ओलीको कार्यशैली र बोलीप्रति दलित नेताहरुको गम्भिर असन्तुष्टि, केही दिनमै पार्टी छाड्ने तयारी

दियो पोस्ट  

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत कार्तिक २४ गते पार्टीनिकट ‘नेपाल उत्पीडित जातीय मुक्ति समाज’को दमकमा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई संवोधन गरे । संवोधनका क्रममा उनले आरक्षणले दलित समुदायको मुक्ति नहुने बरु ज्ञान सिपले मात्र मुक्ति संभव हुने बताए । उनले आरक्षणमाथि कटाक्ष गर्दै भन्न भ्याए, ‘दलित हौँ भन्ने सेन्टिमेन्टमा जान हुँदैन । अरक्षणबाट पौडी खेल्न सकिँदैन । पौडी खेल्न सिक्नुपर्छ । पौडी खेल्न रबर ट्युब नै चाहिन्छ । सबै मान्छे उस्तै हुन् । बाहुनलाई होस् कि दलितलाई होस् आगोले भेट्यो भने पोल्छ, पानीले डुबाउँछ ।’ वर्षौदेखि जातीय बिभेद र अपमान खेप्दै आएका दलितहरुमा ओलीको त्यो बोलीले फेरि एक पटक चरम निराशा पैदा भयो ।

यो भन्दा पहिले पनि ओलीले कैयौँ पटक आरक्षणको बिरोध गरेका थिए । तर, पछिल्लो अभिब्यक्ति ओलीलाई भारी पर्ने देखिएको छ । ओलीले पटक–पटक आरक्षण बिरोधी अभिब्यक्ति दिइरहँदा उनकै पार्टी निकट दलित नेता कार्यकर्ता समेत रुष्ट भएका छन् । ‘नयाँ संविधानले राज्यका सबै निकायमा दलितको जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुने ब्यवस्था गरेको छ । तर, संविधान जारी भएको सात वर्ष बितिसक्दा पनि संविधानमै ब्यवस्था गरिएको पूर्ण समानुपातिक प्रतिनिधित्वको ब्यवस्था भने कार्यान्वयन हुन सकेको छैन । यस्तो अवस्थामा ओलीले आरक्षणको बिरोध गर्नु भनेको संविधानको बिरोध गर्नु सरह हो ।

त्यसो त, पटक–पटक संसद बिघटन गरेर संविधान बिरोधी हर्कत गरेका ओलीले दलित समुदायलाई राज्यले उपलब्ध गराउँदै आएको आरक्षण कटौती गर्ने अभिब्यक्ति दिनु पनि संविधान बिरोधी कार्य भएको उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य समेत रहेका एक नेताले दियोपोष्टसंग बताए । उनले भने, ‘दलितलाई अहिलेसम्म आरक्षणमा मात्रै सिमित राखिएको छ । त्यो आरक्षण पनि हटाउने अभिब्यक्ति दिनुले ओली दलित बिरोधी नेता हुन भन्ने प्रस्ट हुन्छ’ ।

पर्टीकै भातृसंगठन ‘उत्पीडित जातीय मुक्ति समाज’का केन्द्रिय सदस्य एकराज लकान्द्रीले चुनाबको मुखैमा दलितकै कार्यक्रममा अध्यक्षले यस्तो अभिब्यक्ति दिनु गलत भएको बताए । उनले भने, “अध्यक्षले बोल्नै नहुने कुरा बोल्नु भएको हो । यद्यपी उहाँले पटक–पटक आरक्षणका बिरुद्ध आफ्नो अभिब्यक्ति दिँदै आउनु भएको छ । आरक्षणको बिरोध गर्नु भनेको दलितको बिरोध र दलितलाई अधिकार सम्पन्न हुन नहिनु हो ।” उनले पार्टी नेतृत्व नै दलित बिरोधी जस्तो देखिएकाले यसका लागि संघर्ष गर्ने बताए । उनले भने, ‘अध्यक्षले नै यस्तो खालको अभिब्यक्ति दिदाँ दलितहरुले आफ्नो नेता भनेर कसरी स्वीकार गर्ने? अध्यक्ष सच्चिनु पर्छ, होइन भने हामी बिद्रोह गर्छौ ।’

