँ पार्टी खोल्ने भन्दै पत्रपत्रिकामा विज्ञापन समेत गरेका थिए । २०७० को निर्वाचनमा उनको पार्टीले २२ उम्मेदवार उठाउँदा समेत केबल १३९८ मत ल्याएको थियो । पार्टी असफल भएपछि दुगडले पार्टीलाई एमाले प्रवेश गराएर विलय गराएका थिए । यसपटक भने दुगड एमालेको समानुपातिक सूचीको एक नम्बरमा परेका छन्।
दुगडको सेञ्चुरी मसला लगायतका मसला उद्योगमा लगानी छ । त्यस्तै, पोलिमर उद्योग, होटल क्षेत्रमा पनि लगानी छ । उनीमाथि ट्रेडमार्क चोरीको विभिन्न मुद्दा विचाराधिन छ । उनी यसअघि केपी ओली सरकारका पालामा ओलीका आर्थिक मामिला सल्लाहाकार समेत थिए । उनले नुनको नक्कली कारोबार गरेको समेत खुलेको थियो । तर, शक्तिमा भएका कारण उनलाई उन्मुक्ति दिइएको थियो ।