‘विपक्षीहरुले रातभर पैसा बाँड्दै मासुमाछाको भतेर लगाए छन्’

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विपक्षीहरुले रातभर पैसा बाड्दै हिडेको आरोप लगाएका छन् । सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाइ गर्न आवश्यक रहेको भन्दै उनले भने, ‘खासगरी निर्वाचनमा देखापरेको विकृतिहरुको बारेमा खबर धेरै सुनेको छु । रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो ।

खासगरी प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरुले आचारसंहीताको चरम उल्लंघन गरेको भन्ने सुनेँ । राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ । यी विकृतिलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता छ ।’

गृह जिल्ला रौतहटको निर्वाचन क्षेत्र नम्बर १ स्थित रामजानकी कन्या आधारभूत माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर अध्यक्ष नेपालसँगै श्रीमती गायत्री नेपालले पनि मतदान गरेका छन् । नेपालले जनताले पाएको सार्वभौम अधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गर्दै मौन अवधिको बेलामा आचारसंहीताको उल्लंघन भएको पाइएकाले आयोगले आवश्यक कारबाही गर्नुपर्ने बताए ।

सम्बन्धित खबर

सिफारिस