नेकपा एमाले धनकुटा जिल्ला कमिटि सदस्य युवराज दर्नालले ओलीको प्रबृत्ति तानाशाही भएको बताए । उनले भने, ‘एमाले बाहेक अन्य राजनीतिक पार्टीहरु पनि छन् । उनीहरुले आफ्ना मुद्धा पार्टीमा निर्धक्क राख्न सक्छन् । तर, हाम्रो पार्टीमा फरक मत राख्न सक्ने अवस्था छैन । फरक मत राखेको खण्डमा ओलीको आँखाको कसिङ्गगर बन्नु पर्ने हुन्छ । त्यसैले पनि कैयौँ कामरेडहरु अध्यक्षले गलत गरिरहँदा पनि गलतलाई गलत भन्न सक्नु भएको छैन ।’ अध्यक्षबाट कैयौँ नेता अपमानित हुँदा पनि नेताहरु बिरोध गर्न नसकेको उनको भनाइ छ ।

उनले ‘आरक्षण भनेको के हो’ भन्ने विषय नै ओलीलाई थाहा नभएको बताए । ‘सदियौँदेखि दमनमा पारिएका जाती समुदायलाई केही समयका लागि क्षतिपूर्ती वापत राज्यद्वारा दिइएको बिशेष ब्यवस्था आरक्षण हो । तर, यो कुरा अध्यक्षले बुझ्नु हुन्न । आरक्षणका बारेमा अध्यक्षलाई हामीले बुझाउनु पर्ने अवस्था छ ।’ उनले भने, ‘दलितको मुक्ति नभइसकेको अवस्थामा आरक्षण हटाउनु पर्छ भन्दै अध्यक्षले दिनु भएको अभिब्यक्ति दलित बिरोधी नै हो । यस्तो प्रबृतिका बिरुद्धका हामीले आवाज उठाउनै पर्छ ।’ उनले ओलीको अभिब्यक्ति र प्रबृत्तिकै कारण पार्टी भित्र बिद्रोह हुन सक्ने संभावना ज्यादा रहेको बताए ।

एमाले पर्टीका सुदुर पश्चिम प्रदेश कमिटि सदस्य तथा उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय निकायका अध्यक्ष नर बहादुर बिश्वकर्माले पार्टीको दशौँ महाधिबेशनमा दलित समुदायलाई समावेशी समानुपातिक आरक्षणको ब्यवस्था गरिने कुरा पार्टीको दस्ताबेजमै उल्लेख भएको र यो बिषय सर्बसम्मत पारित भएको बताए । तर, पार्टी अध्यक्षबाटै यस बिषयमा नकरात्मक ब्याख्या गरिनु गलत भएको बताए । दलित समुदाय अधिकार सम्पन्न नभएको अवस्थामा आरक्षण हटाउनै नमिल्ने उनको भनाई छ । उनी भन्छन्, ‘संबिधानले ब्यवस्था गरेको कुरा हटाउनै पर्छ भनेर खुल्लमखुल्ला अभिब्यक्ति दिइनु गलत हो, यदी आरक्षण हटाउने नै हो भने पनि संसदमा दुई तिहाइ बहुमत हुनै पर्छ, एक ब्यक्तिले बिरोध गर्दैमा आरक्षण हट्ने विषय होइन ।’

पार्टी अध्यक्षको यस्तो खालको अभिब्यक्तिकै कारण नेकपा एमाले दलितको पार्टी नभएको अनुभुति भएको एक केन्द्रिय नेताले बताए । उनले भने, ‘अध्यक्षमा सकेसम्म पेलेरै अगाडी बढ्नु पर्छ भन्ने चिन्तन छ, यसकारण पनि पार्टीमा गम्भिर विग्रह हुन सक्छ । अध्यक्षले नै संबिधान बिरोधी अभिब्यक्ति दिने, आरक्षणको बिरोध गर्ने, पार्टीकै नेता कार्यकर्तालाई अन्याय गर्ने, गुटबन्दी गर्ने, फरक बिचार राख्नेलाई पेल्न खोज्ने र षड्यन्त्र गर्ने जस्ता हकर्त गर्दै आउनु भएको छ । यसले गर्दा पार्टी भित्रै थुप्रै नेताहरु पीडत हुनु हुन्छ ।’ पार्टीभित्र अन्यायमा परेका नेताद्वारा संघर्ष हुने संभावना रहेको उनले बताए ।

ओलीले दलित विरोधी ब्राम्हणवादी चरित्र प्रदर्शन गरेको भन्दै पार्टी भित्रै चर्को बिरोध हुने गरेको छ ।

सिफारिस